विदेशमा रहेका नागरिकलाई स्वदेश फर्कन सिरियाका नवनियुक्त प्रधानमन्त्रीको आह्वान

बिहिबार, २७ मंसिर, २०८१
डिजिटल संस्करण
विदेशमा रहेका नागरिकलाई स्वदेश फर्कन सिरियाका नवनियुक्त प्रधानमन्त्रीको आह्वान

सिरियाका नवनियुक्त प्रधानमन्त्री मोहम्मद अल-बसिर

बसर अल असद सत्ताच्युत भएपछि सिरियाका प्रधानमन्त्री बनेका मोहम्मद अल बसिरले विदेशमा शरण लिएका लाखौँ सिरियाली नागरिकलाई स्वदेश फर्कन आह्वान गरेका छन् । बसरलाई अपदस्थ गर्न प्रमुख भूमिका खेलेको इस्लामिक समूह ‘हयात तहरिर अल साम (एचटिएस)’ले मोहम्मद अल बसिरलाई संक्रमणकालीन सरकार प्रमुखको जिम्मेवारी दिएको हो । 

अल बसिरले प्रधानमन्त्री चयन भएपछि इटलीको कोरिएरे डेला सेरा दैनिकसँग दिएको अन्तर्वार्तामा विदेशमा रहेका देशवासीलाई स्वदेश फर्किन आह्वान गरेका हुन् । ‘हाम्रो पहिलो लक्ष्य विदेशमा रहेका लाखौँ सिरियाली शरणार्थीलाई फिर्ता ल्याउनु हो । विदेशमा रहेका नागरिकको मानव पुँजी र अनुभवले देशलाई आर्थिक रूपमा फस्टाउन सहयोग गर्नेछ । यसैले विदेशमा रहेका सबै सिरियालीलाई मेरो अपिल छ– सिरिया अब एक स्वतन्त्र देश भइसकेको छ । अब यो देश पुनर्निर्माण हुनेछ, यसका चोला फेर्नु छ । यसमा हामीलाई सबैको सहयोग चाहिन्छ । त्यसैले देश फर्किनुस्,’ प्रधानमन्त्री अल बसिरले भने । 

विपक्षी गठबन्धनले सिरियाको राजधानी दमास्कस कब्जा गरेसँगै बसर परिवारको पाँच दशक लामो क्रूर शासनको अन्त्य भएको छ । सिरियामा करिब १४ वर्ष लामो गृहयुद्धमा परी पाँच लाख मानिसको मृत्यु हुनुका साथै आधा जनसंख्या कुनै न कुनै रूपमा विस्थापित छन् । बसरको पलायनसँगै देशले भावी शासनलाई लिएर अहिले ठुलो अनिश्चितताको सामना गरिरहेको छ । साम्प्रदायिक द्वन्द्वको सम्भावनाबारे चिन्ता प्रकट भएका छन् । 

तर, पछिल्लो सफल सैन्य कारबाहीको नेतृत्व गरेको इस्लामिक समूह ‘हयात तहरिर अल साम (एचटिएस)’ले धार्मिक अल्पसंख्यकलाई नयाँ सिरियामा सुरक्षित हुने विश्वास दिलाउने प्रयास गरेको छ ।

सुझावित समाचार