‘सडकमै खाऔँ, सडकमै नाचाँै र सडकमै रमाउ’ नारासहित पोखराको प्रमुख पर्यटकीय क्षेत्र फेवाताल किनारको लेकसाइड क्षेत्रमा शनिबारदेखि २६आँै संस्करणको पोखरा सडक महोत्सव सुरु भएको छ । अंग्रेजी नयाँ वर्ष २०२५ को अवसरमा रेष्टुरेण्ट एण्ड बार एसोसियसन नेपाल (रेबान) पोखराले पाँच दिने महोत्सव आयोजना गरेको हो ।
१७ पुससम्म चल्ने महोत्सवको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले गरेका थिए । महोत्सव उद्घाटनअघि लेकसाइडको हल्लनचोकबाट विभिन्न जात जाति, आमा समूह, संघ संस्थासँगै देशका विभिन्न भागबाट आएका साँस्कृतिक समूहको झाँकी र नृत्यसहितको ¥र्याली कोमागाने पार्कमा पुगेर उद्घाटन सत्रमा परिणत भएको थियो ।
लेकसाइडको फिष्टेल गेटदेखि गैराको चौतारा हँुदै जहरेवरसम्मको करिब चार किलोमिटर सडकमा महोत्सव सञ्चालन हुनेछ । महोत्सव हुने क्षेत्रसँगै फेवाताल किनारालाई आयोजक एवं स्थानीय व्यवसायीले बेहुली जस्तै सिंगारेका छन् । महोत्सव आयोजना हुने सडकमा ध्वजापताका, ब्यानरसँगै स्वागतद्धारले झकीझकाउ पारिएको छ । सडकका दाँयाबायाँका रुखहरूसँगै व्यवसायीहरूले आ–आफनो रेष्टुरेन्ट, होटल र पसलमा रंगीचङ्गी बत्ती राखेका छन् । जसका कारण लेकसाइड क्षेत्र झनै आर्कषक देखिएको छ ।
आन्तरिक तथा वाह्य पर्यटकलाई आकर्षित गरी पोखरालाई अंग्रेजी नयाँ वर्ष मनाउने गन्तव्यस्थलको रुपमा विकास गर्ने उदेश्यसहित विगत २५ वर्षदेखि महोत्सव आयोजना हुँदै आएको रेवानका अध्यक्ष एवं महोत्सव संयोजक विश्वराज पौडेलले जानकारी दिए ।
महोत्सव अवधिभर त्यस क्षेत्रमा सञ्चालित होटल तथा रेष्टुरेण्टहरूले आफ्ना भान्छा सडकमै राख्ने र त्यहीँबाट पर्यटकलाई सेवा दिने गर्छन् । महोत्सवमा रेबानमा आवद्ध रेष्टुरेन्टसँगै खाना र अन्य गरी करिब चार सय स्टलले सडकबाटै सेवा दिनेछन् । महोत्सव हुने क्षेत्रमा विभिन्न साँस्कृतिक एवं मनोरञ्जनात्मक कार्यक्रमहरू, वहस कार्यक्रम, पोखरा र आसपासका क्षेत्रमा रहेका शाहसिक खेलहरूको वृतचित्र प्रर्दशनसँगै पर्यटकीय गन्तब्यहरूको प्रवद्र्धन गर्ने लगायतका कार्यक्रम ग्रिने महोत्सव प्रचार प्रसार उपसमिति संयोजक एवं रेवानका महासचिव वीरेन्द्र शेरचनले जानकारी दिए ।
महोत्सवमा जाने पर्यटकले मुख्य आर्कषणको रुपमा सडकमै साँस्कृतिक कार्यक्रम, विभिन्न जातिय तथा धार्मिक संस्कृति झल्कने साँस्कृतिक कार्यक्रम र मौलिक भेषभुषा प्रर्दशन, राष्ट्रिय तथा अन्तराष्ट्रिय खानाको प्रदर्शन, झाँकी प्रदर्शन, विभिन्न खेलकुद, पर्यटकीय आकर्षण वृत्तचित्रको प्रर्दशनी, घरेलु एवं हस्तकलाका सामग्री, लाइभ ब्याण्ड, पञ्चे बाजा, चित्रकला, मुर्तिकला, गन्धर्भ गायनलगायत मनोरञ्जनात्मक कार्यक्रमको प्रस्तुति हेर्न पाउने छन् । यसैगरी सडकमा मःम खाने, रस्साकसी, वेटर वेट्रेसहरूको चम्चा दौड, डुङ्गा दौड लगायतका प्रतियोगिता हुने महोत्सवका कारण पोखरा र आसपासका क्षेत्रमा रहेका नेपाली कला, संस्कृति, रहनसहन लगायतका वस्तुलाई जगेर्ना गर्दै विदेशी पर्यटक माँझ चिनाउ सहयोग गर्नेे आयोजकको भनाइ छ ।
होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार महोत्सवको अवसर पारी संघले आवासमा २० प्रतिशत छुटको व्यवस्था गरेको जानकारी दिए ।
