बागलुङ नगरपालिकामा सबैभन्दा दुर्गम मानिएको रायडाँडा बिस्तारै सुगम बन्दै छ। यसका लागि सडक पूर्वाधार विकास र विस्तारको काम भइरहेको छ। ०६० मा सडकको ट्रयाक पुगेको रायडाँडा बागलुङ बजारबाट १९ किलोमिटर टाढा रहेको छ।
हाल यहाँको बस्ती-बस्तीमा सडकको ट्रयाक पुगेको छ भने रायडाँडाको वडा कार्यालयसम्म पक्की सडक पुर्याउन धमाधम स्तरोन्नतिको काम भइरहेको छ। हाल १९ किलाेमिटर सडक पक्की बनाउन दुई चरणमा ठेक्कामार्फत रु. ४० करोड लागतमा सडक स्तरोन्नतिको काम भइरहेको हो।
अदालत-चौपारी-गैँडाकोट-तित्याङ-भकुन्डे हुँदै रायडाँडा बरेङ शान्तिपुर सडकअन्तर्गत हाल रायडाँडासम्म सडक कालोपत्रका लागि स्तरोन्नतिका काम हुँदै छन्।
पहिलो चरणमा ६ महिना अघिदेखि रु. ३० करोड लागतमा भकुन्डेसम्म १५ किलाेमिटर सडक र हाल भकुन्डे खण्डको चार किलाेमिटरमा काम सुरु भएको छ। यस्तै, दोस्रो चरणमा भकुन्डेको शौर्यदेखि बागलुङ नगरपालिका- ११ रायडाँडाको वडा कार्यालयसम्म चार किलाेमिटर सडक स्तरोन्नतिका लागि रु. १० करोड लागतमा ठेक्का सम्झौता भएपछि निर्माण व्यवसायी काममा फर्केको छ।
छिट्टै रायडाँडाका सडक बन्ने बागलुङ नगरपालिका- ११ का वडाध्यक्ष ज्ञानेन्द्र गौतमले बताए। निरन्तरको पहल र बागलुङ नगरपालिकाको समन्वयमा सडक निर्माणले गति लिएको र दुवै खण्डमा सडक स्तरोन्नति भए रायडाँडाजस्तो विकट गाउँमा विकासले गति लिने अपेक्षा गरिएको उनको भनाइ छ।
‘बागलुङ बजारदेखि तित्याङ हुँदै भकुन्डेसम्मको १५ किलाेमिटर डकमा बिडारी निर्माण सेवाले काम गरिरहेको छ भने भकुन्डेदेखि रायडाँडासम्मको चार किलाेमिटर सडकमा एटलान्टिक निर्माण सेवाले हालै सम्झौता गरेर सडक चौडा पार्ने काम सुरु गरेको छ,’ वडाध्यक्ष गौतमले भने, ‘बागलुङ नगरपालिकाको विकट गाउँमा पक्की सडक पुग्नु यहाँका लागि गौरवको विषय हो।’
बहुवर्षीय आयोजनाअन्तर्गत दोस्रो खण्डमा गण्डकी प्रदेशको पूर्वाधार विकास कार्यालयअन्तर्गत काम भइरहेको छ । वैशाखदेखि काम सुरु गरेका निर्माण व्यवसायीले तित्याङ खण्डमा ६ किलाेमिटर सडक चौडा बनाइसकेको छ भने बागलुङ बजारको अदालत चौपारीदेखि सडक चौडा पार्ने, ग्याबिन लगाउने र कल्भर्ट निर्माण गर्ने काम भइरहेको बिडारी निर्माण सेवाका सञ्चालक ध्रुव बिडारीले जानकारी दिए।
०८० चैत १६ गते दुई वर्षमा स्तरोन्नतिसहित कालोपत्र सम्पन्न गर्न सम्झौता भएकामा सडकको पहिलो खण्डमा हाल कामले गति लिएको छ । ट्रयाक खोलेको २० वर्षसम्म स्तरोन्नति हुन नसकेको सडक कालोपत्रका लागि पूर्वाधारको काम हुँदा स्थानीय पनि उत्साहित भएका छन् ।
स्थानीय चन्द्रप्रकाश शर्माले सडक स्तरोन्नतिले पर्यटकीय गाउँ भकुन्डे पुग्ने पर्यटकलाई सहज भई अन्य विकासमा पनि सकारात्मक प्रभाव पर्ने उनले बताए । सडकको पहुँच, विकासका गतिविधि बढ्न थालेपछि यहाँबाट बसाइँसराइ रोकिने शर्माले आशा व्यक्त गरे ।