लोकप्रिय बिजनेस रियालिटी सो ‘सार्क ट्यांक’को नेपाली संस्करण ‘शार्क ट्याङ्क नेपाल’ घोषणा भएको छ । नेपालका लागि उत्पादन तथा प्रसारण सर्वाधिकार प्राप्त गरेको हिमालय टेलिभिजनले आगामी केही महिनाभित्र कार्यक्रम प्रसारण गर्ने जनाएको छ ।
सोमबार आयोजित घोषणा कार्यक्रममा पहिलो सिजनका लागि पाँचजना सार्कहरू सार्वजनिक गरिएको छ, जसले लगानीका लागि प्रस्ताव लिएर आएका स्टार्टअपमा लगानी गरी उनीहरूको व्यवसाय विस्तारमा सहयोग पुर्याउनेछन् ।
पहिलो सिजनका लागि आइएमई ग्रुपका सहसंस्थापक हेमराज ढकाल, अग्नि ग्रुपका संस्थापक क्याबिनेट श्रेष्ठ, वैद्य अर्गनाइजेसनकी निर्देशक ऋतुसिंह वैद्य, निम्बस ग्रुपका प्रबन्ध निर्देशक आनन्द बगरिया र पदम ज्योति ग्रुपका निर्देशक सौरभ ज्योति सार्कका रूपमा अनुबन्ध भएका छन् । कठिन संर्घषमार्फत व्यावसायिक जीवनमा सफलता प्राप्त गरेका यी अगुवा व्यवसायीहरूले उत्कृष्ट सोच र सम्भावना भएका, तर लगानी जुटाउन खोजिरहेका व्यवसायहरूमा लगानीसँगै व्यवसायीलाई सफलताका लागि मार्गदर्शनसमेत गर्नेछन् ।