दसाैँ संस्करणको नारदमुनि गोल्डकप माघ १५ देखि

शनिबार, १३ पुष, २०८१
डिजिटल संस्करण

उदयपुरको चौदण्डीगढी नगरपालिकाको बसाहामा अगामी माघ १५ गतेबाट दशौं संस्करणको नारदमुनि स्मृति गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।

यसअघि गत असोजमा हुने भनिएको प्रतियोगिता बाढीपहिरोका कारण रोकिएको थियो। २००७ सालका क्रान्ति योद्धा तथा पूर्वमन्त्री स्व. नारदमुनि थुलुङ राईको स्मृतिमा स्थानीय बसाहा क्लबले प्रतियोगिता आयोजना गर्दै आएको छ।

बसाहा क्लबका अध्यक्ष गौतम राईले भने, ‘गएको असोज १७ गते गोल्डकप आयोजना गर्न लागिएको थियो। तर असोज १६ गते आएको बाढी पहिरोको कारण रोकियो। पूर्वनिर्धारित समयमा प्रतियोगिता आयोजना गर्न नसकेकाले क्लबको बैठकले पूर्वमन्त्रीसमेत रहेका स्व. नारदमुनी थुलुङ राइको माघ २२ गते पर्ने स्वर्गारोहणको मितिलाई लक्षित गरी माघ १५ गतेदेखी दशौं संस्करणको नारदमुनी गोल्डकप सुरु गर्ने निर्णय गरेका छौं।’

अध्यक्ष राईका अनुसार प्रतियोगितामा ८ टिम सहभागी हुने छन्। प्रतियोगितामा यसअघि असोज १७ गतेका लागि तय गरिएका टिमहरु आयोजक बसाहा क्लब, साबिकको विजेता बागमती युवा क्लब सर्लाही, उपविजेता न्यू त्रियुगा स्पोर्ट क्लब सप्तरी, झापा ११ झापा, विराट मेगा स्पोर्टिङ एकेडेमी मोरङ, चित्लाङ एफसी काठमाडौं, सलेहस क्लब सिराहा र सङ्कटा एफसी काठमाडौंले नै सहभागिता जनाउने बताइएको छ।

प्रतियोगिताको विजेताले पाँच लाख तथा उपविजेताले २ लाख २५ हजार पाउनेछन्। प्रतियोगितामा हरेक दिन ५ हजार नगदसहित म्यान अफ दि म्याचसहित फाइनलमा विभिन्न सात विधाका खेलाडीहरूलाई नगद ५ हजारसहित प्रमाण पत्र र मेडलले सम्मान गरिने आयोजकले जनाएको छ।
 

सुझावित समाचार