एसियाली विकास बैंक (एडिबी)ले नेपाललाई १५ करोड ७० लाख अमेरिकी डलर (करिब २१ अर्ब २३ करोड रुपैयाँ)को सहुलियतपूर्ण ऋण तथा अनुदान दिने भएको छ । नेपाल र एडिबीबिच नवीनतम यान्त्रिक सिँचाइ आयोजना र जलवायुसम्बन्धी आयोजना (सिएलआरआरपी)का लागि बुधबार सम्झौतामा हस्ताक्षर सम्पन्न भएको हो ।
नवीनतम यान्त्रिक सिँचाइ आयोजना कार्यान्वयनका लागि एक करोड ५० लाख अमेरिकी डलर (करिब दुई अर्ब रुपैयाँ) अनुदान र ११ करोड अमेरिकी डलर (करिब १४ अर्ब ८८ करोड रुपैयाँ) ऋण सम्झौतामा नेपालको तर्फबाट अर्थसचिव डा. रामप्रसाद घिमिरे र एसियाली विकास बैंकको तर्फबाट नेपालका लागि कन्ट्री डाइरेक्टर अर्नाउड कचोइसले हस्ताक्षर गरेका छन् । यस आयोजनाबाट किसानहरूले प्रिपेड कार्ड प्रणालीमार्फत सिँचाइ प्रविधिको प्रयोगबाट आवश्यकताअनुसार सिँचाइका लागि पहुँच प्राप्त गर्न सक्नेछन् । यो आयोजना मधेश प्रदेशका रौतहट र सर्लाही जिल्लामा लागू हुने र यसबाट एक लाख २१ हजारभन्दा बढी किसान लाभान्वित हुनेछन् ।
त्यसैगरी, सिएलआरआरपी कार्यान्वयनका लागि २२ मिलियन अमेरिकी डलर (करिब दुई अर्ब ९७ करोड रुपैयाँ)को अनुदान सम्झौता र एक करोड अमेरिकी डलर (करिब एक अर्ब ३५ करोड रुपैयाँ)को ऋण सम्झौतामा अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्मा र अर्नाउड कचोइस, नेपालका लागि एडिबीका निर्देशक अर्नाउड काचोइसले नेपाल सरकार र एडिबीको तर्फबाट हस्ताक्षर गरेका छन् ।
सिएलआरआरपीले जलवायु परिवर्तनको प्रभावबाट अत्यधिक जोखिममा रहेका कर्णाली र सुदूरपश्चिम प्रदेशका ग्रामीण समुदायहरूको जलवायु लचिलोपन बढाउनमा केन्द्रित छ । यस परियोजनाले पानीको उपलब्धता सुनिश्चित गर्न सम्बोधन गर्ने, प्रकृतिमा आधारित जीविकोपार्जनलाई प्रवद्र्धन गर्ने र जलस्रोतको दिगो व्यवस्थापनमार्फत स्थानीय समुदायहरूलाई सशक्त बनाउनेछ ।
त्यसैगरी, सिआरएलएलपीको आयोजना सम्झौतामा वन तथा वातावरण मन्त्रालयका सहसचिव बद्रीराज ढुंगाना, कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घनारायण कोइराला, सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय र नेपालका लागि एडिबीका निर्देशक अर्नाउड काचोइसले हस्ताक्षर गरे ।