नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्डको ४५ रन प्रेरित विराटनगर किंग्सले नेपाल प्रिमियर लिगमा पोखरा एभेन्जर्सलाई १४० रनको लक्ष्य दिएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १३९ रन बनायो ।
एनपिएलमा पहिलो खेल खेलिरहेका एडवार्डले ३५ बलमा पाँच चौकासहित सर्वाधिक ४५ रन बनाए । उनलाई पोखराका कप्तान कुशल भुर्तेलले एलबिडब्लू धरापमा पारेका थिए । उनी तीन दिनअघि मात्रै नेपाल आएका हुन् ।
त्यस्तै, बसिर अहमेद २० बलमा एक छक्कासहित २१ रनमा अविजित रहे । दुई खेलाडीबिच चौथो विकेटका लागि ४० रनको साझेदारी भएको थियो ।
यसअघि ओपनर लोकेश बम १६ बलमा समान दुई चौका र छक्कासहित २६ रन बनाउन सफल भए । अर्का ओपनर मार्टिन गुप्टिल पाँच रन बनाएर आउट भए । गुप्टिल पहिलो खेलमा अर्धशतक बनाएपछि लगातार ठुलो स्कोर बनाउन असफल भएका छन् ।
तेस्रो नम्बर क्रिजमा आएका नरेन भट्ट पनि चार रन बनाएर आउट हुँदा विराटनगर ७.१ ओभरमा ३७ रन बनाएर खेलिरहेको थियो । पाँचौँ नम्बर क्रिजमा आएका निकालेस किर्टनले १६ बलमा १९ रन बनाए । क्रिस सोल पनि सात रन र चार रन बनाएका दीपक बोहरा पनि रनआउट भए । एक बल खेलेका प्रतिश जिसी चौका प्रहार गर्दै अविजित रहेका थिए ।
पोखराका सागर ढकाल र रेमन रेइफरले समान दुई तथा कप्तान भुर्तेल, दिनेश खरेलले समान एक विकेट हात पारेका थिए । प्रतियोगितामा दुवै टोलीको प्लेअफ सम्भावना यथावत् छ ।
पोखरा चार खेलबाट दुई अंकसहित सातौँ स्थानमा छ । विराटनगर समान अंकसहित आठौँ स्थानमा छ । लुम्बिनी लायन्स भने एक खेलअघि नै प्लेअफबाट टाढा भइसकेको छ ।