सिरियामा नयाँ आक्रमणपछि इजरायली नेता र त्यहाँका अधिकांश सञ्चारमाध्यमले मध्यपूर्वको पुनर्निर्माण गर्न लागिएको दाबी गरिरहेका छन्
सिरियाका पूर्वराष्ट्रपति बसर अल–असद नाटकीय रूपमा सत्ताच्युत भएर मस्को भागेयता इजरायलले उक्त छिमेकी मुलुकमाथि व्यापक हवाई आक्रमण गरिरहेको छ । उसले सिरियाका रणनीतिक रूपमा महत्वपूर्ण हतियार भण्डारण तथा अन्य सामरिक स्थानलाई ताकी–ताकी सयौँ आक्रमण गरिसक्यो । यी आक्रमण आत्मरक्षाका लागि आवश्यक रहेको इजरायलको दाबी छ । तर, सिरियामाथि इजरायलले अहिले मात्र आक्रमण गरेको होइन । उसले कम्तीमा पनि जनवरी २०१३ देखि पूर्ण जवाफदेहिताविना सिरियामाथि आक्रमण गर्दै आएको छ । जनवरी २०१३ मा सिरियाली हतियार ढुवानी वाहनमाथि गरिएको बम आक्रमणमा दुईजना मारिएका थिए ।
त्यसयता इजरायलको सिरियामाथिको आक्रमण कहिल्यै रोकिएको छैन । सामान्यतया हरेक आक्रमणलाई इजरायलले सिरियाभित्रका हिजबुल्लाह तथा इरानी ठेगाना निस्तेज बनाउने प्रयासको रूपमा व्याख्या गर्दै आएको थियो । यस अवधिमा उसले छिमेकीमाथिको आक्रमणलाई सामान्यीकरण गरेको पर्यवेक्षकहरूको ठम्याइ छ ।
डिसेम्बर ८ मा बसर अल असदको सरकार विघटनपछि गत बिहीबारसम्म इजरायलले सिरियामामाथि गरेको आक्रमणको संख्या झन्डै पाँच सय पुगिसकेको थियो । हवाई आक्रमणका साथसाथै इजरायले आफ्नो स्थलसेनालाई भूमि गोलान हाइट्सबाट थप अगाडि गैरसैनिक क्षेत्रतर्फ अघि बढाएको छ । इजरायलले सन् १९६७ को ६ दिने युद्धमा सिरियाली भूमि गोलान हाइट कब्जा गरेको थियो । त्यसयता उसले त्यस भूमिलाई औपचारिक रूपमा आफूमा गाभेको घोषणासमेत गरिसकेको छ । सन् १९७४ मा संयुक्त राष्ट्र संघको मध्यस्थतामा इजरायली कब्जामा रहेको गोलान हाइट र सिरियाली भूमिबिच गैरसैनिक बफर क्षेत्र तोकिएको थियो । अहिले आएर उसले सन् १९७४ को सम्झौता ‘धराशयी’ भएको घोषणा गर्दै गैरसैनिक क्षेत्र कब्जा गर्न अघि बढेको छ ।
सिरियाभित्रका सामरिकस्थल तथा गोलान हाइटका अतिरिक्त जल पूर्वाधार पनि आक्रमणको निसानाबाट बच्न सकेका छैनन् । इजरायलले गत सोमबार बेदा र लाटाकियाका बन्दरगाहमा रोकिराखेका १५ वटा सिरिया जहाजलाई नष्ट गरिदियो । सोही दिन इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सिरियामा असदको सरकार पतनमा आफूहरूको ठुलो हात रहेको दाबी गरे । सिरियाली समूह हयात ताहिर अल–साम (एचटिएस)को बिजुलीको गतिको सैन्य अफेन्सिवलाई आफूहरूको विगतको कारबाहीले सहयोग गरेको दाबी गर्दै नेतन्याहुले भने, ‘असदको सत्ता पतन हामीले हमास, हिजबुल्लाह र इरानमाथि गरेको निरन्तर प्रहारको प्रत्यक्ष परिणाम हो ।’
इजरायलले हाल सिरियामाथि गरिरहेको आक्रमण ‘अवसरवाद र रणनीति दुवैको मिश्रण भएको’ क्राइसिस समूहका वरिष्ठ विश्लेषक माइराभ जोन्सजेनको ठम्याइ छ । निश्चित रूपमा कुनै पनि देशले आफ्नो सीमामा आइपर्ने सम्भावित खतरालाई निस्तेज बनाउने प्रयास गर्छन् । तर, सिरिया र इजरायलबिचको सिमाना विगतका कुनै समय प्रतिरक्षाविहीन थियो भनेर दाबी गर्नु धरातलीय यथार्थका आधारमा हजम हुँदैन । यी आक्रमणपछाडिको दीर्घकालीन योजना के हुन सक्छ अझै अनिश्चित छ । ‘इजरायलले सिरियालमा पनि अक्टोबर ७ देखि अवलम्बन गरिरहेकै रणनीतिलाई अंगीकार गरेको छ । त्यो हो, खतरा वा अवसर पहिचान गर्ने, तीविरुद्ध सेना परिचालन गर्ने र त्यसपछि तिनलाई कमजोर बनाउने,’ जोन्सजेनले भने ।
तर राजनीतिशास्त्री ओरी गोल्डबर्ग भने इजरायल अहिले कुनै रणनीति लिएर अघि बढिरहेको छ भन्ने विचारमा विश्वस्त छैनन् । बरु, उनका अनुसार ‘इजरायलले अहिले जतिखेर, जे मन लाग्छ, त्यही कदम उठाइरहेको छ । पछि के होला भनेर कुनै स ोचविचार गरिएको छैन । यही नै इजरायलको नयाँ सुरक्षा रणनीति देखिन्छ ।’ ‘मानिसहरू इजरायलले बृहत्तर (ग्रेटर) इजरायल बनाउन खोजेको भनिरहेका छन् । छिमेकी देशमा उसका सञ्जाल विस्तार भइरहेको भन्छन् । तर, कुनै उसले योजना लिएर यी कदम चालेजस्तो मलाई लाग्दैन । यो सबै अराजकता र इजरायलमा भर्खरै विनाशप्रति रुचिको परिणति हुन् ।’
विश्व निन्दाप्रतिको बेवास्ता
इजरायलले गत अक्टोबर ७ यता अर्थात् १४ महिनाभित्रै गाजामा कम्तीमा ४८ हजार ८३३ मानिसको हत्या गरेको छ । उसले लेबनानमा सक्रिय इरान समर्थित समूह हिजबुल्लाहलाई पनि निसाना बनाउँदै आएको छ । त्यसपछि लेबनानभित्रै इजरायली सेना पसे । अहिले सिरियामाथिको आक्रमणमा जोड दिएको छ । यी सबबिच पनि उसले नाकाबन्दीमा राखेको गाजामाथि आक्रमण रोकेको छैन । धेरै राष्ट्र र अन्तर्राष्ट्रिय संगठन तथा निकायले गाजामाथिको इजरायली सैन्य कारबाहीलाई नरसंहारको संज्ञा दिएका छन् । तर, यी आलोचनाको पूर्ण बेवास्ता गर्दै अधिकांश इजरायली मिडिया नेतन्याहुको ‘मध्यपूर्वको रूपरेखा बदल्ने’ बहसमा केन्द्रित छन् ।
बुधबार जेरुसेलम पोस्टमा प्रकाशित एउटा आलेखमा जोड दिएर भनिएको छ कि ‘मध्यपूर्वको स्थिरताका लागि इजरायलले गत एक वर्षमा संयुक्त राष्ट्र संघका अप्रभावी एजेन्सीहरू तथा पश्चिमी कूटनीतिज्ञहरूले दशकौँमा गरेकोभन्दा धेरै काम गरेको छ ।’ भर्खरै असद शासनबाट मुक्त भएको सिरियामा इजरायलको आक्रमणको इजिप्ट, फ्रान्स, इरान, इराक, कतार, रुस र साउदी अरबलगायत विभिन्न देशले आलोचना गरेका छन् । गत शनिबार नै २२ सदस्यीय अरब लिगले एक विज्ञप्ति जारी गर्दै इजरायलले ‘सिरियाको आन्तरिक चुनौतीहरूको फाइदा उठाउन’ खोजेको आरोप लगाएको छ । यस वर्षको अन्त्यसम्म सिरिया र इजरायलबिचको मध्यवर्ती क्षेत्रको निगरानी गर्ने म्यान्डेट पाएको संयुक्त राष्ट्र संघले इजरायलबाट भएको अन्तर्राष्ट्रिय कानुनको उल्लंघनको निन्दा गरेको छ ।
‘संयुक्त राष्ट्रको विरोधको कुनै अर्थ छैन,’ गोलबर्गले भने । उनका अनुसार विभिन्न अन्तर्राष्ट्रिय संगठनसँग इजरायलको बारम्बार विवाद खासमा इजरायलभित्रको पछिल्लो मानसिकताको एक हिस्सा हो । ‘हामी पूर्णरूपमा देशका नेताको साथमा रहेको देखाउन चाहन्छौँ । हामी आइसिजे र आइसिसीलाई तिनका निर्णयको हामीलाई कुनै मतलब नभएको देखाउन चाहन्छौँ । हामी आफ्ना मनखुसी गर्दै अघि बढ्नेछौँ,’ गोलबर्गले भने ।
गत बुधबार ‘द टाइम्स अफ इजरायल’का स्तम्भकार जेफ्री लेभिनले विगत १३ महिनालाई ‘शान्ति र समृद्धिको नयाँ मध्यपूर्व’तर्फको कदमको रूपमा चित्रण गरे । लेभिनका अनुसार वर्षको रूपान्तरणकारी परिवर्तनपछि ‘सिरिया अल–असदबाट मुक्त भएजस्तै इरानको धार्मिक शासन अन्त्य हुन सक्छ भने कुर्दहरूले सय वर्षदेखि आफ्नो स्वतन्त्र राज्यका लाडिरहेको सपना साकार हुन सक्छ, र प्यालेस्टिनीहरू जोर्डनमा गएर तिनको ‘भूमि’ निर्माण गर्न स्वतन्त्र हुनेछन् ।’ इजरायली राजनीतिक विश्लेषक निमरोड फ्लासेनबर्गले भने, ‘अधिकांश इजरायली नागरिक यी कदमपछि यस क्षेत्रमा लोकप्रिय भइनेछ भन्ने कल्पना गर्छन् भन्ने मलाई लाग्दैन ।’ तथापि, सिरियाका कुर्दिस तथा ड्रुज अल्पसंख्यकसँग कुनै प्रकारको मेलमिलाप सम्भव हुन सक्छ । ‘उनीहरू सम्भवतः मध्यपूर्वमा इजरायलप्रति वैरभाव राख्ने सत्ता घट्नेमा आशावादी छन्,’ फ्लासेनबर्गले भने ।
– अल जजिराबाट