लगातारजसो ओरालो लागेको नेप्से परिसूचक बुधबार वृद्धि भएको छ। ४५.८८ अंकले बढेर नेप्से दुई हजार ७१५.७१ विन्दुमा कायम भएको छ। ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स २.१४ प्रतिशतले बढेको छ।
अघिल्लो दिनको तुलनामा बुधबार कारोबार रकममा सामान्य वृद्धि भएको छ। आज ३०८ कम्पनीको एक करोड १३ लाख ८६ हजार कित्ता सेयर पाँच अर्ब पाँच करोड ६ लाख ५४ हजार रुपैयाँमा कारोबार भएको छ। मंगलबार चार अर्ब ३६ करोडबराबरको सेयर कारोबार भएको थियो।।
नेप्सेका १३ उपसमूहमध्ये म्युचल फन्ड ०.३४ प्रतिशतले घट्दा बाँकी सबै उपसमूहको सूचक वृद्धि भएको छ। बैंक सर्वाधिक ३.४३ प्रतिशतले बढ्दा विकास बैंक, वित्त, होटेल तथा पर्यटन, जलविद्युत्, जीवन बिमा, निर्जीवन बिमा र व्यापार उपसमूहको सूचक एक प्रतिशतभन्दा धेरैले बढेका छन्।
नेप्सेमा सुधार हुँदा न्यादी हाइड्रोपावर र कुथेली बुखारी स्मल हाइड्रोपावरको सेयर मूल्य नौ प्रतिशतभन्दा धेरैले बढेको छ। नारायणी विकास बैंक र माथिल्लो मैलुङ खोला जलविद्युतका लगानीकर्ताले आठ प्रतिशतभन्दा धेरै आम्दानी गरेका छन्।
तर, खानीखोला जलविद्युतका लगानीकर्ताले सर्वाधिक ९.९९ प्रतिशत गुमाउँदा जोशी हाइड्रोपावर र सामुदायिक लघुवित्तको सेयर मूल्य क्रमशः ८.२२ र ६.३० प्रतिशतले घटेको छ।