पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा सक्रिय भए स्वागत छ : पोखरेल

आइतबार, १४ पुष, २०८१
डिजिटल संस्करण

एमाले महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पुनः राजनीतिमा सक्रिय हुन चाहे स्वागत गर्ने बताएका छन् । महोत्तरीको रामगोपालपुरमा एक कार्यक्रममा सहभागी हुन शनिबार जनकपुर आएका उनले पूर्वराष्ट्रपति भण्डारी एमालेको सक्रिय राजनीतिमा आउन चाहेको विषयलाई बल पुग्ने गरी उनलाई स्वागत गर्ने बताएका हुन् । ‘पार्टीको महाधिवेशनभन्दा बढी मिसन ०८४ मा केन्द्रित भई काम गरिरहेका छौँ । त्यसको अहिले चर्चा नगरौँ । सम्मानीय पूर्वराष्ट्रपतिज्यू पुनः समाजसेवामा सक्रिय हुन चाहनुहुन्छ भने स्वागतयोग्य हो,’ जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग उनले भने ।

भीम रावलको कारबाहीबारे महासचिव पोखरेलको दाबी–
कारबाही गरिएकोभन्दा पनि उहाँलाई तपाईं पार्टीको सदस्य रहनुभएन भने जानकारी गराइएको हो । पार्टी सदस्यको आचरण त उहाँ आफैँले छोड्नुभयो । पार्टीमा रहँदा पार्टीको अनुशासन, विधिविधानमा चल्नुपर्छ । संसद्मा पार्टीको ह्विप मान्नुपर्छ । तर, उहाँ पार्टीको कुनै पनि गतिविधिमा लामो समयदेखि निष्क्रिय हुनुहुन्थ्यो ।

दुई कार्यकाल देशको सर्वोच्च पदको जिम्मेवारी लिएकी पूर्वराष्ट्रपति भण्डारीले राजनीतिमा सक्रिय हुने रुचि देखाएपछि उनको जिम्मेवारी र सहज व्यवस्थापनबारे एमाले पंक्तिमा बहस सुरु भएको छ । सर्वसम्मत भावी अध्यक्ष बनाएर उनको पुनरागमन गराउन सकिने विकल्पमा पार्टी नेताहरूबिच अघोषित संवाद जारी छ । अध्यक्ष केपी ओलीले नै गत ९ वैशाखमा ललितपुरको गोदावरीमा आयोजित पार्टी स्थापना दिवस र अर्को एक सार्वजनिक कार्यक्रममा भण्डारीले पार्टीभित्र सक्रिय भएर योगदान दिन सक्ने संकेत दिएपछि एमालेभित्र यसले ठुलो महत्वराखेको हो । 

एमाले पूर्वउपाध्यक्ष भण्डारीले राष्ट्रपतिबाट अवकाशपछि सुरक्षाकर्मी र डेराभाडाबाहेक राज्यको अन्य सेवा–सुविधा परित्याग गरेर राजनीतिमा पुनरागमनको ढोका खुला राखेकी छिन् । भण्डारी सक्रिय राजनीतिमा फर्कने जनाउमा उनको राजनीतिक र सामाजिक कार्यक्रममा सक्रियता प्रमुख छ । यसबाहेक वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितका बहुसंख्यक पदाधिकारीहरूको उनको निवासमा बाक्लो आवतजावत र संवाद तथा जिल्ला नेतृत्व तहका नेताहरूको निरन्तर भेटघाटले भण्डारीको ‘वार्मअप’लाई देखाउँछ । पार्टीको आन्तरिक कार्यक्रमदेखि सार्वजनिक कार्यक्रममा भण्डारीको उपस्थितिले पनि उनी छिट्टै सक्रिय राजनीतिमा आउने योजनामा रहेको पार्टीपंक्तिको बुझाइलाई बल पुगेको छ ।

पोखरेलले पूर्वगृहमन्त्री भीम रावललाई एमाले सदस्य नभएको जानकारी गराइएको बताए । ‘कारबाही गरिएकोभन्दा पनि उहाँलाई तपाईं पार्टीको सदस्य रहनुभएन भने जानकारी गराइएको हो । पार्टी सदस्यको आचरण त उहाँ आफैँले छोड्नुभयो । पार्टीमा रहँदा पार्टीको अनुशासन, विधिविधानमा चल्नुपर्छ । संसद्मा पर्टीको ह्विप मान्नुपर्छ । तर, उहाँ पार्टीको कुनै पनि गतिविधिमा लामो समयदेखि निष्क्रिय हुनुहुन्थ्यो ।’ 

०८४ को चुनावसम्म मात्र कांग्रेससँग सहकार्य रहने उनको भनाइ छ । मुलुकको राजनीतिक अस्थिरता तथा सुस्त रहेको विकास निर्माणलाई गति दिन मात्र कांग्रेससँग सहकार्य भएको उल्लेख गरे । ‘०८४ मा एमाले र कांग्रेसले अलगअलग चुनाव लड्ने विषयमा सहमति छ । जसको बहुमत आउँछ, उसले सरकारको नेतृत्व गर्नेछ,’ उनले भने ।

दुई ठुला पार्टीका गठबन्धनको सरकारले संघीयतालाई अझै प्रभावकारी बनाउन आवश्यक ऐन कानुन निर्माणमा लागेको उनले बताए । संघीय, प्रदेश र स्थानीय तह तीनै तहको सरकारको कार्यलाई अझ प्रभावकारी बनाउन प्रधानमन्त्री कार्यालयमा गभर्मेन्ट रिफर्म सेन्टर, विभिन्न निकायमा रिफर्म युनिट बनाउने तयारी भइरहेको उनले बताए । कांग्रेस, एमाले गठबन्धन बनेदेखि मुलुकको अर्थतन्त्रमा निकै सुधार भएको उनले दाबी गरे ।
 

सुझावित समाचार