हिन्दु अल्पसंख्यकमाथिको आक्रमण र भारत–बंगलादेश तनाव

बिहिबार, २७ मंसिर, २०८१
डिजिटल संस्करण

बंगलादेशमा रहेका हिन्दु समुदायमाथि भएको हिंसाविरुद्ध भारतमा व्यापक विरोध प्रदर्शन र बंगलादेशी वाणिज्य दूतावासमा आक्रमण

बंगलादेशका हिन्दु अल्पसंख्यकमाथि आक्रमणको आरोपसँगै भारत र बंगलादेशबिचको सम्बन्धमा तनाव बढेको छ । यसै विषयमा भारतस्थित बंगलादेशी वाणिज्य दूतावासमा समेत विरोध प्रदर्शन तथा आक्रमण भयो । उसो त दुई देशबिचको सम्बन्ध गत अगस्टमा विद्यार्थी आन्दोलनको बलमा प्रधानमन्त्री शेख हसिना बर्खास्त भएदेखि नै चिसो छ । हसिनाले उनको १५ वर्षे शासन अधिनायवादी तरिकाले चलाएको विरोधमा उनीविरुद्ध आमआक्रोश देखिएको थियो । हसिनाको शासन दमनकारी तथा भ्रष्ट हुँदै जाँदासमेत उनको सरकार र दिल्लीबिच घनिष्ठ सम्बन्ध देखिन्थ्यो । विद्यार्थी विद्रोहका कारण अगस्टमा देश छाडेर भागेपछि हसिनाले भारतकै शरण लिन पुगिन् । अहिले पनि उनी भारतीय सीमाभित्र अज्ञात स्थलमा रहँदै आएकी छिन् ।

बंगलादेशमा भएका मानवताविरुद्धको अपराध, सामूहिक हत्या र योजनाबद्ध यातनाको आरोपको हसिनाविरुद्ध मुद्दा चलिरहेको छ । हसिनाको सरकारको पतनलाई धेरै अर्थमा भारतीय कूटनीतिक प्रकोपमाथि धक्काको रूपमा हेरिएको थियो, जसले पहिलेदेखि नै पाकिस्तान र चीनतर्फको सिमानामा खतरा सामना गर्दै आएको छ । हसिनाको सरकार रहँदा बंगलादेश भारतको सबैभन्दा नजिकको क्षेत्रीय सहयोगी थियो र यही सम्बन्धका आधारण दिल्ली सरकारले बंगलादेशसँग धेरै आर्थिक र रणनीतिक रूपमा लाभदायक सम्झौता गरेको थियो ।

हसिनाको सत्ता बहिर्गमनपछि नोबेल पुरस्कार विजेता अर्थशास्त्री मोहम्मद युनुसको नेतृत्वमा बंगलादेशमा कामचलाउ सरकार बनेको छ । तथापि, भारतले उनको सरकारलाई कमजोर पार्ने प्रयास गरेको आरोप लाग्ने गर्छ । हसिनाको सरकारका तुलनामा भारतका मागप्रति कम अनुकूल देखिएको युनुस सरकारले भारत–बंगलादेशबिचको सम्बन्धलाई ‘पुनः स्थापना’ गर्न आह्वान गरेको छ । 

पछिल्लो समय भारत र बंग्लादेशबिचको विवादको मुख्य विषय मुस्लिम बाहुल्य देश बंगलादेशमा हिन्दु अल्पसंख्यकको सुरक्षा बनेको छ । भारत सरकारले राजनीतिक स्वार्थका लागि यो विषय यथार्थभन्दा धेरै बढाइचढाइ गरेको बंगलादेशको आरोप छ । ‘उनीहरूले यी अफवाह विशेष देश र प्रभावशाली शक्तिमाझ फैलाएका छन्,’ युनुसले गत बुधबार बंगलादेशी राजनीतिक दलहरूको एक भेलालाई सम्बोधन गर्ने क्रममा भने, ‘उनीहरूले नयाँ बंगलादेश निर्माण गर्ने हाम्रो प्रयासलाई कमजोर पार्ने उद्देश्यले यस्तो काल्पनिक कथ्य फैलाइरहेका छन् ।’

भारत–बंगलादेशबिचको सम्बन्ध एक हिन्दु भिक्षुको गिरफ्तारीपछि थप तनावपूर्ण बनेको हो । ‘इन्टरनेसनल सोसाइटी अफ कृष्ण कन्साइसनेस(इस्कोन)’बाट भर्खरै निष्काशित भएका गुरु चिनमोए कृष्णदास बंगलादेशको झन्डाको अपमान गरेको आरोपमा पक्राउ परेका छन् । उनीमाथि देशद्रोहको मुद्दा चलिरहेको छ । अदालतले उनलाई जमानत दिन अस्वीकार गरेपछि उनका समर्थकले बंगालदेशमा निकालेको प्रदर्शन हिंसात्मक बन्यो । एकजना मुस्लिम वकिलको हत्यासमेत भयो । हिन्दु समूहको आरोपअनुसार सो घटनापछि अल्पसंख्यक हिन्दु समुदायका बस्तीमै हिंसात्मक अभियान चलाइएको छ । दासको बचाउमा उत्रिएका एक वकिलमाथिसमेत आक्रमण भयो । गत साता दासको सुनुवाइ गर्न कुनै पनि वकिल अघि नआएपछि सुनवाइ स्थगित गर्नुपर्ने अवस्था आयो । 

यो प्रकरणपछि भारतमा विरोध प्रदर्शन सुरु भयो । हजारौँ हिन्दु भिक्षुहरूले बंगलादेशसँग सिमाना जोडिएको भारतीय राज्य पश्चिम बंगालमा विरोध प्रदर्शन गरे । विरोधबिच गत सोमबार भारतको त्रिपुरा राज्यमा रहेको बंगलादेशी महावाणिज्य दूतावासमा प्रदर्शनकारीले आक्रमणसम्म गरे । भारत सरकारले आक्रमणप्रति ‘गहिरो खेद’ व्यक्त गर्दै देशमा रहेका सबै बंगलादेशी कूटनीतिक नियोगमा सुरक्षा बढाएको जानकारी दिएको छ । बंगलादेश सरकारले तिनको देशका लागि भारतीय राजदूतलाई बोलाएर आक्रमणको विरोध जनायो । 

बंगलादेशमा हिन्दु अल्पसंख्यकले विगतमा चरमपन्थी इस्लामवादी तत्वहरूबाट आक्रमण सामना नगरेका होइनन् । हसिनाको शासनकालमा यी शक्तिमाथि धेरै हदसम्म नियन्त्रण कायम गरिएको थियो । युनुसले हसिना सरकारको पतनपछि हिन्दुहरूमाथि आक्रमण भएको स्वीकार गरेका छन् । तथापि, यस्ता आक्रमण धार्मिक रूपमा भन्दा पनि राजनीतिक रूपमा प्रेरित रहेको अल्पसंख्यकलक्षित हिंसा नभएको दाबी उनको छ । हिन्दु समुदायका सदस्यले सामान्यतया हसिनाको अबामी लिग पार्टीलाई समर्थन गरेको देखिन्थ्यो । त्यसैले उनको पतनपछि अबामी लिगका समर्थकविरुद्ध उठेको राजनीतिक हिंसाको लहरमा हिन्दुहरू पनि फसे ।

बंगलादेशको अन्तरिम सरकारले भारतले आफूहरूलाई गलत तरिकाले हिन्दुविरोधीका रूपमा प्रस्तुत गर्न खोजेको आरोप लगाएको छ । यसको उद्देश्य अन्तरिम सरकारलाई अस्थिर बनाउनु रहेको उसको भनाइ छ । दक्षिणपन्थी भारतीय मिडियाले बंगलादेश छाडेर भाग्ने प्रयास गरिरहेका हिन्दुमाथि सीमा क्षेत्रमा ‘रक्तपात भइरहेको’सम्मको निराधार दाबी गर्दै आएका छन् । 

‘स्पष्टतः सन् २००६ का नोबेल शान्ति पुरस्कार विजेता प्रोफेसर मुहम्मद युनुसको नेतृत्वको वर्तमान अन्तरिम सरकारलाई कमजोर बनाउने प्रयास भइरहेको छ,’ अन्तरिम प्रधानमन्त्री युनुसका प्रेस सचिव सफिकुल आलमले भने, ‘केही भारतीय मिडियाले पछिल्लो १६ वर्षमा शेख हसिनाको भ्रष्ट र क्रूर तानाशाहीलाई अन्ध प्रशंसा तथा समर्थन गरिरहेका छन् । उनीहरू विद्यार्थी नेतृत्वमा भएको जनआन्दोलनबाट हसिना सत्ताच्युत भएबाट दु:खी भएजस्ता देखिन्छन् ।’

आलमले उनको सरकारले भारतीय मिडियालाई बंगलादेशको ‘वास्तविक तस्बिर आफँै आएर हेर्न’ आमन्त्रित गरेको तर ‘ती मिडिया यथार्थलाई ग्राउन्डबाटै कभर गर्न इच्छुक’ नभएकाले अझै नआएको आरोप लगाए । ढाकामा रहेका विश्लेषकहरूले पनि हिन्दु समुदायविरुद्धको हिंसाको खबर भारतमा अतिरञ्जित प्रचार भएको बताए । तथापि, अनुभवहीनहरूले भरिएको अन्तरिम सरकारले परिस्थितिलाई सही रूपमा व्यवस्थापन गर्न नसक्दा कानुन र व्यवस्था स्थापना गर्न असफल भएको पनि तिनले स्विकारे ।

द गार्जियनबाट

See More On

सुझावित समाचार