बाढीपहिरोले काभ्रेपलाञ्चोकका तीन हजार तीन सय निजी आवासमा क्षति

मंगलबार, ९ पुष, २०८१
डिजिटल संस्करण

भीषण बाढीपहिरो गएको करिब तीन महिनापछि जिल्लास्थित सहरी विकास तथा भवन कार्यालयले जिल्लामा भएका निजी आवासको क्षति विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार जिल्लाका तीन हजार ३३८ निजी आवासमा क्षति पुगेको छ । 

कुल क्षति पुगेको निजी आवासमध्ये दुई हजार ५७७ घर पूर्ण रूपमा क्षति भएका छन् । ७५१ घरमा आंशिक क्षति पुगेको छ । त्यसैगरी ६८ घरपरिवार स्थानान्तरणका लागि सिफारिस भएका छन् । कार्यालय प्रमुख भूमिनन्द ढकालका अनुसार १२ सरकारी भवनमा पूर्ण रूपमा क्षति पुगेको छ भने १३५ वटामा आंशिक क्षति पुगेको छ । 

आठ सार्वजनिक भवन पूर्णक्षति भएका छन् भने १३४ वटामा आंशिक क्षति पुगेको जनाइएको छ । जिल्लाका १३ स्थानीय तहमध्ये पनौती नगरपालिका तथा रोशी र बेथानचोक गाउँपालिका बाढीपहिरोबाट बढी प्रभावित भएका छन् । घर पूर्ण रूपमा क्षति भएकामध्ये बेथानचोक गाउँपालिकामा ६२९, नमोबुद्ध नगरमा ४८९, रोशीमा ३५० र तेमालमा ४३९ घर छन् । 

त्यसैगरी, चौँरीदेउराली गाउँपालिकामा १३४, भुम्लुमा १२२, धुलिखेल नगरमा ८०, पाँचखाल नगरमा ७६, पनौती नगरमा ५९, बनेपा नगरमा ४७, मण्डनदेउपुर नगरपालिकामा ८४ तथा खानीखोला गाउँपालिकामा ४५ र महाभारतमा २३ घर पूर्ण रूपमा क्षति भएको कार्यालयले जनाएको छ । जिल्लामा स्थानान्तरण गर्नुपर्ने घरपरिवारमध्ये चौँरीदेउरालीमा २३, मण्डनदेउपुरमा १३, पाँचखालमा १३, रोशीमा नौ, खानीखोलामा र बेथानचाेकमा पाँच–पाँच घरपरिवार छन् । 

बाढीपहिरोबाट काभ्रेपलाञ्चोकमा ७९ जनाको मृत्यु भएको थियो भने ७८ घाइते तथा ६ जना बेपत्ता छन् । जिल्लाका स्थानीय तहबाट प्राप्त क्षतिको विवरणअनुसार पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि बागमती प्रदेशस्थित भौतिक पूर्वाधार विकास मन्त्रालयमा लागत अनुमानसहितको विवरण पठाइएको कार्यालय प्रमुख ढकालले बताए । 

उनका अनुसार २० वटा सरकारी तथा सार्वजनिक भवन पुनर्निर्माण गर्नुपर्ने देखिएको छ्र । ‘केही स्थानमा बस्ती तहसनहस भएकाले सुरक्षित क्षेत्रमा एकीकृत बस्ती विकास गर्नुपर्ने देखिएको छ, सरोकारवाला निकायलाई यसैअनुसार सुझाव प्रस्तुत गरेका छौँ,’ ढकालले भने । 

सुझावित समाचार