हिरासतमा रविमाथि प्रहरीको ‘ज्यादती’ : मानव अधिकार आयोगले थाल्यो आइजिपीमाथि छानबिन

मंगलबार, २५ मंसिर, २०८१
डिजिटल संस्करण

अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि प्रहरीले अमानवीय व्यवहार गरेको विषयमा राष्ट्रिय मानव अधिकार आयोगले प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरमाथि नै छानबिन थालेको छ । चितवन हिरासतमा सुत्न लागिसकेका लामिछानेलाई अस्वस्थ अवस्थामै अकस्मात् उठाएर पोखरा पुर्‍याएको विषयमा जवाफ दिन आयोगले आइजिपी कुँवरलाई बोलाएको हो ।

आइजिपी कुँवरकै निर्देशनमा मध्यराति लामिछानेलाई चितवनबाट पोखरा लगिएको आयोगको प्रारम्भिक छानबिनमा खुलेको छ । बिहानदेखि राति ११ बजेसम्म बयान लिएर लामिछानेलाई राति १२ बजेतिर जबर्जस्ती गाडीमा राखेर पोखरा लगिएको भनेर रास्वपा तथा लामिछानेपत्नी निकिता पौडेलले आयोगमा उजुरी दिएका छन् । लामिछाने स्वयंले जिल्ला न्यायाधीश र मानव अधिकार आयोगको टोलीसँग आफूमाथि प्रहरीबाट ज्यादती भएको बयान दिएका छन् । लामिछानेले ‘आफूमाथि प्रहरीले दुव्र्यवहार गरेको, अमानवीय शैलीमा चितवनबाट पोखरा लगेको र प्रहरी महानिरीक्षकले समेत अपशब्द प्रयोग गरेर फोनबाट प्रहरी अधिकृतहरूलाई गाली गरेको सुनेको’ विवरण दिएका छन् । यस विषयमा आयोगले केन्द्रबाटै पनि छानबिन थालेको छ ।

‘प्रहरी महानिरीक्षककै निर्देशनमा मध्यराति जबर्जस्ती पोखरा लगिएको भनेर उजुरी परेको छ,’ आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले भने, ‘सो विषयमा आइजिपीसँगै बुझ्नुपर्ने भएकाले उहाँलाई बोलाएका हौँ । आज (सोमबार) उपत्यकाबाहिर भएकाले आउन नसकेको जानकारी आएको छ, अर्काे दिन बोलाएर यस विषयमा जानकारी लिन्छौँ ।’ आयोगले कुनै घटनाविशेषका सम्बन्धमा जानकारी दिन आइजिपीलाई नै बिरलै मात्र बोलाउने गर्छ । यो घटनामा राजनीतिक प्रतिशोधको विषयसमेत उठेपछि आइजिपी स्वयंलाई बोलाइएको आयोगका एक उच्च अधिकारीले बताए ।

लामिछानेको ‘मानव अधिकार हनन’को विषयमा आयोगले सदस्य मनोज दुवाडीको नेतृत्वमा छानबिन थालेको छ । सोमबार घटनाबारे आयोगको केन्द्रीय कार्यालयमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) टेकबहादुर तामाङसहितको प्रहरी उच्चअधिकारीहरूसँग आयोगले थप जानकारी लिएको छ । जानकारी लिने क्रममा आयोगका सदस्य दुवाडीले कानुनी शासनको प्रत्याभूतिसहित स्वच्छ पुर्पक्षको अधिकार र बन्दीका आधारभूत मानव अधिकारलाई सम्मान तथा संरक्षण गर्दै निष्पक्ष र स्वतन्त्र अनुसन्धान हुनुपर्नेमा आयोगको चासो रहेको बताए ।

आयोगले प्रहरी महानिरीक्षक कुँवरलाई पनि बोलाएको थियो । तर, उनी प्रदेशस्तरीय सुरक्षा सम्मेलनमा भाग लिन सुर्खेतमा रहेकाले सोमबार उपस्थित भएनन् । उनीसँग जानकारी लिएपछि मात्र यस विषयमा निर्णय गर्ने आयोगको तयारी छ । आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस सम्बन्धमा निष्कर्षमा पुग्न प्रहरी महानिरीक्षकसँग समेत थप बुझ्नुपर्ने भएकाले आयोगले अनुसन्धानलाई निरन्तर जारी राखेको छ ।’

गत १९ मंसिरको मध्यराति लामिछानेलाई चितवनबाट पोखरा लगिएको थियो । अस्वस्थ रहेको अवस्थाका उनलाई उनका आफन्त र कानुन व्यवसायीलाई समेत झुक्याएर इच्छाविपरीत मध्यराति हिरासत सारिएको घटनाले मानव अधिकारको हनन भएको आरोप लागेको छ । भोलिपल्ट (२० मंसिरमा) विमानमार्फत पोखरा लैजाने भनिएकोमा सुत्न लागेको अवस्थामा उनलाई जबर्जस्ती गाडीमा राखेर पोखरा लगिएपछि प्रहरीको शैलीको सर्वत्र विरोध भइरहेको छ । १९ मंसिरमा चितवनमा लामिछानको पक्षमा प्रदर्शन भएपछि भोलिपल्ट पनि त्यस्तै प्रदर्शन हुन सक्ने डरले राति नै पोखरा लगिएको स्रोत बताउँछ । प्रहरी महानिरीक्षककै ठाडो निर्देशनमा त्यसरी एक्कासि पोखरा लगिएको खुलेपछि यो विषय थप पेचिलो बनेको छ ।

संविधानविद् भीमार्जुन आचार्य अनुसन्धानमा रहेको व्यक्तिलाई रातिराति एक ठाउँबाट अर्को ठाउँ लैजानु संविधान, कानुन र विधिको शासनविपरीत भएको बताउँछन् । ‘रवि लामिछाने मात्र होइन, कुनै पनि नागरिकलाई अनुसन्धानका नाममा राति हिँडाउन मिल्दैन । कानुन, संविधान, लोकतान्त्रिक मूल्य–मान्यता कुनै पनि हिसाबले मिल्दैन । भयावह अवस्था आउने भयो, अपराध हुने भयो भन्ने अपवादको अवस्थामा बाहेक यस्तो गर्न बर्जित छ,’ उनले भने, ‘अनुसन्धानमा रहेको कुनै व्यक्तिलाई रातिराति एक ठाउँबाट अर्को ठाउँ लैजानु संविधान, कानुन र विधिको शासनविपरीत काम हो । यो मानव अधिकार आयोगको विषय हो । उसले के गर्छ हेरौँ न ।’

त्यस्तै, मानव अधिकार आयोगकै पूर्वसदस्य मोहना अन्सारी यो विषयमा आयोगले छानबिन गरेर राज्यलाई जवाफदेही बनाउनुपर्ने सुझाव दिन्छिन् । ‘नेपाल सरकारले अन्तर्राष्ट्रिय रूपमै थुनुवाको सुरक्षा गर्ने र मानव अधिकारभित्र बस्ने ग्यारेन्टी लिएको छ । यस्तो आचारसंहितामा प्रतिबद्ध राज्यले अनुसन्धानमा रहेको व्यक्तिलाई राति त हिँडाउनै हुँदैनथ्यो । सुरक्षाको कारण हो भने जस्टिफाई गर्नुपर्छ । भरतपुर असुरक्षित छ भने त्यहाँ किन लगियो ? प्रहरीसँग त्यो क्यापासिटी छैन भन्ने अनुमान गर्न सकिँदैन । चितवन त्यति असुरक्षित पनि होइन । सुरक्षाको कुरा अनुमानको भरमा चल्दैन । पूर्वगृहमन्त्रीको मर्यादाको पनि ख्याल राख्नुपथ्र्यो,’ उनले भनिन्, ‘एउटा मान्छेलाई नियन्त्रणमा लिइसकेपछि उसको सुरक्षा, खाना, बसाइ, मेडिकल, बिरामी भए समयमै उपचार दिनुपर्छ । यो घटनाले राज्यका निकाय दबाब र प्रभावमा काम गर्छन् भन्ने देखिन्छ । यसमा मानव अधिकार आयोगले छानबिन गर्नुपर्छ । राज्यलाई जवाफदेही बनाउनुपर्छ ।’

पूर्वआइजिपी सर्वेन्द्र खनालले पनि लामिछानेलाई रातिराति हिरासत सारेर प्रहरीले गलत गरेको बताए । ‘रातिराति हिँडाउनु कुनै पनि हिसाबले ठिक होइन । विशेष परिस्थिति पनि होइन, सामान्य अवस्था नै थियो । म भएको भए सबेरै लैजान्थेँ, रातारात लानुपर्ने अवस्था थिएन । त्यसले गलत सन्देश गयो । केस पनि आर्थिक अपराधसम्बन्धी हो, राति नै लगेर भेरिफाई गर्नुपर्ने, तत्कालै छानबिन गर्नुपर्ने केस होइन । रातारात लैजाँदा अस्वाभाविक र अव्यावहारिक भयो । निद्रा पनि बिथोलेर कुदाउनु राम्रो भएन,’ उनले भने । 

रविलाई वीरगन्ज पुर्‍याइयो, रास्वपाको प्रदर्शन
प्रहरी हिरासत पोखरामा रहेका रास्वपा सभापति रवि लामिछानेलाई सोमबार काठमाडौं–सिमरा हुँदै वीरगन्ज पुर्‍याइएको छ । वीरगन्ज महानगरपालिका– १० मा रहेको सानो पाइला बचत तथा ऋण सहकारीको  रकम अपचलनमा पक्राउ पुर्जी जारी भएपछि उनलाई यहाँ ल्याइएको हो । पूर्वडिआइजी छविलाल जोशी बन्जाडे र रामबहादुर खनाललाई यसअघि नै पर्सा ल्याइएको थियो । लामिछानेलाई विमानमार्फत पोखराबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएकामा सोमबार नै विमानबाटै दिउँसो २ः४० बजे सिमरा पुर्‍याइएको थियो । सिमराबाट स्थलमार्ग हुँदै पर्सा प्रहरीको हिरासतमा पुर्‍याइएको छ । लामिछानेलाई सिमराबाट वीरगन्ज लैजान प्रहरीलाई हम्मेहम्मे परेको थियो । सयौँको संख्यामा लामिछानेका समर्थकहरू जम्मा भएर उनी सवार गाडीलाई रोक्न खोजेका थिए । 

समर्थकहरूले सिमरा विमानस्थलमै प्रदर्शन गरेपछि प्रहरीले बल्लतल्ल भिड छिचोलेर लगेको थियो । लामिछानेलाई सिमराबाट वीरगन्ज लैजान पर्साका प्रहरी प्रमुख एसपी कुमोद ढुंगेल आफैँ पुगेका थिए ।  १९ मंसिरमा उनीसहित १४ विरुद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि बयानका लागि ल्याइएको पर्साका प्रहरी प्रमुख एसपी कुमोध ढुंगेलले बताए । एसपी ढुंगेलका अनुसार लामिछाने, जोशी र खनालको मंगलबार जिल्ला सरकारी वकिलको कार्यालयमा बयान लिने तयारी छ । सानो पाइलाका पूर्वअध्यक्ष गीतेन्द्रबाबु (जिबी) राईविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको थियो । उनी फरार छन् ।

शालीन गृहमन्त्रीमाथि गम्भीर प्रश्न- ‘गृहमन्त्रीकै प्रत्यक्ष निर्देशनमा चलिरहेको छ अनुसन्धान’

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार आइजिपी वसन्तबहादुर कुँवरले लामिछाने प्रकरणमा हरेक निर्णय गृहमन्त्री रमेश लेखकको निर्देशन र सल्लाहमा गरिरहेका छन् । लामो समय थुनामा राख्ने, सकेसम्म धेरै मुद्दा चलाउने र उनलाई पाँच जिल्ला लगेर अनुसन्धान गर्ने काम गृह मन्त्रालयकै निर्देशनमा भएको स्रोत बताउँछ । कतिसम्म भने १९ मंसिर मध्यराति लामिछानेलाई चितवनबाट पोखरा लैजाँदासमेत गृहमन्त्रीबाटै प्रहरीले स्वीकृति लिएको थियो । लामिछानेलाई प्रहरीले सहकारी ठगीका साथै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग लगाउने तयारी गरेको छ । सहकारी ठगी मात्र मुद्दा चलाउन प्रमाण नपुग्ने भएपछि गृहमन्त्रीकै निर्देशनअनुसार संगठित अपराध जोडिएको स्रोत बताउँछ । प्रहरीले गरेका अनुसन्धानमा मूल अभियोगमा संगठित अपराध कसुर नलगाई पछि पूरक अभियोगको अनुसन्धानमा संगठित अपराध जोडिएको यो पहिलो घटना भएको प्रहरी अधिकारी बताउँछन् ।

प्रमुख प्रतिपक्षी नेतादेखि सत्तारूढ दलभित्रैबाट विरोध : कांग्रेस बैठकमै नेताहरूले मागे गृहमन्त्रीको जवाफ

रास्वपा सभापति रवि लामिछानेमाथि सरकारले गरिरहेको व्यवहारप्रति विपक्षी दल मात्र होइन, सत्तारूढ दलभित्रैबाट पनि विरोधका स्वर उठ्न थालेका छन् । प्रमुख प्रतिपक्षी माओवादी अध्यक्ष प्रचण्डले रविमाथि सरकारले निरंकुश, अलोकतान्त्रिक र प्रतिशोधपूर्ण व्यवहार प्रदर्शन गरिरहेको भन्दै निन्दा गरेका छन् । ‘अदालतबाट दोषी ठहर नभएको, अत्यधिक जनमतद्वारा निर्वाचित रास्वपा सभापति रवि लामिछानेमाथि सरकारले गरिरहेको निरंकुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहारको निन्दा गर्दछु, त्यस प्रकारको व्यवहार रोक्न गम्भीर आग्रह गर्दछु,’ उनले भनेका छन् । 

त्यस्तै, लामिछानेमाथि भएको मानव अधिकार हनन सत्तारूढ कांग्रेसभित्रै आलोचनाको विषय बनेको छ । सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा नेताहरू कृष्ण सिटौला र अर्जुननरसिंह केसीले प्रहरीबाट लामिछानेमाथि अमानवीय व्यवहार भएको विषयमा गृहमन्त्री रमेश लेखकले जवाफ दिनुपर्ने माग गरेका थिए । ‘हिरासतमा रहेका व्यक्तिलाई मानव अधिकार हनन हुने गरी भएको घटनाले सरकारको चर्को आलोचना भइरहेको छ । यसबारे गृहमन्त्रीले स्पष्ट पार्नुपर्छ । पार्टी र सरकारमाथि नै प्रश्न उठ्ने अवस्था आएको छ, यसमा सम्बन्धित मन्त्रीले स्पष्ट पार्नुपर्छ,’ बैठकमा केसीले भने । तर, बैठकमा गृहमन्त्री उपस्थित नभएकाले यस विषयमा थप छलफल हुन पाएन ।

यसअघि कांग्रेसकै नेता डा. शेखर कोइरालाले लामिछानेलाई मध्यराति उठाएर अड्डासार गर्नु मानव अधिकार हनन भएको भन्दै सरकारको आलोचना गरेका थिए । त्यस्तै, नेसपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गत शुक्रबार लामिछानेलाई हिरासतमै भेटेपछि राज्यले प्रतिशोध साधिरहेको प्रतिक्रिया दिएका थिए । कांग्रेस सांसद सुनील शर्माले पनि लामिछानेलाई अनुसन्धानका नाममा अनावश्यक धरपकड गर्ने, बिरामी हुँदा पनि अस्पताल जान नदिने, उपचार पाउने नागरिक अधिकारमा बन्देज लगाउने र मानसिक तनाव दिने काम भएको भन्दै सरकारको आलोचना गरेका छन् ।

सुझावित समाचार