स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालको चिकित्सा शिक्षालाई विदेशमा आपसी मान्यता प्रदान गर्नका लागि पहल थालेको छ।
नेपालको स्नातकोत्तर भारतलगायत अन्य राष्ट्रहरूमा सो सरहको मान्यता नपाउँदा नेपालका चिकित्सा विद्यार्थीहरूले समस्या झेल्दै आइरहेका छन्। स्नातकोत्तरको मान्यता नपाउँदा भइरहेको समस्या अन्त्य गर्न तथा पूर्ण शुल्कमा विदेशी विद्यार्थी नेपालमा अध्ययन गर्न आउने वातावरण बनाउन मन्त्रालयले पहल थालेको हो।
सुरुवातमा माल्दिभ्सलगायत सार्क देशका विद्यार्थीलाई चिकित्सा शिक्षाको आपसी मान्यता प्रक्रिया सहज बनाउन सहजीकरण र कोटा व्यवस्थापनका उपाय खोज्न भन्दै मन्त्रालयले नेपाल मेडिकल काउन्सिलसँग ३० दिनभित्र प्रारम्भिक प्रतिवेदन मागेको छ। सुझावसहित प्रतिवेदन तयार गरी मन्त्रालयलाई बुझाउन नीति योजना तथा अनुगमन महाशाखाले काउन्सिललाई पत्राचार गरेको प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए।
उक्त समितिले दिएको प्रतिवेदनले चिकित्सा शिक्षालाई अन्तर्राष्ट्रियस्तरमा लोकप्रिय बनाउन विदेशी विद्यार्थीको चासो सम्बोधन गर्न सफल हुने विश्वास लिएको मन्त्री प्रदीप पौडेलले बताएका छन्। उनले भने, ‘नेपालमा अध्ययन गरेका चिकित्सा विद्यार्थीको समस्या समाधान गर्ने हाम्रो उद्देश्य हो। साथै नेपालमा पूर्ण शुल्कमा विदेशी विद्यार्थीसमेत पढाउन सकिए हाम्रो शिक्षाको स्तर र देशमा विदेशी मुद्रा दुवै वृद्धि गर्न सकिन्छ भन्ने विश्वास लिएका छौँ।’
हाल विदेशमा अध्ययन गरेकाहरूले नेपालमा सहजतापूर्वक काम गरिरहे पनि नेपालमा अध्ययन गरेका विद्यार्थीका हकमा भने आपसी मान्यता प्राप्त नहुँदा कठिनाइ भइरहेको छ।