‘शुद्ध’ खानाले हिन्दुलाई जोड्न सक्दैन

आइतबार, ३० मंसिर, २०८१
डिजिटल संस्करण

शाकाहारवादले कारण त अहिंसादेखि वातावरणमैत्रीजस्ता तर्कसंगत पेस गर्ने गर्छ, तर भारतमा यो जातसँग जोडिएको छ

ओडिसामा तपाईं शाकाहारी खाना खोज्नुहुन्छ भने तपाईंले ‘सादा’ वा साधारण खाना दिनुस् भने पुग्छ । यो परम्परा त्यतिवेलादेखि थियो जब बौद्ध धर्म र जैन धर्म ओडिसाका प्रमुख धर्म थिए र मानिसले मसालेदार, मांसाहारी वा राजसिक खाना त्यागेर र साधारण शाकाहारी खाना रोजेर मठवासी जीवनशैलीको झल्को देखाउँथे । साधारणतः शाकाहारी खाना सात्विक मानिन्थ्यो । यद्यपि घिउ, दुध, र दहीलाई अनुमति दिइन्थ्यो । मदिरा र अन्य नशालु पदार्थलाई तामसिक मानिए पनि मनोरञ्जन र अनुष्ठानको हिस्साका रूपमा विशेषतः तान्त्रिक अभ्यास र गाउँले परम्परामा लोकप्रिय रह्यो । तर, वैष्णव धर्मको उदयसँगै शाकाहारी खानालाई ब्राह्मणले मन्दिरको खाना घोषणा गरे जसले शुद्ध र अशुद्धको भेद निर्माण गर्यो । त्यसपछि ‘सादा’ शब्द ‘शुद्ध’मा रूपान्तरित भयो ।

हिन्दुलाई एउटै भोटबैंकको रूपमा एकताबद्ध गर्न चाहने संस्थाका चमेनागृहमा केवल शाकाहारी खाना प्रदान गरिन्छ । यसले ८० प्रतिशत हिन्दुलाई समेट्दैन । यी संस्थाले किन आफूले सबै समुदायलाई जोड्न सकिरहेको छैन भनेर अचम्म पनि मान्ने गर्छन् । उत्तर भारतमा मासु खानुलाई मुसलमान र तल्लो जातसँग जोडिन्थ्यो । तसर्थ, मुगलशासन पतनको समयमा जब राजपुत राजाले स्वतन्त्रता घोषणा गर्दै आफ्नो हिन्दु पहिचान स्थापित गर्दै थिए तिनले आफ्ना पूर्वशासकबाट आफूलाई फरक देखाउन शाकाहारलाई प्रवद्र्धन गरे । तल्लो जातका किसानले उच्च जातको जस्तो देखिनका लागि आफ्नो भोजन शैलीमा परिवर्तन ल्याए । यसलाई समाज विज्ञानमा ‘संस्कृतीकरण’ भन्ने गरिन्छ । यसरी खानपिनले धर्म मात्र नभई जातलाई पनि परिभाषित गर्यो । तसर्थ, शाकाहारको प्रवद्र्धनलाई पुरानो ब्राह्मण परम्परामा फर्कने प्रक्रियाका रूपमा हेर्न थालिएको छ, जसले भोटबैंकको राजनीतिमा सहयोग गर्दैन ।

शाकाहारवादले कारण त अहिंसादेखि वातावरणमैत्रीजस्ता तर्कसंगत पेस गर्ने गर्छ, तर भारतमा शाकाहारवाद जातसँग जोडिएको छ । यहीकारण शाकाहारी रेस्टुराँले आफूलाई ‘शुद्ध’ शाकाहारी रेस्टुराँको दाबी गर्छन् । यद्यपि, यी रेस्टुराँले दुध, दही, घिउ, पनिर र मक्खनजस्ता पशुजन्य प्रोटिन भने उपलब्ध गराउँछन् । जब यी कुरा औँल्याइन्छन् तब दुधजन्य पदार्थ अहिंसात्मक ढंगले उत्पादन हुन्छ भन्ने तर्क गरिन्छ । यही तर्क मान्ने हो भने अन्डा पनि उपलब्ध गराइनुपर्ने हो, तर गराइँदैन । उल्टै भारतका वैष्णव संस्था जसले भारतभर दिवा भोजन उपलब्ध गराउँछन् तिनले गरिब र आवश्यकता भएकालाई अन्डा खुवाउन अस्वीकार गर्छन् । 

भिटामिन बी–१२ बोटबिरुवामा पाइँदैन । यो केवल जनावरमा पाइन्छ भन्ने तथ्य कसैले पनि स्वीकार गर्न चाहँदैन । वास्तवमा ‘शुद्ध’ शाकाहारी खानाको अर्थ ‘अशुद्ध’ शाकाहारी वस्तुलाई अस्वीकार गर्नु पनि हो, अर्थात् लसुन, प्याज, च्याउ, यहाँसम्म कि केही दाल र भान्टाजस्ता तरकारीलाईसमेत शाकाहारी नमान्नु हो । यसका पछाडिका तर्क अत्यन्त जटिल एवं छद्म–विज्ञानका क्षेत्रभित्र पर्छन् । भारतमा खाना अझै पनि जातको पहिचानको प्रतीक हो भनेर कसैले पनि स्विकार्न चाहँदैनन् । वास्तवमा शुद्धताले पदानुक्रमलाई स्थापित गर्छ ।

मनुस्मृति र धर्मशास्त्रले शाकाहारलाई सुषुप्त रूपमा प्रोत्साहन गर्न सक्छन्, तर तिनले मासु खानु र मदिरा पिउनुलाई सामान्य जीवनको हिस्सा रूपमा स्विकारेका छन् । यी ग्रन्थले अन्डाका बारेमा कुनै किसिमको टिप्पणी गरेका छैनन् । तर, उपनिवेशकालमा धर्मशास्त्रलाई इस्लामिक सरियत कानुनसँग दाँजिएको थियो जहाँ मानिसलाई कुनै पनि कुरा गर्नका लागि परमेश्वर वा पैगम्बरको अनुमति आवश्यक पर्छ । यस्ता विश्वास हिन्दु धर्मका हिस्सा होइनन्, तर पनि केही गुरुहरूले वेदले शरीरलाई शुद्ध गर्न र आत्मालाई अनुभूत गर्न विशेष प्रकारको खानपान सिफारिस गर्छ भन्ने दाबी गर्छन् । यो विचारको जरो जैन धर्ममा छ जसले कर्मको बोझलाई हिंसात्मक कर्मबाट उत्पन्न हुने कणको रूपमा देख्छ जुन आत्मासँग जोडिन्छ र त्यसलाई भारी बनाउँछ, अन्ततः मोक्ष प्राप्तिबाट रोक्छ ।

मुसलमान पहिचानमा हलाल र हराम खानाको भिन्नता देख्न सकिन्छ र केही हिन्दु नेताले यस्तै संहिता तयार गर्न खोजिरहेका छन् । शाकाहारी खानालाई सात्विक भनिन्छ, तर यो मूलतः ब्राह्मण र बनिया (वैश्य) वर्गसँग जोडिएको छ जसले बौद्ध र जैन परम्पराको प्रभावलाई निरन्तरता दिएका छन् । वैदिक समयमा पशुबलि अनुष्ठानको अभिन्न हिस्सा थियो र ब्राह्मणहरूले केवल पवित्र अनुष्ठानमा चढाइएको मासु मात्रै खान्थे । आज धेरै उत्तर भारतीय ब्राह्मणले मासु र माछाको उपभोग केही ब्राह्मण उपसमूह विशेषतः समुद्री तट र पहाडी क्षेत्रमा सामान्य भएको तथ्यलाई समेत अस्वीकार गर्छन् । मासु, माछा र मदिरा अझै पनि भैरव र भवानीजस्ता धेरै ‘उपेक्षित’ (सबाल्टर्न) देवताका प्रिय भोजन हुन् ।

ब्राह्मण र बनिया खानालाई शाकाहारी र सात्विक मानिन्छ जबकि राजाको खानालाई राजसिक भनिन्छ । अर्थात्, राजालाई बँदेलजस्ता जंगली जनावरको मासु खान अनुमति हुन्थ्यो । धेरै राजपरिवारले दुर्गाको पूजा गर्थे जहाँ परम्परागत रूपमा नवरात्रिमा राँगा र बोकाको बलि चढाइन्थ्यो । तर, मन्दिरमा ब्राह्मण र बनियाको नियन्त्रणसँगै दुर्गालाई अब राँगा र बोकाको सट्टा फर्सी चढाइन्छ । अब प्रश्न उठ्छ, तामसिक खाना के हो ? यदि यो खाना राजपुत, ब्राह्मण, वा वैश्यले खाँदैनन् भने के यो शुद्रहरूको खाना हो त ? यो प्रश्नको जवाफ दिइँदैन । विभिन्न दलित लेखकले औँल्याएझैँ अछुतलाई कहिलेकाहीँ बाँकी रहेको वा बासी वा कुहिएको खाना दिइन्थ्यो । साधारण खाना साधु (सन्तको परम्पराबाट आएको भए पनि शुद्ध खाना जातमा आधारित पदानुक्रमको प्रतीक हो जसले हिन्दु पहिचानलाई एकताबद्ध गर्न कठिन बनाउँछ ।

(पट्टनायक धर्म एवं किंवदन्ती अध्येता एवं लेखक हुन्) द न्यु इन्डियन एक्सप्रेस 
 

सुझावित समाचार