रुकुम पूर्वको सिस्ने गाउँपालिका– ६ स्थित पाखागाउँमा गएराति पौने ११ बजे रुकुमकोटतर्फ आउँदै गरेको अटो रिक्सा दुर्घटना भएको छ ।
लु.प०२००१ ह ०३५० नम्बर अटो दुर्घटना हुँदा सिस्ने गाउँपालिका– ६ की १२ वर्षीया विष्णु बुढाको जिल्ला अस्पताल रुकुम पूर्वमा उपचार गर्ने क्रममै मृत्युको भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी हिमबहादुर केसीका अनुसार अटो दुर्घटनामा एकको मृत्यु भएको छ भने चालकसहित चार घाइते भएका छन् । घाइते हुनेमा एकै घरका १४ वर्षीया सुशीला बुढा, ११ वर्षीया सुस्मिता बुढा, ६ वर्षीय महेन्द्र बुढा र सोही गाउँपालिकानिवासी अटोचालक तोपबहादुर कार्की रहेको प्रहरीले जनाएको छ ।
घाइते सबैलाई राति नै उपचारकाा लागि अस्पताल लगिएकाे थियाे । एकजना घाइतेको अवस्था गम्भीर रहेकाले कोहलपुर पठाइएको छ । अन्य तीनजना घाइतेकाे जिल्ला अस्पतालमा उपचार भइरहेकाे छ।
अटो तीव्र गतिमा रहेको र अनियन्त्रित हुँदा दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान छ। घटनास्थलमा प्रहरी टोलीले अनुसन्धान गरिरहेको छ।