ताप्लेजुङको ग्रामीण क्षेत्रमा अलैँचीले ल्यायो आर्थिक चहलपहल

शुक्रबार, ५ पुष, २०८१
डिजिटल संस्करण

ताप्लेजुङका ग्रामीण क्षेत्रका अलैँची बगानहरू मरेपछि किसान निराश भएका छन् । अहिले १२ वर्षयताकै उच्च मूल्य (प्रतिमन एक लाख नाै हजारमा रुपैयाँ)मा कारोबार भइरहेको अलैँचीले गर्दा पूर्वी पहाडका गाउँ गाउँको आर्थिक अवस्था चलायमान भएको छ । तर, छिर्के, फुर्के र गानो कुहिने रोगले अलैँचाका बगान सखाप भएपछि निराश भएका किसानमा मूल्यवृद्धिले उत्साह पनि थपिएको छ । 

अलैँचीको पुराना बगान मासिए, तर नयाँ बगान विस्तार गरिरहे पनि तीन वर्षमा मात्र अलैँची उत्पादन हुने हुँदा केही निराश भएको किसानको भनाइ छ । किसान त अझ हौसिएको मैवाखोला गाउँपालिका– १ का लाखबहादुर तामाङले बताए ।  उनले भने, ‘एकपटक बिरुवा लगाएर छाडिदिने होइन, यसलाई पनि पटकपटक मलजल, गोडमेल, बगानको सरसफाइ गर्नु आवश्यक छ । जाँगर चलाउँदा अब पैसाकै लागि बिदेसिनुपर्ने अवस्था छैन भन्ने अलैँची खेतीले प्रमाणित गरेको छ । यस वर्ष अलैँचीको मूल्य राम्रो भयो, यस्तै भाउ कायम रहे धेरै युवाले गाउँघरमै बसेर उद्यमी बन्नुपर्छ ।’

तामाङले आफ्नो ४० रोपनी जमिनमा अलैँची खेती रहेको बताए । उनले गत वर्षभन्दा यस वर्ष आधाभन्दा कम अलैँची उत्पादन भएको जानकारी दिए ।   स्थानीय तहहरूले पनि अलैँचीका लागि विशेष कार्यक्रम ल्याएको बताएका छन् । फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बू (मुक्ति)ले स्थानीय अलैँची कृषकका लागि रकम छुट्याएको जानकारी दिए । उनले सुधारिएको भट्टी तथा अन्य सुधारका लागि १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको बताए । 

पूर्वी हिमाली तथा पहाडी जिल्लाहरूको आयआर्जनको राम्रो स्रोत बनेको अलैँचीको मूल्य करिब एक महिनायता प्रतिमन एक लाख नाै हजार रुपैयाँमा आएको ताप्लेजुङ उद्योग वाणिज्य संघले जनाएको छ । अहिलेसम्ममा करिब ७० देखि ७५ प्रतिशत अलैँची आएको बताइएको छ । जिल्लामा मुख्य गरेर फुङलिङ बजारमा कारोबार हुने गरेको छ भने उता, जिल्लाको दोस्राे ठुलोबजार दोभान, सिंवा, तेल्लोक, थेचम्बुलगायत बजारमा अलैँचीको कारोबार भइरहेको छ । जिल्लाका नौ स्थानीय तहका ६१ वडामध्ये फक्ताङलुङ गाउँपालिकाको वडा नम्बर ७ ओलाङचुङगोलाबाहेक सबै वडामा अलैँचीको उत्पादन हुने गरेको छ । 

जिल्लामा बर्सेनि करिब पाँच अर्ब रुपैयाँको हाराहारीको अलैँचीको कारोबार हुने गरेको बताइन्छ । ताप्लेजुङ जिल्लामा ०७९ सालमा अलैँची प्रतिमन २९ हजार रुपैयाँमा कारोबार भएको थियो । ०८० सालमा ५५ हजारसम्म पुगेको अलैँचीको मूल्य अहिले एक लाख नाै हजार रुपैयाँ पुगेको हो । १३ वर्षअघि पनि अलैँचीको मूल्य प्रतिमन एक लाख रुपैयाँ नाघेको बताइन्छ । यता, नेपाल बैंक लिमिटेडबाट कृषिसम्बन्धी लोन लगेका कृषकले पनि अलैँचीको भाउ बढेसँगै करिब एक करोड रुपैयाँ लोन चुक्ता गरेको बैंक मेनेजर वसुन्धरा आचार्यले बताइन् । 
 

सुझावित समाचार