लामो समयदेखि विभिन्न बहानामा अलमल हुँदै आएको कांग्रेसका भ्रातृसंस्थाको महाधिवेशनमा फेरि अलमल देखिएको छ । पार्टी नेतृत्वको निरन्तर बेवास्तामा पर्दै आएको महाधिवेशनका लागि ढिलो गरी निर्देशक समिति बनाएर समन्वय थाले पनि समयमा विधान तयार नहुँदा तदर्थ समितिलाई तयारीमा समस्या देखिएको हो ।
शनिबार कांग्रेस सहमहामन्त्री एवं तरुण दल महाधिवेशन निर्देशन समितिकी संयोजक महालक्ष्मी उपाध्याय डिनाले तरुण दलको संशोधित विधान अध्यक्ष विद्वान गुरुङलाई हस्तान्तरण गरिन् । यससँगै विधान तयार हुने भ्रातृसंस्थाको संख्या दुई पुगेको छ । कांग्रेस सहमहामन्त्री महेन्द्र यादवका अनुसार आगामी चैत मसान्तसम्म अनिवार्य रूपमा महाधिवेशन सम्पन्न गर्न संशोधित विधान तयार गरेको हो । उनी विधान बन्न बाँकी अन्य आठ भ्रातृ संस्थाको विधान पनि छिट्टै हस्तान्तरण हुने दाबी गर्छन् । विधान बन्न ढिलाइ भए पनि निर्धारित मितिमा महाधिवेशन हुने उनले दाबी गरे ।
महेन्द्र यादव सहमहामन्त्री, कांग्रेस
पार्टीले तदर्थ समितिहरूलाई नयाँ विधानअनुसार चैतभित्र महाधिवशेन सम्पन्न गर्न विधान अनुमोदन गरेर हस्तान्तरण गरिरहेको छ । हालसम्म किसान महासंघ र तरुण दलको विधान हस्तान्तरण भएको छ । बाँकीको प्रक्रियामा छ, छिट्टै हस्तान्तरण हुनेछ ।
‘पार्टीले तदर्थ समितिहरूलाई नयाँ विधानअनुसार चैतभित्र महाधिवशेन सम्पन्न गर्न विधान अनुमोदन गरेर हस्तान्तरण गरिरहेको छ । हालसम्म किसान महासंघ र तरुण दलको विधान हस्तान्तरण भएको छ । बाँकीको प्रक्रियामा छ, छिट्टै हस्तान्तरण हुनेछ,’ उनले भने, ‘अरू तयारी पनि भइरहेको छ । अधिकांशमा निर्देशक समितिमा सहमहामन्त्रीहरू संयोजक हुनुहुन्छ । निर्देशक समितिहरूले भ्रातृ संगठनहरूलाई निर्देशित गरिरहेका छन् । चैतभित्रै महाधिवेशन सम्पन्न हुन्छ ।’
गत १९ असारमा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले कार्यादेशसमेत तय गरेर १० वटा भ्रातृसंस्थाका निर्देशन समिति बनाउने निर्णय गरेको थियो । तर, निर्णयको पाँच महिनापछि मात्रै निर्देशन समितिहरूको टुंगो लागेको थियो । निर्देशन समिति नबन्दा भ्रातृसंस्थाले पार्टीसँग समन्वयको समस्या झेलिरहेका थिए । जसकारण महाधिवेशनको तयारी अगाडि बढाउन सकेका थिएनन् । महाधिवेशनका लागि मार्गनिर्देशन गर्ने विधानमा ढिलाइ हुँदा भ्रातृसंस्थाले एकपछि अर्को ढिलाइको बहाना झेल्नुपरेको छ । कांग्रेस शीर्ष तहको छलफलले चैत मसान्तभित्र महाधिवेशन सम्पन्न गर्न फरक–फरक निर्देशन समिति बनाउनुपर्ने निष्कर्ष निकालेको थियो । सोही आधारमा गत १६ असोजमा सहमहामन्त्री उमाकान्त चौधरीको संयोजकत्वमा महिला संघ (२६ मंसिरमा संयोजकको जिम्मेवारी हेरफेर गरी प्रवक्ता डा. प्रकाशशरण महतलाई जिम्मेवारी), सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाको संयोजकत्वमा तरुण दल र सहमहामन्त्री किशोरसिंह राठौरलाई नेविसंघको निर्देशन समिति संयोजक तोकिएको थियो ।
बाँकी निर्देशक समिति २६ मंसिरमा बने । यसरी बनेका निर्देशक समितिमा सहमहामन्त्री जीवन परियारको संयोजकत्वमा दलित संघको निर्देशन समिति, किसान महासंघको निर्देशन समिति केन्द्रीय सदस्य रमेश रिजालको संयोजकत्वमा, केन्द्रीय सदस्य एनपी साउदको संयोजकत्वमा भूतपूर्व सैनिक संघको निर्देशन समिति, केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको संयोजकत्वमा लोकतान्त्रिक खेलकुद संघको निर्देशन समिति, मधु आचार्यको संयोजकत्वमा लोकतान्त्रिक अपांग संघको निर्देशन समिति छन् । थारू संघको निर्देशन समिति संयोजकमा केन्द्रीय सदस्य उदयशमशेर राणा र प्रजातन्त्र सेनानी संघको निर्देशन समिति संयोजकमा केन्द्रीय सदस्य प्रा.डा. गोविन्दराज पोखरेललाई जिम्मेवारी दिइएको छ ।
केन्द्रीय कार्यसम्पादन समितिले कार्यादेशसमेत तय गरेर निर्देशन समिति बनाउने निर्णय लिएको थियो । ‘महाधिवेशन सम्पन्न नगरेका नेपाली कांग्रेसका भ्रातृसंघहरूको महाधिवेशन सम्पन्न गर्न–गराउन फरक भ्रातृसंघका लागि अधिकारसम्पन्न फरक–फरक निर्देशन समिति गठन गर्ने,’ कांग्रेसको निर्णयमा भनिएको छ । महाधिवेशन हुन नसकेर नेतृत्व हस्तान्तरण हुन नपाएका र तदर्थ समिति बनाएर पटक–पटक म्याद थप मात्र भएका भ्रातृ संस्था प्रभावहीन छन् । भद्रगोल अवस्थामा रहेका कांग्रेसका १३ मध्ये जनजाति महासंघ र मुस्लिम संघको मात्र महाधिवेशन भएको छ । ठाकुर समाजको विवादका कारण बनेको तदर्थ समिति पनि खारेज गरिएको छ । लामो समयसम्म महाधिवेशन नहुँदा नेतृत्वले अनुकूलको तदर्थ समिति बनाउने र पटक–पटक म्याद थप गर्ने प्रवृत्ति देखिँदै आएको छ ।
पार्टीले तदर्थ समितिहरूलाई नयाँ विधानअनुसार चैतभित्र महाधिवशेन सम्पन्न गर्न विधान अनुमोदन गरेर हस्तान्तरण गरिरहेको छ । हालसम्म किसान महासंघ र तरुण दलको विधान हस्तान्तरण भएको छ । बाँकीको प्रक्रियामा छ, छिट्टै हस्तान्तरण हुनेछ ।