ठमेलस्थित हरियाली बचत तथा ऋण सहकारीको झन्डै २७ करोड रुपैयाँ हिनामिना गरेको अभियोगमा काठमाडौंको चन्द्रागिरि नगरपालिका– १२ का अध्यक्ष ह्नुच्छेबहादुर महर्जन पक्राउ परेका छन् । प्रहरी वृत्त सोह्रखुट्टेबाट खटिएका प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । उनी सहकारीका कोषाध्यक्ष हुन् ।
यसअघि सहकारीका उपाध्यक्ष कृष्णबहादुर श्रेष्ठ पक्राउ परेका थिए । उनीहरूविरुद्ध एक सय ५५ बचतकर्ताले तीन करोड ९८ लाख रुपैयाँ ठगी गरेको भन्दै प्रहरीमा जाहेरी दिएका थिए । त्यसकै आधारमा उनीहरूलाई पक्राउ गरिएको सोह्रखुट्टे वृत्तका प्रमुख डिएसपी सत्यनारायण थापाले बताए । ‘हरियाली सहकारीमा बचतकर्ताको रकम हिनामिना भएको भन्दै हामीकहाँ जाहेरी परेलगत्तै पदाधिकारी फरार थिए । सोहीक्रममा कोषाध्यक्ष ह्नुच्छेबहादुर महर्जन पक्राउ परेका छन् । अन्यको खोजीकार्य जारी छ ।’
रकम हिनामिना गर्नेमा महर्जन र श्रेष्ठबाहेक सुरेश श्रेष्ठ, दिपेश शिल्पकार, सरोज तुलाधर, दिलबहादुर श्रेष्ठलगायतका छन् । जसमध्ये सुरेश सहकारीका अध्यक्ष हुन् भने कृष्णबहादुर उपाध्यक्ष, दिपेश सचिव हुन् । सरोज र दिलबहादुर भने कार्यसमिति सदस्य हुन् । ‘रकम हिनामिनामा संलग्न सहकारीका अध्यक्षसहितका अन्य पदाधिकारी फरार छन् । उनीहरूको खोजीकार्य जारी छ,’ डिएसपी थापाले भने ।
ठमेलमा कार्यालय रहेको सहकारी गत चैतदेखि बन्द छ । पटक–पटकको आग्रहपछि पनि बचत रकम फिर्ता नभएपछि पीडित उजुरी लिएर बागमती प्रदेश सहकारी रजिस्ट्रार कार्यालय पुगेका थिए । सहकारीमा कैफियत देखिएपछि कार्यालयले घटनाको अनुसन्धान गर्न प्रहरीलाई सिफारिस गरेको थियो । सोही सिफारिसपछि प्रहरी वृत्त सोह्रखुट्टेले घटनाको अनुसन्धान गरेको हो ।
हरियाली सहकारीमा दैनिक गुजाराका लागि ज्याला मजदुरी गर्नेदेखि वैदेशिक रोजगारमा श्रीमान् गुमाएपछि प्राप्त बिमाबापतको रकमसम्म राखिएको थियो । तर, सहकारीका पदाधिकारीले सबै रकम अपचलन गरेपछि बचतकर्ताको बिल्लीबाठ भएको छ । काठमाडौं बस्ने पाल्पा रैनादेवी ४९ वर्षीया इन्दिरा रायमाझी सहकारीले बचत रकम डुबाउँदा घर न घाटको भएकी छिन् । धनकुटा पाख्रीवासकी ३९ वर्षीया रबिना शर्मा (नाम परिवर्तन)ले वैदेशिक रोजागरमा मृत्यु भएका श्रीमान्को बिमाबापत प्राप्त सबै रकम सहकारीमा राखिन् । सुरुको केही वर्ष ब्याज पाए पनि पछि सहकारीले सबै रकम डुबाइदियो । रकम डुबेको खबर उनले घरमा सासुससुरा र छोरीलाईसमेत भन्न सकेकी छैनन् । त्यसकारण उनले आफ्नो पीडासमेत सार्वजनिक गर्नसकेकी छैनन् । सहकारीले आफ्नो ३० लाख ९८ हजार ८१४ रुपैयाँ हिनामिना गरेको उनको दाबी छ ।
सहकारीले नैकापकी आकांक्षा पोखरेलको पनि १३ लाख ६५ हजार ३ सय रुपैयाँ डुबाइदिएको छ । पटक–पटकको प्रयासपछि पनि उनले रकम फिर्ता लिनसकेकी छैनन् । चन्द्रागिरि नगरपालिका– ११ का वासुदेव श्रेष्ठले सहकारीले ६ सय भन्दा धेरै बचतकर्ताको २६ करोड ८२ लाख २४ हजार ६ सय ७७ रुपैयाँ डुबाएको बताए ।