वीरगन्जमा पनि रविको इन्कारी बयान : झन्डै चार घण्टा बयान, पूरकसहित ५४ प्रश्न

बुधबार, २६ मंसिर, २०८१
डिजिटल संस्करण

प्रहरी हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेले वीरगन्जमा रहेको सानो पाइला सहकारीको बचत अपचलन कसुरमा इन्कारी बयान दिएका छन् । लामिछानेलाई सोमबार पोखराबाट काठमाडौं–सिमरा हुँदै वीरगन्ज पुर्याइएकामा मंगलबार जिल्ला सरकारी वकिलको कार्यालय पर्सामा झन्डै चार घण्टा बयान लिइएको थियो ।

४० मूल र बाँकी पूरक गरी ५४ प्रश्न सोधिएकामा लामिछानेले बचत अपचलनको कसुरमा इन्कारी बयान दिएका हुन् । रविले यसअघि पोखरा, बुटवल, चितवन र काठमाडौंमा पनि इन्कारी बयान दिएका छन् । लामिछानेको मानव अधिकार हनन भएको भन्दै प्रहरीको आलोचना भइरहेको वेला मंगलवार उनको बयान लिइएको हो । 

उनलाई बयानका लागि बिहान ९ बजे सरकारी वकिलको कार्यालय लगिएकामा बयान प्रमाणीकरण गरी जिल्ला प्रहरी कार्यालय फर्काउँदा साँझ ५ बजेको थियो । सरकारी वकिलको कार्यालयका न्यायाधिवक्ता भोला निरौलाले लामिछानेको बयान सकिएको बताए ।

बयान जारी रहँदा रास्वपाका नेता–कार्यकर्ताले घण्टाघरबाट र्यालीसहित प्रदर्शन गरेका थिए । जिल्ला प्रहरी कार्यालयअगाडि केहीबेर प्रहरी र प्रदर्शनकारीबिच धकेलाधकेल भएको थियो । लामिछानेलाई बुधबार कास्की पठाउने तयारी रहेको पर्साका प्रहरी प्रवक्ता डिएसपी किशोर लम्सालले बताए । 

सुझावित समाचार