५,३६४ मिटर उचाइको शिविरमा दुई–तीन वर्षभित्र बिजुली पुर्याउने गरी अध्ययन सुरु, भौगोलिक रूपमा जटिल भए पनि ग्रिड पुर्याउन सम्भव, विद्युत् लाइन पुगे त्यो हालसम्मकै उच्च स्थान हुने
विश्वकै सर्वाेच्च शिखर सगरमाथाको आधार शिविर (एभरेस्ट बेसक्याम्प)सम्म बिजुली पुग्ने भएको छ । नेपाल विद्युत् प्राधिकरणले समुद्री सतहबाट पाँच हजार तीन सय ६४ मिटर उचाइमा रहेको बेसक्याम्पमा बिजुली पुर्याउने गरी अध्ययन अघि बढाएको छ ।
आगामी दुई–तीन वर्षभित्र सगरमाथा बेसक्याम्पसम्म राष्ट्रिय ग्रिडको विद्युत् पुर्याउने गरी अध्ययन भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । जटिलता रहे पनि त्यहाँ विद्युत् पुर्याउन सम्भव रहेको बताउँदै घिसिङले केही समय भने लाग्न सक्ने बताए ।
‘सगरमाथा बेसक्याम्पमा विद्युत्को पहुँच पुर्याउने लक्ष्य छ, यसका लागि अध्ययनलगायत काम भइरहेको छ । भौगोलिक रूपमा जटिल भए पनि त्यहाँ ग्रिड पुर्याउन सम्भव छ । प्राविधिक रूपमा पनि सम्भव छ,’ घिसिङले भने, ‘सगरमाथा बेसक्याम्प क्षेत्रमा विद्युत् पुर्याउन सकेमा पर्यटनमा पनि सकारात्मक प्रभाव पर्नेछ ।’
तिब्बततर्फबाट सगरमाथा बेसक्याम्प (छोमोलोङ्मा)मा यसअघि नै विद्युत् लाइन र सडक पुगिसकेको छ । तिब्बततर्फ सगरमाथा बेसक्याम्प पाँच हजार दुई सय मिटर उचाइमा अवस्थित छ । नेपालतर्फ सगरमाथा बेसक्याम्पमा विद्युत् लाइन पुगेमा त्यो हालसम्मकै उच्च स्थान हुनेछ ।
सगरमाथा बेसक्याम्पमा कुनै बस्ती छैन । आरोहणको सिजनमा बेसक्याम्पमा दुई–अढाई महिना आरोहीले टेन्ट टाँगेर बस्ने गर्छन् । सडक नपुगेको खुम्बु क्षेत्रमा डिजेल, पेट्रोल, ग्यास, खाद्यान्नलगायत भरिया र खच्चडलाई बोकाएर लैजानुपर्छ ।
हिउँले ढाकिने बेसक्याम्पमा विद्युत् नपुग्दा बसाइ कष्टकर हुने गरेको छ । ‘भौगोलिक अवस्थाका कारण त्यहाँ विद्युत् पुर्याउन चुनौती छ, तर असम्भव भने होइन,’ घिसिङले भने, ‘दुई–तीन वर्षमा त्यहाँ विद्युत् पुर्याउने लक्ष्य लिएका छौँ ।’
सगरमाथा क्षेत्र नेपालको प्रमुख पर्यटकीय गन्तव्य हो । वसन्तकालीन सिजनमा सगरमाथा, ल्होत्से र नुप्से हिमाल आरोहण गर्न जाने आरोहीहरूको टेन्टले बेसक्याम्प रंगीचंगी गाउँजस्तै बनेको हुन्छ । वसन्तकालीन सिजनमा ट्रेकिङ गर्दै बेसक्याम्पसम्म पुग्ने ताँती हुन्छ । बेसक्याम्पमा आरोही र सहयोगीबाहेक अरू टेन्ट टाँगेर रात बिताउन पाउँदैनन् । सगरमाथा आरोहणका लागि महिनौँ टेन्ट टाँगेर बस्ने पर्यटक र सहयोगीलाई लक्षित गरेर बेसक्याम्पसम्म राष्ट्रिय ग्रिडकै विद्युत् पुर्याउने लक्ष्य लिएको कार्यकारी निर्देशक घिसिङले बताए । ‘नाम्चेबाट क्रमशः सबस्टेसन र वितरण लाइन निर्माण गरेर बेसक्याम्पमा राष्ट्रिय ग्रिड पुर्याइनेछ,’ घिसिङले भने । अहिले सोलुखुम्बु जिल्लामा ८९.०४ प्रतिशत विद्युतीकरण भएको छ । जिल्लामा राष्ट्रिय र स्थानीय लघुजलविद्युत् परियोजनाबाट विद्युतीकरण गरिएको छ । सगरमाथा आरोहण गर्न बर्सेनि करिब पाँच सय आरोही जान्छन् । उनीहरूका सहयोगीसहित एक हजारभन्दा धेरै बेसक्याम्प पुग्छन् । सन् २०२३ मा ४७८ जनाले सगरमाथा चढ्ने गरी अनुमति लिएका थिए ।
आधार शिविरमा मट्टीतेल र ग्यासबाट खाना पकाउनुपर्छ । मोबाइल चार्ज गर्न वैकल्पिक (पावर बैंक, ब्याकअप) ऊर्जा प्रयोग गर्नुपर्छ । चिसोबाट बच्न दाउरा वा ग्यास र मट्टीतेलबाट आगो बाल्नुपर्छ । जसले वातावरण पनि प्रदूषण बनाइरहेको छ । डिजेल, ग्यास, मट्टीतेल र दाउरा ढुवानी गर्न पनि धेरै खर्च लाग्ने सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पाले बताए ।
पर्यटन व्यवसायीका अनुसार बेसक्याम्पसम्म एक लिटर मट्टीतेल, डिजेल र पेट्रोल पुर्याउन आठ सय रुपैयाँ खर्च हुन्छ । यस्तै, ग्यास सिलिन्डरको १२ हजारभन्दा धेरै खर्च हुन्छ । जसले पर्यटकको बसाइ महँगो पनि हुने गरेको छ । सोही अवस्थालाई दृष्टिगत गर्दै बेसक्याम्पसम्म विद्युत् पुर्याउने लक्ष्य लिएको घिसिङको भनाइ छ ।
‘विद्युत् पुगेपछि चिसोबाट बच्न एसी वा हिटर बाले हुन्छ, दाउरा वा मट्टीतेल बाल्नुपर्दैन, बिजुलीका लागि जेनेरेटर चलाउन पर्दैन, विद्युतीय चुलोबाटै खाना पकाउन सकिन्छ । विद्युत्बाटै पानी तताउन सकिन्छ । ग्यास सिलिन्डर पनि बोक्नुपर्दैन,’ घिसिङले भने, ‘त्यहाँ भइरहेको वातावरण प्रदूषण पनि कम हुन्छ ।’
सेभेन समिट ट्रेक्सका अध्यक्ष शेर्पाले सगरमाथा बेसक्याम्पमा विद्युत् पुगेमा बहुपक्षीय फाइदा हुने बताए । पर्यटकले पाउने सुविधा बढ्नेदेखि उनीहरूको खर्च पनि न्यूनीकरण हुने उनको भनाइ छ । बिजुली वातावरणमैत्री रहेको हुनाले पनि प्राधिकरणको यो योजना सफल हुनुपर्ने उनको भनाइ छ ।
‘अहिले मट्टीतेल, डिजेल र ग्यासबाट खाना पकाउने र पानी तताउनेलगायतका काम भइरहेका छन् । ढुवानी खर्च उच्च छ । विद्युत् नहुँदा सेवा प्रवाहमै धेरै समस्या छन्,’ उनले भने, ‘अब विद्युत् पुगेमा बिजुलीबाटै खाना पकाउने र तताउने गर्न सकिन्छ । बिजुलीकै हिटर र एसी प्रयोग गर्न सकिन्छ । कपडा धुने मेसिनहरूसमेत प्रयोग गर्न सकिन्छ । विद्युत् पुगेपछि इन्टरनेट पनि पुग्ला, यसले पर्यटकले पाउने सुविधा बढ्छन् र खर्च पनि कम हुन्छ ।’
हिमाली पर्यटन गन्तव्यमा विद्युत् पुर्याउने योजना
प्राधिकरण हिमालय क्षेत्रका थप पर्यटकीय गन्तव्यहरूमा विद्युत् पहुँच विस्तार गर्ने गरी अगाडि बढेको छ । अघिल्लो साता मात्रै मनाङ ङिस्याङ गाउँपालिका– ९, खाङसारस्थित तिलिचो तालको आधार शिविरमा राष्ट्रिय ग्रिडको विद्युत् पुगेको छ ।
आगामी ६ महिनामा अन्नपूर्ण आधार शिविर र मर्दी आधार शिविरलगायत पर्यटकीय क्षेत्रमा विद्युत् पहुँच पुर्याउने घिसिङले बताए । अन्नपूर्ण आधार शिविर चार हजार १३० मिटर र मादी हिमाल आधार शिविर चार हजार पाँच सय मिटर उचाइमा छ । हिमाली क्षेत्रका अधिकांश पर्यकीय क्षेत्रमा विद्युत् पुर्याउने गरी काम भइरहेको घिसिङको भनाइ छ ।
नेपालको हिमाली क्षेत्रमा धेरै पर्यटकीय गन्तव्य छन् । बर्सेनि लाखौँ विदेशी पर्यटक हिमाल चढ्न र घुम्न नेपाल आउने गर्छन् । तर, कतिपय उच्च हिमाली क्षेत्रमा विद्युत्को पहुँच पुगेको छैन । त्यसले गर्दा पर्यटकले विभिन्न सास्ती भोग्दै आएका छन् । कतिपय ठाउँमा डिजेल प्लान्ट र सोलार प्लान्टबाट विद्युत् आपूर्ति गरिए पनि त्यो गुणस्तरीय हुने गरेको छैन । त्यसमाथि त्यसको उत्पादन लागत पनि महँगो छ । यी यस्ता परिस्थितिलाई लक्षित गर्दै हिमालका पर्यटकीय क्षेत्रमा विद्युत् पहुँच विस्तार गर्ने गरी काम भइरहेको प्राधिकणको भनाइ छ ।
प्राधिकरणले यसअघि मुस्ताङको कोरला नाकामा पनि राष्ट्रिय ग्रिडको विद्युत् पहुँच पुर्याएको छ, जसको उचाइ समुद्री सतहदेखि चार हजार ६६० मिटर छ । राष्ट्रिय ग्रिडको विद्युत् पुगेको यो नै हालसम्मको उच्च स्थान हो ।
यसैगरी, समुद्री सतहदेखि चार हजार दुई सय ५० मिटर उचाइमा रहेको मनाङ जिल्लास्थित पर्यटकीय स्थल तिलिचो तालको आधार शिविर (बेसक्याम्प)मा पनि अघिल्लो साता राष्ट्रिय प्रसारण ग्रिडको विद्युत् पुगेको छ । हिमालपारिको जिल्ला मनाङको मनाङङिस्याङ गाउँपालिका– ९, खाङसारस्थित उक्त आधार शिविरमा गत साता राष्ट्रिय ग्रिडको विद्युत् पुर्याइएको हो । समुद्री सतहको आधारमा नेपालमा राष्ट्रिय ग्रिडको विद्युत् पुगेको यो तेस्रो उच्च स्थान हो ।
यस्तै, गत साउनमा रसुवास्थित प्रसिद्ध तीर्थस्थल गोसाइँकुण्डमा पहिलोपटक राष्ट्रिय प्रसारण ग्रिडको विद्युत् पुर्याइएको छ । समुद्री सतहबाट चार हजार तीन सय ८० मिटर उचाइमा रहेको गोसाइँकुण्डमा गत ३२ साउनमा राष्ट्रिय ग्रिडको विद्युत् पहुँच पुगेको छ । यसैगरी, पाथीभरा मन्दिरमा पनि यसअघि नै विद्युत् पुगिसकेको छ । रसुवाको लाङटाङमा पनि विद्युत् पुगिसकेको छ ।