१८ ठाउँमा वायु गुणस्तर मापन उपकरण राख्दै काठमाडौं महानगर

मंगलबार, २५ मंसिर, २०८१
डिजिटल संस्करण
१८ ठाउँमा वायु गुणस्तर मापन उपकरण राख्दै काठमाडौं महानगर

कमलादीस्थित काठमाडौं महानगरपालिका कार्यालयमा सोमबार वायु गुणस्तर मापन उपकरण जडान गरिँदै ।

काठमाडौं महानगरपालिकाले विभिन्न १८ ठाउँमा वायु गुणस्तर मापन उपकरण राख्न सुरु गरेको छ । काठमाडौं उपत्यकामा अहिले संघीय सरकारको वातावरण विभागमार्फत जडान भएका वायु गुणस्तर मापन उपकरणबाट प्रदूषणबारे जानकारी प्राप्त हुँदै आएको छ । अब भने महानगर आफैँले पनि उपकरण जडान गर्न थालेको हो ।

१८ स्थानमध्ये सोमबार महानगरको कार्यालय काठमाडौं प्लाजामै पहिलो उपकरण राखिएको छ । ‘पार्टनरसिप फर हेल्दी सिटिज पहल’को सहकार्यमा राखिएको यो उपकरणको उपमेयर सुनिता डंगोलले उद्घाटन गरेकी छिन् । ‘यो काठमाडौंमा वायु प्रदूषण घटाउनतर्फको महत्वपूर्ण यात्राको सुरुवात हो,’ उनले भनिन्, ‘काठमाडौं महानगरले पछिल्ला समय गर्दै आएको ‘कार फ्री स्याटर्डे’, ‘स्रोतमा नै फोहोरको वर्गीकरण’, विद्यालयलक्षित वातावरण र बालबालिका (बाबा) क्लबको सुरुवात, धुलोरहित महानगर स्वर्णिम योजना तथा विभिन्न पछिल्ला गतिविधिले महानगर वायु प्रदूूषण न्यूनीकरणमा सदैव प्रतिबद्ध रहिआएको छ । पुस महिनालाई ‘वायु प्रदूषण सचेतना महिना’को रूपमा मनाउने घोषणा पनि उनले गरिन् । 

उपमेयर डंगोलले वास्तविक समयको डेटा प्रयोग गरी सूचित नीति बनाउन र स्वस्थ वातावरण सुनिश्चित गर्न महानगर प्रतिबद्ध रहेको बताइन् । 

वायु गुणस्तर मापनका लागि महानगरका १८ स्थानमा उपकरण राख्ने वातावरण विभागका प्रमुख सरिता राईले बताइन् । यी उपकरणमार्फत वायुमा रहेको पिएम २.५ को वास्तविक समयको डाटा प्राप्त हुनेछ । पिएम २.५ भनेको वायुमण्डलमा पाइने साना कण हुन्, जसले फोक्सो र रक्तप्रवाहमा गहिरो असर गर्न सक्छन् । यसले श्वासप्रश्वास र हृदयसम्बन्धी रोग उत्पन्न गराउनुका साथै दम, एलर्जी र फोक्सोको क्यान्सरजस्ता समस्या निम्त्याउँछ । विशेषगरी बालबालिका, वृद्धवृद्धा र पहिल्यै रोग भएका व्यक्ति यसबाट बढी प्रभावित हुन्छन् । 

यी उपकरण सौर्य ऊर्जाबाट चल्ने र इनबिल्ट डेटा कनेक्टिभिटीसहित र वास्तविक समयको डेटा महानगरको केन्द्रीय ड्यासबोर्डमा पठाउने उनले बताइन् । ‘पार्टनरसिप फर हेल्दी सिटिज पहल’ परियोजना प्रमुख इन्जिनियर सञ्जीव पाण्डेले मापन उपकरणबाट प्राप्त हुने तथ्यांक वेबपोर्टल र एपमार्फत हेर्न सकिने बताए । ‘काठमाडौंमा वायु गुणस्तर मापन उपकरण सीमित छन् । हामीले १८ ठाउँमा जडान गर्दै छौँ । यसले कुन ठाउँको वायुको गुणस्तरको अवस्था कस्तो छ भनेर थाहा हुनेछ भने वायु प्रदूषण नियन्त्रणका लागि कदम चाल्न मद्दत पुग्नेछ,’ पाण्डेले भने ।

विश्व स्वास्थ्य संगठन नेपालका राष्ट्रिय कार्यक्रम अधिकृत राजाराम श्रेष्ठले वायु प्रदूषणबाट हुने स्वास्थ्य जोखिम साइलेन्ट किलरका रूपमा रहेको भन्दै यसको न्यूनीकरणमा सबै स्थानीय सरकार अग्रसर हुनुपर्ने बताए ।

यी स्थानमा जडान हुँदै छन् उपकरण
महानगरले कमलादीस्थित काठमाडौं महानगरपालिका कार्यालयमा वायु गुणस्तर मापन उपकरण जडान गरिसकेको छ । अब क्षेत्रपाटी निःशुल्क चिकित्सालय, लैनचौरस्थित शान्ति विद्यागृह मावि, कलंकी चोक र बालाजु बाइसधारा उद्यानमा उपकरण जडान गरिने महानगरले जनाएको छ । 

यस्तै, थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, नयाँ बसपार्कस्थित महानगर प्रहरी बलको कार्यालय, ठुलो भर्‍याङ, बौद्ध विकास क्षेत्र, मध्यबानेश्वरस्थित रत्नराज्य मावि, टेकु ट्रान्सफर स्टेसन, महानगरको वडा नम्बर ५, २३, २७ र ३१ को कार्यालय, चाबहिलमा रहेको पशुपति मित्र मावि, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी, सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा पनि उपकरण जडान गरिने जनाइएको छ । सबै क्षेत्रमा एक साताभित्र उपकरण जडान भइसक्ने महानगरले जनाएको छ ।

सरिता राई, प्रमुख, वातावरण विभाग, काठमाडौं महानगरपालिका
यी उपकरणमार्फत वायुमा रहेको पिएम २.५ को वास्तविक समयको डाटा प्राप्त हुनेछ । पिएम २.५ भनेको वायुमण्डलमा पाइने साना कण हुन्, जसले फोक्सो र रक्तप्रवाहमा गहिरो असर गर्न सक्छन् ।

यसले श्वासप्रश्वास र हृदयसम्बन्धी रोग उत्पन्न गराउनुका साथै दम, एलर्जी र फोक्सोको क्यान्सरजस्ता समस्या निम्त्याउँछ । विशेषगरी बालबालिका, वृद्धवृद्धा र पहिल्यै रोग भएका व्यक्ति यसबाट बढी प्रभावित हुन्छन् । 

सुझावित समाचार