काभा पुरुष क्लब च्याम्पियनसिप : कमजोर प्रदर्शनसँगै बाहिरियो गण्डकी

शुक्रबार, २८ मंसिर, २०८१
डिजिटल संस्करण

भारतको क्यालिकट हिरोजविरुद्ध ३ अंक जोड्न नसक्दा नेपालको गण्डकी प्रदेश प्रतियोगिताबाट बाहिरियो

नेपालबाट प्रतिनिधित्व गरेको गण्डकी प्रदेश खराब प्रदर्शनसँगै पुरुष भलिबल क्लब च्याम्पियनसिपको समूह चरणबाटै बाहिरिएको छ । राखेपको कभर्ड हलमा भएको समूह चरणको अन्तिम खेलमा गण्डकी भारतको क्यालिकट हिरोजसँग सोझो सेटमा पराजित भयो । प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।

समूहको अन्तिम खेलमा गण्डकीले क्यालिकटविरुद्ध ३ अंक जोड्दा सेमिफाइनलमा पुग्ने थियो । तर, ३ अंक जोड्न नसक्दा गण्डकीको अन्तिम चारमा पुग्ने सपना पूरा भएन । क्यालिकटले गण्डकीमाथि २५–२२, २५–१९ र २५–१५ को सहज जित निकाल्यो । गण्डकीको हारले माल्दिभ्सको क्लब एचडिसी अन्तिम चारमा पुग्यो । 

प्रतियोगिताको फाइनल प्रवेश खेलमा लिगको शीर्ष स्थानको इरान यू–१९ ले तेस्रो स्थानको क्यालिकटविरुद्ध खेल्नेछ । दोस्रो स्थानको नेपालको हेल्प नेपाल स्पोर्टस् क्लबले चौथो स्थानको माल्दिभ्सको क्लब एचडिसीविरुद्ध खेल्नेछ । इरानको टोलीले सर्वाधिक १०, हेल्प नेपाल ८, क्यालिकटले ७ र क्लब एचडिसीले ५ अंक हात पारेका छन् । सबै खेल हारेको गण्डकीले २ अंक बटुल्यो । 

हेल्प नेपालको पहिलो पराजय
सेमिफाइनल स्थान रक्षा गरिसकेको हेल्प नेपालले पहिलो हारको सामना गरेको छ । हेल्प नेपाल बिहीबारै भएको खेलमा इरानको यू–१८ टोलीसँग ३–१ को सेटमा पराजित भयो । हेल्प नेपालले आफ्नो दोस्रो रोजाइका खेलाडीलाई इरानको टोलीविरुद्ध मैदानमा उतारेको थियो ।

पहिलो सेट २५–२३ ले आफ्नो पक्षमा पारेको हेल्प नेपालले त्यसपछिका तीन सेट १६–२५, १७–२५, ९–२५ ले गुमायो । हेल्प नेपालले क्यालिकटलाई ३–२ तथा गण्डकी र एचडिसीलाई समान ३–१ को सेटमा हराएको थियो ।

See More On

सुझावित समाचार