थप १० चलचित्रलाई ‘डिजिटाइजेसन’ गर्दै बोर्ड

शुक्रबार, २८ मंसिर, २०८१
डिजिटल संस्करण
थप १० चलचित्रलाई ‘डिजिटाइजेसन’ गर्दै बोर्ड

फाइल तस्बिर

चलचित्र विकास बोर्डले ‘नुमाफुङ’सहित १० चलचित्रलाई डिजिटाइजेसन गर्ने भएको छ। बोर्डका अध्यक्ष दिनेश डिसीले वसन्ती, बलिदान, दक्षिणा, बसाइँ, वीर गणेशमानलगायतका चलचित्रलाई आगामी पुस्तासम्म पुर्याउन हालको प्रविधिमा रूपान्तरण गरी ‘अर्काइभ’ गरिने बताए।

‘हामीले दर्शकले रुचाउनुका साथै विभिन्न कालखण्डलाई दर्शाउने चलचित्रलाई पुरानो प्रविधिबाट रूपान्तरण गरेर नयाँ प्रविधिमा ढाल्न चाहेका छौँ। यसको काम केही समयमा सुरु हुनेछ। यी चलचित्रलाई बोर्डको विशेष समारोहमा समेत देखाइनेछ,’ अध्यक्ष डिसीले भने।

यसअगाडि बोर्डले ‘सेल्युलाइड’ प्रविधिमा रहेको महत्त्वपूर्ण चलचित्र ‘आमा’, ‘के घर के डेरा’, ‘बदलिँदो आकाश’, ‘जीवनरेखा’, ‘सिन्दूर’, ‘कुमारी’, ‘मनको बाँध’, ‘परिवर्तन’, ‘हिजोआज भोलि’ र ‘शान्तिदीप’लाई डिजिटाइजेसन गरिसकेको छ। साथै ती चलचित्रमा अंग्रेजी भाषामा ‘सबटाइटल’ पनि दिइएको छ।

‘रिस्टोरेसन’ गर्दा रिल कोरिएको, प्वाल परेको, टाँसिएकोलगायत ‘ड्यामेज’लाई हरेक दृश्यमा काम गरेर नयाँजस्तै बनाइने र त्यसलाई डिजिटल प्रविधिमा ल्याएपछि संग्रहित गरिने बोर्डले जनाएको छ। पहिलो चरणमा तत्कालीन शाही नेपाली चलचित्र संस्थान र सूचना मन्त्रालयको लगानीमा बनेका चलचित्रलाई ‘डिजिटाइजेसन’ गरिएको छ। डिजिटाइजेसनपश्चात् १६ एमएम र ३५ एमएमका ती चलचित्रलाई ‘टु के’ र ‘फोर के’ ढाँचामा हेर्न सकिनेछ।

‘डिजिटाइजेसनसँगै ती चलचित्रको प्रिन्ट रिस्टोरेसन गरेर राखिएको छ। यसले ‘एट के’ वा अन्य विकसित गुणस्तरमा स्तरोन्नति गर्न सकिन्छ,’ अध्यक्ष डिसीले भने।

सुझावित समाचार