नेपाल प्रिमियर लिगअन्तर्गत शुक्रबार जारी दोस्रो खेलमा विराटनगर किंग्सले चितवन राइनोजलाई १८२ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ रोजेको विराटनगरले पाँच विकेटको क्षतिमा १८१ रनको फराकिलो स्कोर खडा गरेको हो।
विराटनगरका लागि बसिर अहमदले अविजित ६८ रनको सर्वाधिक रन जोडे। ४४ बल सामना गरेका उनले समान चार चौका र छक्का प्रहार गरे। मार्टिन गुप्टिलले ४५ रनको योगदान गर्दा राजेश पुलामीले अविजित ३३ रन जोडे।
दुई बल सामना गरेका लोकेश बम र चार बल सामना गरेका स्कट एडवार्डस् शून्य रनमै आउट हुँदा दीपक बोहरा चार र निकोलस किर्टन आठ रन बनाएर पेभिलियन फर्किए।
चितवनका रिजन ढकालले दुई विकेट लिँदा सोहेल तनविर, बसिल हमिद र कुशल मल्लले समान एक विकेट लिए। चितवनका लागि आजको खेलमा अमर रौतेला महँगो साबित भए। एक ओभर बलिङ गरेका उनले २४ रन खर्चिए।