महिला कैदी बलात्कार प्रकरण : आरोपी कर्मचारी पुर्पक्षका लागि कारागार चलान

शुक्रबार, ५ पुष, २०८१
डिजिटल संस्करण

सप्तरी जिल्ला कारागारमा ३० वर्षीया महिला कैदीबन्दी बलात्कृत घटनाका आरोपित कारागारका कर्मचारी राजविराज नगरपालिका– ८ का ३५ वर्षीय चन्दन भनिने चन्द्रनारायण यादवलाई  पुर्पक्षका लागि कारागार चलान गरिएको छ।  

सप्तरी जिल्ला अदालतका न्यायाधीश तिलकबहादुर कार्कीको एकल इजलासले यादवलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो। उनले महिला कैदीबन्दीलाई कारागार कार्यालयको प्रशासनिक भवनस्थित बिजुलीघरभित्र लगी ५ माघ ०८० को अपराह्न ४ः३० बजे बलात्कार गरेको जाहेरीमा उल्लेख छ।

पटकपटक विवादमा पर्दै आएका आरोपित १७ वर्षदेखि कारागार कार्यालय सप्तरीमा करार सेवामा कार्यालय सहयोगीको रूपमा कार्यरत छन्। पीडित महिलालाई सरुवा गरी अहिले उदयपुर कारागार पुर्याइएको छ।

पीडित महिलाले १६ साउन ०७६ देखि सप्तरी महिला कारागारमा कैद सजाय भुक्तान गर्दै आएकी थिइन्। उनले एक वर्षअघि मात्रै नाइकेको जिम्मेवारी पाएकी थिइन्। जसले गर्दा उनलाई कारागारको प्रशासनिक कार्यालयसम्म आउजाउ र कर्मचारीसँग कुराकानी गर्न छुट थियो।

सोही क्रममा उनी ५ माघ ०८० का दिन कारागारस्थित प्रशासनिक भवन पुगेको अवस्थामा कारागारमा कार्यालय सहयोगीका रूपमा कार्यरत चन्दनले विशेष काम छ भन्दै परिसरभित्रको बिजुलीघरमा लगेर जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ। जाहेरीअनुसार यादवले सल थुतेर महिलाको मुख बन्द गरी सिसी देखाउँदै हल्ला गरे अनुहारमा एसिड खन्याइदिने धम्की दिएका थिए।

कारागार कार्यालयकै कर्मचारीबाट महिला कैदी बलात्कृत शीर्षकमा गत असोज ११ गते नयाँ पत्रिकामा समाचार प्रकाशित भएपछि सप्तरी प्रहरीले मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाएको हो।

सुझावित समाचार