नटिंघम फोरेस्टसँग ३–२ ले स्तब्ध म्यानचेस्टर युनाइटेडले चर्को आलोचना खेपिरहेको छ । खेलाडी, मुख्यप्रशिक्षक र व्यवस्थापकले सोसल मिडियामा तीखो आलोचना सामना गरिरहेको बेलायती एजेन्सीले जनाएको छ । नटिंघम अन्तिमपटक युनाइटेडविरुद्ध सन् १९९४ मा विजयी भएको थियो । त्यसयता म्यानचेस्टर नटिंघममाथि होम एन्ड अवे खेलमा अपराजित थियो । युनाइेटडका समर्थकले कम्तीमा नटिंघमसँगको अपराजित यात्रा कायम राख्ने विश्वास राखेका थिए ।
तर, इतिहासकै खराब लयमा हिँडिरहेको म्यानचेस्टरले नटिंघमसँग पनि हारको सामना गर्यो । यो एक दशकभित्रको प्रत्येक सिजनमा कमजोर प्रदर्शन गरिरहेको म्यानचेस्टर १९ अंकका साथ १३औँ स्थानमा छ । यस टोलीले पाँच जित, चार ड्र र ६ हारको नतिजा निकालेको छ । म्यानचेस्टरको विपरीत नटिंघम भने उत्कृष्ट फर्ममा छ । नटिंघम अविस्मरणीय रूपमा पाँचौँ स्थानमा रहँदै अर्को वर्ष युरोपियन च्याम्पियन्स लिगमा दाबेदारी प्रस्तुत गरिरहेको छ । नटिंघमले १५ खेलमा सात जित निकाल्दा समान चार हार र ड्र नतिजा व्यहोरेको छ ।
चौथो स्थानमा रहेको साबिक चारपटकको विजेता म्यानचेस्टर सिटीभन्दा नटिंघम दुई अंकले मात्र पछि छ । यो साता म्यानचेस्टर लगातार खेलमा पराजित रह्यो । यसअघि आर्सनलसँग २–० ले म्यानचेस्टर निराश बनेको थियो । सन् २०१३ मा सर एलेक्स फर्गुसन बाहिरिएपछि म्यानचेस्टरले प्रिमियर लिग जित्न सकेको छैन ।
फर्ममा रहेको नटिंघम
विन्टर ब्रेकअघि नै नटिंघमले आफूलाई च्याम्पियन्स लिगमा छनोट हुने आधार बनाइसकेको छ । युरोपियन च्याम्पियन्स लिगमा शीर्ष चार टोलीले स्थान बनाउनेछन् । नटिंघम शीर्ष चारमा समावेश हुन एक स्थान तल रहेको छ । नटिंघमको सानदार प्रदर्शनमा युवा खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका छन् । प्रमुख प्रशिक्षक नुनो सान्टोले जितको निरन्तरता सिजनको अन्तिमसम्म हुने बताए ।‘सबैभन्दा अचम्म के भने, युवा खेलाडीहरूले प्रत्येक खेलमा सुधारिएको प्रदर्शन गरिरहेका छन्,’ उनले भने, ‘यस प्रदर्शनमा हामी सबै समर्थकले गर्व गरिहेका छौँ ।’ म्यानचेस्टर युनाइटेडले ओल्ड ट्राफोर्डमा पछिल्ला चारमध्ये तीन खेल गुमाएको छ । म्यानचेस्टरले नयाँ फम्र्याटमा प्रिमियर लिग सुरुपछि खराब प्रदर्शन गरेको यो पहिलोपटक हो । सन् १९८६ मा प्रिमियर लिग नयाँ ढाँचाअनुसार चलेको थियो ।
विश्वास छैन प्रशिक्षकलाई
गत महिना म्यानचेस्टरले रुवेन अमोरिमलाई नयाँ प्रशिक्षक बनाएको थियो । नटिंघमसँगको खेलमा नसोचेको नतिजा निकाल्दा उनलाई विश्वास लागेन । हारभन्दा पनि खेलाडीहरूले जितका लागि प्रयास नगरेको उनको भनाइ छ । ‘मलाई कुनै पनि समयमा मलाई तीन अंक पाउने विश्वास लागेन, खेलाडीले त्यसप्रति प्रयास नै गरेनन्,’ खेलाडीको प्रदर्शनमाथि प्रश्न गर्दै अमोरिमले भने, ‘यो नतिजाबाट म दुःखी छु ।’ उनले प्रिमियर लिगमा म्यानेचस्टर युनाइटेड शक्तिशाली क्लब भनिए पनि भित्र कमजोर रहेको प्रस्ट पारेका छन् ।