प्राप्त ज्ञानलाई मुलुकको समृद्धि र सुखका लागि प्रयोग गर्न प्रधानमन्त्रीको आग्रह

शनिबार, १३ पुष, २०८१
डिजिटल संस्करण
प्राप्त ज्ञानलाई मुलुकको समृद्धि र सुखका लागि प्रयोग गर्न प्रधानमन्त्रीको आग्रह

तस्बिर : संजित परियार/नयाँ पत्रिका

प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपाली शान्तिपूर्ण, सम्मानित, समृद्ध र सुखीरुपमा बाँच्न पाउने अवस्था सिर्जना गर्न आफूले प्राप्त गरेको ज्ञानको प्रयोग गर्न विद्यार्थीहरूलाई आग्रह गरेका छन्।

शनिबार दरशथ रंगशालामा आयोजित त्रिभुवन विश्वविद्यालयको ५०औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयलका कुलपतिसमेत रहेका ओलीले समाजलाई लोकतान्त्रिक, सुसंस्कृत र इमानदारपूर्ण बनाउन र ‘विद्वान हुँ’ भन्ने कुनै घमण्ड नगरी विनयशील हुन आग्रह गरे।

प्रधानमन्त्री ओलीले उपाधि पूरा भएपछि पनि अध्ययन पूरा नहुने भएकाले प्राप्त ज्ञानलाई व्यवहारिक जीवनमा उतारेर परिस्कृत गर्न पनि अनुरोध गरे। ‘आफैँसँग भएको विद्या व्यवहारमा उतार्न सकिएन भने त्यो विद्याको काम लाग्दैन। ज्ञानलाई व्यवहारिकरुपमा र समाजको समग्र पक्षको भलाइका लागि प्रयोग गर्नुपर्छ,’ उनले भने, ‘हामीले मुलुकलाई २० प्रतिशतमा रहेको निरपेक्ष गरिबीको स्थितिबाट मुक्त गर्ने पहिलो अभिभारा लिनुपर्छ। समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षाको यात्रालाई हामीले अगाडि बढाउनुपर्छ।’

प्रधानमन्त्री ओलीले नेपाल ज्ञान, ध्यान, योग र संस्कृतिको भूमि भएको उल्लेख गर्दै पूर्खाको ज्ञानप्रति कृतज्ञ भएर उनीहरुबाट सिक्नुपर्नेमा जोड दिए।

कार्यक्रममा त्रिविका विभिन्न संकाय र तहका १४ हजार ३०८ विद्यार्थी दीक्षित भएका थिए। समारोहमा प्रमुख अतिथि अर्थशास्त्री डा. रामप्रकाश यादवले जीवनमा संघर्ष र इमानदारितालाई पछ्याउन सकेमा सफलता हासिल हुने बताए।

सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षण सिकाइमा प्रविधिको प्रयोग बढाउनुपर्नेमा जोड दिइन्। विश्वविद्यालयका उपकुलपति प्रा.डा केशरजंग बरालले विश्वविद्यालयका क्याम्पसहरु एकापसमा गाभ्ने नीति लिइएको जनाए।

सुझावित समाचार