ढुंगा बिछ्याउने कि कालोपत्रे गर्ने भन्ने विवाद हुँदा ८३२ मिटरको नक्साल–नागपोखरी सडक निर्माण लामो समय अलपत्र, निर्माण सम्पन्न हुनुपर्ने समय नजिकिँदै गर्दा बल्ल काम सुरु
दुई वर्षअघि नै ठेक्का लगाएको काठमाडौं महानगरपालिका– १ स्थित नक्साल भगवती मन्दिर हुँदै नागपोखरी निस्कने सडक निर्माणको काम बल्ल सुरु भएको छ । यो सडक खण्डमा ढुंगा बिछ्याउने कि कालोपत्रे गर्ने भन्ने विवाद चुलिँदा काम सुरु हुन सकेको थिएन ।
८३२ मिटर सडक निर्माणका लागि काठमाडौं उपत्यका विकास प्राधिकरणले ३ फागुन ०७९ मा ठेक्का सम्झौता गरेको थियो । चार करोड ५१ लाख ६५ हजार ७०६ रुपैयाँमा निर्माण गर्न लागिएको सडकको म्याद १८ पुस ०८१ मा सकिँदै छ ।
उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालय, काठमाडौंका प्रमुख सुभाष बस्नेतले विवादका कारण काम ढिला भएकोे बताए । उनका अनुसार एकातर्फका स्थानीयवासीले ढुंगा छाप्न प्रस्ताव गरेका थिए भने अर्काथरीले कालोपत्रे गर्नुपर्ने भन्दै अवरोध गरेका थिए । ढुुंगा बिछ्याउने सहमति भएर अवरोध हटेपछि एक महिनाअघि मात्रैे काम अघि बढेको उनले बताए । सडक निर्माण सक्न अझै ६ महिनाहाराहारी लाग्ने प्राधिकरणले जनाएको छ । हालसम्म सडक निर्माणका लागि आवश्यक सामान खरिद तथा तयारीमा साढे दुई करोड बजेट सकिएको छ । बस्नेतले भने, ‘सहमतिअनुसार उक्त सडकलाई सम्पदा मार्गका रूपमा निर्माण गरिँदै छ ।’
उक्त सडकमा अब ढुंगा बिछ्याइनेछ भने चारपांग्रे सवारीसाधनलाई पनि प्रवेश दिइनेछ । सुरुमा सवारीसाधन निषेध गर्ने, पैदलमार्ग तथा फुटपाथ निर्माण गर्नुपर्ने विषय स्थानीयले उठाएका थिए । तर, त्यसरी निर्माण गर्दा सडकको चौडाइ कम हुने देखिएपछि सडकको वारपार नै ढुंगा छाप्ने सहमति भएको हो ।
काठमाडौं महानगरपालिका– १ का वडाध्यक्ष भरतलाल श्रेष्ठले लामो समयदेखि सडक अस्तव्यस्त अवस्थामा रहेको बताए । ‘सडक धेरै समयदेखि अस्तव्यस्त छ,’ उनले भने, ‘हामीले निर्माण छिटो सक्न उपत्यका विकास प्राधिकरणलाई पहल गरिरहेका छौँ, विवाद तथा उक्त सडकमा अन्य निकायले पनि काम गरेकाले ढिलो भएको हो ।’