सक्रिय राजनीतिबाट टाढै छन् पहिलो राष्ट्रपति यादव र उपराष्ट्रपति झा

बिहिबार, २७ मंसिर, २०८१
डिजिटल संस्करण

देशको पहिलो राष्ट्रपति रामवरण यादव र उपराष्ट्रपति परमानन्द झा सक्रिय राजनीतिबाट टाढै छन् । यादवले अवकाशयताको दिनचर्या ललितपुरको भैंसेपाटीस्थित सरकारी निवासमा र झाले सप्तरीस्थित आफ्नै निवासमा बिताइरहेका छन् । 

पूर्वराष्ट्रपति यादवका समय–समयका अभिव्यक्ति संविधान र राष्ट्रपतिको भूमिकामा केन्द्रित हुने गरेको देखिन्छ । लामो समय कांग्रेसको राजनीति गरेका यादव अहिले पार्टी गतिविधिमा देखिएका छैनन् । फर्कने योजनामा पनि नरहेको निकटस्थ बताउँछन् । आफूनिकटसँग आफूले ‘रिटायर्ड लाइफ’मै सन्तुष्ट रहेको भन्दै राजनीतिमा फर्कने कुनै रुचि नरहेको बताउने गरेका छन् ।

गृहजिल्ला धनुषाका कांग्रेस जिल्ला सभापति योगेन्द्र पंजियार पूर्वराष्ट्रपति यादवले राजनीतिमा फर्कनेबारे कुनै रुचि नदेखाएको बताँउछन् । ‘समय–समयमा गृहजिल्ला आउनुहुन्छ । उहाँको राजनीतिमा फर्कने योजना देखिँदैन । कुनै रुचि छैन भन्ने गर्नुभएको छ,’ उनले नयाँ पत्रिकासँग भने । 

उनले पहिलो राष्ट्रपतिका रूपमा ८ साउन ०६५ देखि ११ कात्तिक ०७२ सम्म भूमिका निर्वाह गरे । यादवकै कार्यकालमा संविधानसभामार्फत संविधान जारी भएको थियो । ३ असोज ०७२ मा राष्ट्रपतिका रूपमा यादवले नै संविधान प्रमाणीकरण गर्ने सौभाग्य पाए ।

तत्कालीन प्रधानमन्त्री केपी ओलीले दुईपटक संविधान विघटन गरेको विषयमा असंवैधानिक भएको अभिव्यक्ति दिएका थिए । यस क्रममा राष्ट्रपति र प्रधानमन्त्रीको भूमिकालाई लिएर उनले ‘संविधानमाथिको आक्रमण’को रूपमा टिप्पणी गरेका थिए । समय–समयमा प्रेस स्वतन्त्रता तथा संविधान कार्यान्वयनका विषयमा उनका टिप्पणी आउने गरेका छन् । पछिल्लो समय संविधान संशोधनका विषयमा चर्चा भइरहँदा उनले संविधानलाई आवश्यकताअनुसार संशोधन गर्न सकिने अभिव्यक्ति दिएका छन् । 

पहिलो उपराष्ट्रपति झाको कुनै पार्टीसँग सम्पर्क छैन । संविधानसभाको चौथो दल मधेसी जनअधिकार फोरमबाट ४ साउन ०६५ मा झा उपराष्ट्रपति निर्वाचित भएका थिए । कांग्रेस, एमाले र फोरमको साझा उम्मेदवार बनेका झाले ३०५ मत प्राप्त गरी माओवादी उम्मेदवार शान्ता श्रेष्ठलाई २४३ मतसहित पराजित गरेका थिए ।  

जनता समाजवादी पार्टी नेपाल (विगतको फोरम)का प्रवक्ता मनीष सुमनले पूर्वउपराष्ट्रपति झा सम्मानित रूपले स्वतन्त्र जीवन बिताइरहेको बताए । राजनीतिमा आउने आफ्नो कुनै सोच नभएको उनको भनाइ छ । 

‘उहाँ सम्मानित व्यक्ति हो । सम्मानित रूपले नै काम गर्दै हुनुहुन्छ । जसपा नेपालको कुनै जिम्मेवारीमा हुनुहुन्न । जिम्मेवारीमा आउने प्रयास पनि छैन,’ उनले भने, ‘पार्टीको संस्थापक सम्पर्कमा हुनुहुन्न । तर, पार्टीको पुरानो नेताको हिसाबले व्यक्तिगत सम्पर्कमा रहिरहनुहुन्छ । हालखबर सोधपुछ हुन्छ । यद्यपि, उहाँले पार्टीको कुनै जिम्मेवारीमा, क्रियाशील राजनीतिमा फर्कने कुनै सोच बनाउनुभएको छैन । हाम्रा साथीहरू भेट हुँदा उहाँले अब राजनीतिमा फर्किन्न भन्नुहुन्छ ।’ 

अशोक राई नेतृत्वको जसपाका महासचिव इस्तियाक राईले प्रथम राष्ट्रपति झा आफूहरूको सम्पर्कमा नभएको बताए । ‘उहाँसँग हाम्रो कुनै सम्पर्क छैन,’ उनले भने । 

जसपा नेपालका नेताहरूका अनुसार झा गृहजिल्ला सप्तरीमै बसिरहेका छन् । उमेरले ८० वर्ष नाघिसकेका झा काम परेका वेला काठमाडौं आउजाउ गरिरहन्छन् ।

सुझावित समाचार