ललितपुरको च्यासलस्थित रेस्टुरेन्टका कर्मचारीले बिल तिर्ने विवादमा ग्राहकको हत्या गरेको घटनामा प्रहरीले दुईजनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा कारबाही अघि बढाएको छ। रेस्टुरेन्टको काउन्टरमा बस्ने डडेल्धुरा घर भएका हेमराज भट्ट र कुकका रूपमा कार्यरत काभ्रेपलाञ्चोक घर भएका जनकबहादुर तामाङविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाइएको ललितपुर प्रहरीले जनाएको छ।
सोमबार साँझ सवा नौ बजे दुईपक्षबिच विवाद हुँदा भट्टले कोखामा चक्कुले हानेर सुनसरी इटहरी घर भई सातदोबाटो बस्ने २३ वर्षीय नयन गुरुङको हत्या गरेका थिए। हत्यामा कुक तामाङको पनि संलग्नता देखिएको प्रहरीले जनाएको छ। हत्यामा प्रयोग भएको चक्कु पनि प्रहरीले बरामद गरेको छ।
गुरुङ नियमितजसो सो रेस्टुरेन्टमा जान्थे। उधारो धेरै भएको भन्दै बिल तिर्न भनेपछि विवाद भएको प्रहरीले जनाएको छ। मृतक गुरुङ हिमालयन इन्जिनियरिङ कलेजमा इन्जिनियरिङ अध्ययनरत विद्यार्थी हुन्।
प्रहरीले रेस्टुरेन्टका सञ्चालकलाई पनि नियन्त्रणमा लिएकोमा हत्यामा संलग्नता नदेखिएपछि उनलाई भने रिहा गरेको छ।