झापाको दमक नगरपालिका–९ की विमला हेमरमका बुबा मजदुरी गर्छन् । बुबाको कमाइले उनको चारजनाको परिवार चलेको छ । उनका भाइ कक्षा १० मा पढ्छन् । उनी दमक बहुमुखी क्याम्पसमा कक्षा १२ मा पढ्छिन् । बुबाको कमाइले भाइ र उनलाई पढाउन मुस्किल छ । उनलाई बिचमै पढाइ छाड्नुपर्ने हो कि भन्ने डर थियो । तर, दमक–९ वडा कार्यालयले विपन्न विद्यार्थीलाई पढाउँदैछ भन्ने सुनेपछि उनी खुसी छन् ।
‘हाम्रो समुदायमा धेरैले पढ्दैनन्, तर मलाई पढेरै केही गर्ने रहरछ । पढ्नलाई आर्थिक अवस्थाले साथ दिएको थिएन । तर, क्याम्पसमा सरले वडा कार्यालयले सहयोग गर्छ भनेपछि म निवेदन दिने आएको हुँ,’ दमक–९ वडा कार्यालयमा भेटिएकी हेमरमले भनिन्, ‘वडाले हामीलाई यसरी पढाउनु त राम्रो कुरा हो । वडाले सहयोग गर्दा बिचमै पढाइ छाड्नुपर्दैन ।’
दमक–९ कै कौशिलादेवी कार्की पनि दमक बहुमुखी क्याम्पसमै कक्षा १२ मा अध्ययन गर्छिन् । विपन्न परिवारकी कौशिलालाई पढाइ खर्च जुटाउन धौ–धौ छ । ‘साथीहरूले पनि वडा कार्यालयबाट छात्रवृत्ति लिनुभएको रहेछ । त्यसैले म पनि आएको छु,’ छात्रवृत्तिको निवेदन लिएर वडामा आएकी उनले भनिन्, ‘वडाले सहयोग गर्यो भने त हाम्रो पढ्ने इच्छा पूरा हुन्छ । हामीले सहजै पढ्न पाउँछौँ ।’
हेमरम र कार्की मात्र होइन आजकाल दमक–९ को वडा कार्यालयमा धेरै विपन्न विद्यार्थी आउने गरेका छन् । दमक–९ का वडाध्यक्ष कुवेरप्रसाद भट्टराईका अनुसार चालू आर्थिक वर्षमा २९ जना विपन्न विद्यार्थीले वडाबाट पढ्नका लागि छात्रवृत्ति पाएका छन् । उनीहरूका लागि वडाले तीन लाख ३५ हजार ९५० रुपैयाँ खर्च गरिसकेको छ । ‘मैले निर्वाचित भएर आएदेखि नै यो कार्यक्रम राखेको हुँ । तर, चालू आर्थिक वर्षमा अलिक धेरै विद्यार्थी आएका छन्,’ वडाध्यक्ष भट्टराईले भने । वडा कार्यालयले कक्षा–११ देखि स्नातकोत्तर अध्ययन गर्ने विद्यार्थीसम्मलाई छात्रवृत्ति दिएको उनले बताए ।