रविको मानव अधिकारबारे पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको चिन्ता : दुई–दुई दिनको अन्तरमाअदालत घुमाउनु हद भयो

आइतबार, ३० मंसिर, २०८१
डिजिटल संस्करण

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सहकारीको रकम अपचलन मुद्दा अनुसन्धानका नाममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि मानव अधिकार हनन भएको बताएकी छिन् । झिल्को प्रकाशनले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा कार्कीले लामिछानेलाई दुई–दुई दिनमा अदालत–अदालत घुमाउनु हद भएको बताएकी हुन् । 

‘एउटा मान्छेलाई दुई–दुई दिनमा अदालत परिवर्तन गराइरहेका छन् । हाजिर गराइरहेका छन् । उसको मानव अधिकार कहाँ गयो ? कहिले राति निद्रामै उठाएर कुदाएको छ । यो अड्डामा हाजिर गराएको छ, त्यो अड्डामा हाजिर गराएको छ । एउटा मान्छे कति महिनादेखि अदालतमा कुदिरहेको छ । अब त हामी हेर्नेलाई पनि लाजमर्दो भइसक्यो । यो त हदै भयो,’ उनले अनुसन्धानको तौरतरिकाप्रति आपत्ति जनाइन् । 

सहकारी ठगी र संगठित अपराध कसुरमा २ कात्तिकमा पक्राउ परेका प्रतिनिधिसभा सदस्यमेत रहेका पूर्वगृहमन्त्री लामिछाने जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । उनलाई कास्कीसहित बुटवल, काठमाडौं, चितवन र पर्सामा उपस्थित गराएर बयान लिइएको छ । उनको मुद्दा यसै साता अदालतमा पेस गर्ने तयारी छ । मुद्दा अभियोजन गर्ने क्रममा पनि लामिछानेलाई पाँचवटै जिल्ला सरकारी वकिल कार्यालयमा उपस्थित गराउने प्रहरीको तयारी छ । 

पूर्वन्यायाधीश कार्कीले मुद्दा निष्पक्ष रूपमा हेर्न न्यायालय हुँदाहुँदै अनुसन्धानकै क्रममा अनावश्यक दुःख दिने काम भएको बताइन् । ‘केहीलाई छाडेर सबै न्यायाधीशले दुर्गन्धित हुने गरी काम गर्दैन । त्यसैले रविको मुद्दा न्यायालयले हेर्ने वेलामा हेर्छ,’ उनले भनिन् ।

कास्कीमा हदम्याद पनि सकिन लागेकाले प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाउन लागेको हो । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रहरीले आरोपीलाई अधिकतम ९० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न पाउँछ । जुन म्याद अब ६ दिन मात्र बाँकी छ । सो मुद्दाको आरोपीमध्ये एक छविलाल जोशी ६ असोजमै पक्राउ परेका थिए । सोही दिनदेखि थुनामा राख्ने म्याद सुरु भएको थियो । जसअनुसार ६ पुसभित्र कास्कीमा मुद्दा दायर गरिसक्नुपर्ने कानुनी बाध्यता छ । प्रहरीले सरकारी वकिल कार्यालयमा रायसहितको अनुसन्धान प्रतिवेदन बुझाउने र सरकारी वकिल कार्यालयले अदालतमा अभियोगपत्र दर्ता गर्छ । हदम्याद सकिनुभन्दा केही दिनअघि नै रायसहितको अनुसन्धान प्रतिवेदन बुझाउने प्रचलन छ । 

गोरखा मिडियामा लामिछानेका पूर्वसाझेदार रहेका गितेन्द्रबाबु (जिबी) राईको समूहले सञ्चालन गरेका सहकारीको ठगीको अनुसन्धानमा उनी तानिएका हुन् । पोखराको सूर्यदर्शन, रुपन्देहीको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको सहारा तथा पर्साको सानो पाइला सहकारीबाट गैरकानुनी रूपमा गोरखा मिडियामा करोडौँ रकम गएको थियो । लामिछाने गोरखा मिडियाको प्रबन्ध निर्देशक हुँदा त्यसरी आएको रकम चेक काटेर खर्च गरेको आधारमा उनीमाथि पनि सबै सहकारीको रकम अपचलनको अभियोग लगाउने प्रहरी तयारी छ । 

सुझावित समाचार