पर्साका चारवटा स्थानीय तह भाडाकै घरमा सञ्चालन

मंगलबार, ९ पुष, २०८१
डिजिटल संस्करण

स्थानीय तह गठन भएको सात वर्षभन्दा बढी समय बितिसक्दा पनि पर्साका चारवटा पालिकाले अझै भाडाकै घरमा  कार्यालय सञ्चालनमा गरिरहेका छन् । जिल्लामा रहेको १४ पालिकामध्ये एक नगरपालिका र तीन गाउँपालिका कार्यालय अहिलेसम्म भाडाकै घरमा सञ्चालन हुँदै आएको अवस्था छ । 

चार नगरपालिका रहेको पर्सामा बहुदरमाई नगरपालिका बाहेक सबै नगरपालिकाले आफ्नो भवनमा पालिका कार्यालय सञ्चालन गरिरहेका छन् । यस्तै, विन्धवासिनी गाउँपालिका, छिपहरमाई गाउँपालिका र जिराभवानी गाउँपालिका कार्यालय अहिलेसम्म भाडाको घरमा सञ्चालमा भइहेकोे स्थानीयहरूले बताएका छन् । 

जिराभवानी गाउँपालिका निवासी स्थानीय मेघराज रायका अनुसार सुरुको समयदेखि अहिलेसम्म जिराभवानी गाउँपालिका कार्यालय भाडाको घरमा सञ्चालनमा गर्दै आएको बताए । उनका अनुसार यो गाउँपालिका कार्यालय तीवटा घर भाडामा लिएर पालिका भवन सञ्चालन गरिरहेको अवस्था छ । जिराभवानी गाउँपालिकाका एकजना कार्यपालिका सदस्यका अनुसार भाडाको घरमा कार्यालय सञ्चालन हुँदा मासिक ७० हजारभन्दा बढी भाडा पालिका कार्यालयले तिर्दै आएको छ । उनका अनुसार पालिका भवन निर्माणका लागि पटक–पटक आवाज उठे पनि गाउँपालिका अध्यक्षसहितका केही जनप्रतिनिधिले चासो नै नलिएको अवस्था छ । 

यस्तै, कालिकामाई गाउँपालिका कार्यालयले पालिका भवन निर्माण गर्न जग्गा खरिद गरेको भए पनि कार्यालय भवन बनाउन नसकेको स्थानीय दिनेश चौरसियाले बताए । 
उनका अनुसार ०७४ सालको स्थानीय निर्वाचनमा जितेका जनप्रतिनिधिहरूले पालिका भवन निर्माण गर्न जग्गा खरिद गरेका हुन् । 

केही पालिका वडाको भवनमा सञ्चालन 

पर्साका केही स्थानीय तहहरूले कार्यालय भवन निर्माण गर्न जग्गा पनि खरिद गरेको भए पनि उक्त जग्गामा अहिलेसम्म भवन निर्माण गर्न नसक्दा भाडाको घरमा कार्यालय सञ्चालन गरिरहेका छन् ।  पालिका भवन नहुँदा केही पालिका वडामा रहेको सामुदायिक भवन, विद्यालयको छात्रावासदेखि वडा कार्यालयको भवनमा पालिका कार्यालय सञ्चालन गरिरहेको स्थानीयहरूले बताएका छन् । 

पकाहा मैनपुर गाउँपालिका कार्यालय जिल्लाकै सामाजिक संस्था दिव्या युवा क्लबले बनाएको सामुदायिक भवनमा सञ्चालित छ । सानो भवन रहेको भवनमा केही नयाँ संरचना निर्माण गरेर पालिका भवन सञ्चालनमा ल्याएको स्थानीय राकेश यादवले बताए ।  

यस्तै, पटेर्वा सुगौली गाउँपालिका कार्यालय मन्दिरको नाममा रहेको भवनमा सञ्चालन हुँदै आएको स्थानीय प्रमोद यादवले बताए । पटेर्वा सुगौली गाउँपालिका कार्यालय भवन निर्माणको कार्य अन्तिम चरणमा रहेको यादवले बताए । यस्तै, कालिकामाई गाउँपालिका र धोबिनी गाउँपालिकाले वडा कार्यालयको भवनमा सञ्चालनमा रहेकोे स्थानीयहरूले बताएका छन् । स्थानीय सन्तोष पटेलका अनुसार धोबिनी गाउँपालिका कार्यालय वडा कार्यालयकै भवनमा सञ्चालनमा रहेको अवस्था छ । 

केही वर्ष पहिले पशु स्वास्थ्य केन्द्रको भवनमा सञ्चालन हुँदै आएको पालिका कार्यालय अहिले वडा नम्बर ४ लंगडीको भवनमा सञ्चालन हुन थालेको पटेलले बताए । 
संखुवा प्रसौनी गाउँपालिका कार्यालयले विद्यार्थीका लागि बनाएको छात्रावासको भवनमा आफ्नो कार्यालय सञ्चालन गरिरहेको जनप्रतिनिधिहरू जनाएका छन् ।

केही पालिका कार्यालय आफ्नै भवनमा

स्थानीय तह गठन हुनुभन्दा अगाडिदेखि पर्साका केही पालिका कार्यालय आफ्नै भवनमा सञ्चालित रहेका छन् । पर्साको एक मात्र वीरगन्ज महानगरपालिका र पोखरीया नगरपालिका सुरुको समयदेखि आफ्नो भवनमा कार्यालय सञ्चालन गरिरहेकोे अवस्था छ । यस्तै, गत वर्ष पर्सागढी नगरपालिकाले आफ्नो कार्यालय भवन निर्माण गरेपछि पालिका कार्यालय आफ्नै भवन सारेको हो । 

यस्तै, जिल्लाको ठोरी गाउँपालिका र जगरनाथपुर गाउँपालिकाले पनि आफ्नो भवन निर्माण गरेर पालिका कार्यालय सञ्चालन गर्दै आएको अवस्था छ । ठोरी गाउँपालिका र जगरनाथपुर गाउँपालिकाका तत्कालीन पालिका अध्यक्षहरूले नै आफ्नो कार्यकालमा पालिका भवन निर्माण गरेर पालिका भवन सञ्चालन गरेका थिए । 

यी पालिका कार्यालयहरूले आफ्नो भवनमा कार्यालय सञ्चालनमा ल्याएपछि लाखौँ रुपैयाँको आर्थिक भार घट्दै गएको ठोरी गाउँपालिकाका सन्दीप बस्नेतले बताए । 
उनका अनुसार पालिकालाई नमुना बनाउन योजना लिएर आएका जनप्रतिनिधिहरू कार्यालय भवन पनि पहिलो कार्यकालमा बनाएको अवस्था छ । 
 

सुझावित समाचार