बिमा कम्पनीलाई घरजग्गा किन्न कडाइ गरिँदै

शुक्रबार, १२ पुष, २०८१
डिजिटल संस्करण

निजी लाभका लागि बढी मूल्यमा बिमा कम्पनीको जग्गा किन्ने प्रवृत्तिमा नियन्त्रण गर्न निर्देशन दिने तयारी

नेपाल बिमा प्राधिकरणले बिमा कम्पनीको कार्यालय प्रयोजनका लागि घरजग्गा खरिदमा कडाइ गर्ने भएको छ । कम्पनीका सञ्चालक तथा व्यवस्थापकहरूले व्यक्तिगत लाभका लागि कम्पनी प्रयोजनका नाममा जथाभावी घरजग्गा किन्ने प्रवृत्ति नियन्त्रण गर्न प्राधिकरणले कठोर नीति ल्याउने प्रस्ताव अघि सारेको हो । प्राधिकरणले बिहीबार सार्वजनिक गरेको ‘बिमकको स्थिर सम्पत्तिसम्बन्धी निर्देशन, २०८१’ मा यस्तो प्रस्ताव गरिएको छ ।     

चार वर्षअघि एसियन लाइफ इन्स्योरेन्सले गरेको घरजग्गा कारोबारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो देखाउँदै प्राधिकरण (साबिक बिमा समिति)लाई पत्राचार गरेको थियो । तर, आयोगको क्षेत्राधिकारमा नपर्ने र प्राधिकरणले पनि नियमन गर्न बलियो आधार नभएकाले उक्त विषय छानबिनको दायरामा आउन सकेन । त्यस्तै, १० वर्षअघि लाइफ इन्स्योरेन्स कर्पाेरेसन (एलआइसी) नेपालले अस्वाभाविक रूपमा जग्गा खरिद गर्न खोजेको थियो । तर, कानुनी प्रश्न उठेपछि कम्पनी आफैँ पछि हटेको थियो । 

अहिले बिमा प्राधिकरणमा झन्डै एक दर्जन कम्पनीका जग्गा खरिदको प्रस्ताव विचाराधीन अवस्थामा रहेको प्राधिकरण स्रोतले जनाएको छ । ती कम्पनीहरूले चुक्ता पुँजीबाटै एकमुस्ट जग्गा खरिद गर्न प्रस्ताव राखेका छन् । तर, शंकास्पद देखिएपछि प्राधिकरणले स्वीकृति दिन सकेको छैन । साथै, नियमन गर्न बलियो कानुनी आधार पनि नभएपछि प्राधिकरणले छुट्टै निर्देशन ल्याउने प्रस्ताव गरेको हो ।

यो निर्देशन जारी भएमा बिमकहरूको घरजग्गा कारोबारलाई नियमन गर्न बाटो खुल्ने प्राधिकरणका अधिकारीहरू बताउँछन् । तर, कम्पनीले लगानीअन्तर्गत रहेर गर्ने घरजग्गा कारोबारमा भने यो निर्र्देशन लागू हुनेछैन । बिमा कम्पनीहरूले अब घरजग्गाजस्ता स्थिर सम्पत्ति खरिद गर्नुपूर्व विस्तृत अध्ययन गर्नुपर्ने प्रस्ताव गरिएको छ । हाल बिमा प्राधिकरणबाट सामान्य स्वीकृत लिएर मात्रै घरजग्गामा लगानी आएका थिए । 

See More On

सुझावित समाचार