नेपाली दूतावासले आयोजना गरेको शिविरमा राहदानीलगायतको सेवा लिने नेपाली श्रमिकको भिड लाग्ने गरेको छ । नेपाली राजदूतावास रियादले पाँचौँ शिविरको रूपमा साउदी अरबको दमाममा पुस १२ र १३ गते घुम्ती शिविर सञ्चालन गरेको थियो । शिविरमार्फत ४१० जनालाई नवीकरण गरी आएको राहदानी वितरण गरिएको नेपाली दूतावासका मिसन उपप्रमुख (डिसिएम) डा. डमरुबल्लभ पौडेलले बताए ।
शिविरमा एक हजार ५७ जनाको राहदानी नवीकरण गर्न नामकरणलगायतको प्रक्रिया पूरा गरिएको र पाँचजनालाई बहिर्गमन भिसा (एक्जिट भिसा) को प्रक्रिया थालिएको उपप्रमुख पौडेलले बताए । यहाँ राहदानी नवीकरण गराउनको ठुलो भिड लाग्ने गरेको छ । दूतावासले विभिन्न चरणमा साउदी अरबको विभिन्न क्षेत्रमा पुगेर शिविरमार्फत राहदानी नवीकरणका लागि अनलाइन फारम भर्ने, नवीकरण गरिएको राहदानी वितरण गर्ने र विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आइरहेको उपप्रमुख पौडेलले बताए ।
दूतावासले चालू आर्थिक वर्षको पाँच महिनामा साढे १८ हजारभन्दा बढी राहदानी वितरण गरेको छ । चालू आर्थिक वर्ष ०८१/८२ मा साउदी अरबमा नेपाली दूतावासले मंसिर महिनासम्म १८ हजार ७०८ वटा राहदानी वितरण गरिसकेको छ । यसअघि गत आर्थिक वर्ष ०८१/८१ दूतावासले ४७ हजार ३६१ राहदानी वितरण गरेको उपप्रमुख डा. पौडेलले बताए ।
दूतावासले राहदानी नवीकरण, वितरण र सचेतनामूलक कार्यक्रम गर्न गरी शिविर आयोजना गर्दै आइरहेको छ । ठुलो क्षेत्रफल भएकाले पनि नेपाली श्रमिकहरूलाई राहदानी नवीकरण गराउन राजधानी रियाद, दमाम पुग्न खर्च वढी लाग्ने भएकाले दूतावासले पायक पर्ने स्थानहरूमा शिविर सञ्चालन गर्दै आइरहेको छ । छैटाैँ शिविर अगामी जनवरी १० मा हेइल सहरमा र सातौँ शिविर जनवरी २५–२५ मा जुबेलमा गर्ने तयारी थालिएको उपप्रमुख डा. पौडेलले बताए ।
साउदी अरबमा करिब चार लाख नेपाली रहेको अनुमान गरिएको छ । खाडी देशमा साउदी अरबमा नेपाली श्रमिक बढी आउन थालेको छ । साउदी अरबले भिजन– २०३० अन्तर्गत पूर्वाधारका काममा तीव्रता ल्याएको छ । यससँगै फिफा विश्वकप २०३४ आयोजना गर्ने जिम्मेवारी पाएको छ ।