नेपालका आरव सम्राट हाडा र शिवाली गुरुङ पोखरामा जारी आइटिएफ वर्ल्ड टेनिस टुर जे ३० सर्किट २ अन्तर्गत सिंगल्सतर्फको प्रतिस्पर्धामा फाइनल प्रवेश गरेका छन्।
कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगिताअन्तर्गत पाँचौँ दिनको खेल सकिँदा ३ नम्बर वरीयतामा रहेका हाडाले अस्ट्रेलियाका प्रतीक नवीनलाई ६–४, ६–४ को सोझो सेटमा पराजित गरे। उता गुरुङले भने भारतकी खेलाडी अर्जन खोरकिवालालाई ६–२, ६–४ को सेटमा पाखा लगाउँदै उपाधि यात्रा तय गरेकी हुन्। उपाधिका लागि हाडाले भारतका आश्रव्य मेहरा र गुरुङले मंगोलियाकी मार्टा चोग्सोमजाभसँग शनिबार प्रतिस्पर्धा गर्नेछन्।
सेमिफाइनलको खेलमा सर्किट १ का उपविजेता आश्रव्यले चीनका सिउयुआन गुओलाई ६–४, ६–४ ले र मंगोलियाकी मार्टाले भारतकी माहिका खन्ना रिटायर्ड हर्ट हुँदै मैदान छोड्नुपरेपछि अन्तिम दुईमा स्थान बनाएकी थिइन्। मैदान छोड्नुअघि मार्टा पहिलो सेटमा ४–० ले अघि थिइन्।
प्रतियोगिताअन्तर्गत शुक्रबार सम्पन्न फाइनलअन्तर्गत ब्वाइज डबल्सको उपाधि भारतका आदित्य मोर र अधिराज ठाकुरको जोडीले हात पार्ने क्रममा भारतकै आरव चाबला र ओजस मेहलावतको जोडीलाई ७–५, ६–२ ले पराजित गरेकाे थियाे।
गर्ल्स डबल्सको उपाधि भने मार्टा चोग्सोमजाभ (मंगाेलिया) र यिजिया झाओ (चीन)को जोडीले हात पारेकाे छ। उनीहरूले भारतका दिशा बेहरा र अर्जन खोरकिवालाको जोडीलाई ६–२, ६–४ को सोझो सेटमा पराजित गरेका हुन्।