आठ दिनदेखि आठ डिआइजी जिम्मेवारविहीन, सशस्त्रमा तीन महिनादेखि बढुवा रोकियो
राजनीतिक हस्तक्षेपका कारण सुरक्षा निकायका नियमित सरुवा–बढुवासमेत प्रभावित बनेका छन् । प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा बढुवा भएर फुली लगाएका नेपाल प्रहरीका आठ अधिकारीले आठ दिनसम्म पनि जिम्मेवारी पाएका छैनन् । यसअघि सामान्यतया बढुवासँगै पदस्थापनको निर्णय हुने गर्दथ्यो ।
गत १७ मंसिरमा गृहमन्त्रीस्तरको निर्णयबाट बढुवा भएका डिआइजीहरू ध्रुवराज राउत, भोलाबहादुर रावल, गणेश चन्द, सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विक जिम्मेवारविहीन बनेका हुन् । उनीहरूलाई सोही दिन प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले दर्ज्यानी चिह्न लगाएका थिए ।
तर, पदस्थापन कुरेका उनीहरू एक सातासम्म पनि निर्णय नहुँदा निराश बनेका छन् । डिआइजीको पदस्थापन गृहमन्त्रीस्तरको निर्णयबाट हुने प्रहरी नियमावलीको प्रावधान छ । गृह मन्त्रालय स्रोतका अनुसार उनीहरूको पदस्थापनसँगै केही डिआइजीको सरुवा पनि गर्न लागिएको छ । त्यसमा सत्तारूढ दलबिच सहमति जुटेको छैन । दलीय खिचातानीका कारण प्रहरीको मनोबल गिराउने काम भएको एक उच्च प्रहरी अधिकारी बताउँछन् ।
बढुवामा पनि अवस्था त्यस्तै छ । असारदेखि नै प्रहरीमा एसएसपीका पद रिक्त रहेकोमा अहिलेसम्म बढुवा हुन सकेको छैन । हाल एसएसपीका २० दरबन्दी रिक्त छन् । प्रतिस्पर्धी ३८ जना भएकाले त्यसमा पनि सहमति हुन नसकेको स्रोत बताउँछ । एसएसपी बढुवाको समितिमा गृहसचिव अध्यक्ष हुने प्रावधान छ ।
सशस्त्र प्रहरीमा अवस्था झन् बेहाल छ । सशस्त्रमा डिआइजीका दुई पद रिक्त भएको तीन महिना नाघिसकेको छ । तर, जुनियर रहेका कांग्रेस सभापति शेरबहादुर देउवा निकट एसएसपी दीपेन्द्र कुँवरलाई बढुवा गर्न दबाब आएपछि सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले बढुवा प्रक्रिया नै अघि बढाएका छैनन् । जबकि कुँवरभन्दा सिनियर चारजना एसएसपी छन् । सशस्त्रमा डिआइजीको बढुवा रोकिँदा तल्लो तहसम्मै त्यसको असर परेको छ ।
गृह मन्त्रालयका सहसचिव छवि रिजाल भने सरुवा–बढुवाको गृहकार्य भइरहेको बताउँछन् । ‘गृहमन्त्री र सचिवज्यूको सुरक्षा सम्मेलनलगायतको काममा व्यस्त हुनुभएकाले पनि यसमा केही ढिलाइ भएको हो,’ उनले भने, ‘यसमा मन्त्रालयले गृहकार्य गरिरहेको छ ।’
नेपाल प्रहरीका अकाकाशप्राप्त एआइजी विज्ञानराज शर्मा सरुवा–बढुवामा हुने ढिलाइ गैरव्यावसायिक प्रहरी हाबी हुने भएकाले अन्ततः शान्तिसुरक्षामै त्यसको असर देखिने बताउँछन् । ‘सरुवा–बढुवामा जति ढिलाइ हुन्छ, त्यति नन्प्रोफेसनल र नेतानिकट प्रहरी बलिया हुन्छन्,’ उनले भने, ‘यसले संगठनमा पनि निराशा बढाउँछ, नन्प्रोफेसनल हाबी भएपछि स्वतः शान्तिसुरक्षामा पनि त्यसको असर हुन्छ ।’