नेपालको हेल्प नेपाल स्पोर्टस् क्लब र भारतको क्यालिकट हिरोजले शनिबार काभा पुरुष भलिबल क्लब च्याम्पियनसिपको उपाधि भिडन्तका लागि भिड्ने भएका छन् । प्रतियोगिताको शुक्रबार हेल्प नेपाल र क्यालिकटले सेमिफाइनलमा आआफ्ना प्रतिद्वन्द्वीलाई हराउँदै अन्तिम दुई स्थान पक्का गरेका हुन् । हेल्प नेपालले माल्दिभ्सको क्लब एचडिसीलाई ३–० को सोझो सेटले हरायो । क्यालिकट हिरोजले पहिलो सेमिफाइनलमा इरानको यू–१८ टोलीलाई ३–१ ले हराउँदै फाइनल स्थान पक्का गरेको हो ।
भारतको क्यालिकट हिरोजले समूह चरणमा अपराजित रहेको इरानको यू–१८ टोलीलाई ३–१ ले हरायो । क्यालिकटले इरानको युवा टोलीमाथि २१–२५, २५–२२, २५–२० र २६–२४ को पुनरागमन जित हासिल गरेको हो । लिग चरणका चार खेलमा सात अंक जोडेको क्यालिकट तेस्रो स्थानमा रहेर अन्तिम चारमा प्रवेश गरेको थियो ।
इरानले सेमिफाइनलमा भारतविरुद्ध सुरुवातमा राम्रो गरेको थियो । इरानले पहिलो सेट २५–२१ ले जितेको थियो । संगठित रूपमा प्रदर्शन गरेको भारतीय टोलीले दोस्रो सेटमा पुनरागमन गरेको थियो । उत्कृष्ट कमब्याक गरेको क्यालिकटले दोस्रो सेट २५–२२ को स्कोर गर्यो । दोस्रो सेटको समाप्तिसम्म खेल १–१ को स्थितिमा पुग्यो । दोस्रो सेटमा हौसिएको भारतीय खेलाडीले त्यसपछि इरानमाथि मानसिक रूपमा दबाब राख्यो । शरीरिक रूपमा बलियो क्यालिकटले तेस्रो सेटमा पनि इरानलाई चल्न दिएन । तेस्रो सेटमा क्यालिकटले २५–२० ले तेस्रो सेट जित्दा खेल २–१ को स्थितिमा पुग्यो ।
तेस्रो सेट गुमाउँदा इरानलाई प्रतियोगितामा रहन चौथो सेट जित्नुपर्ने थियो । खेलमा फर्कने कोसिसमा रहेको इरानको युवा टोलीले चौथो सेटमा क्यालिकटलाई चुनौती दिएको थियो ।