दुईतिर कहाली लाग्दो भिर। पहाडको चुचुरोमा मन्दिर। मन्दिरको दुवैतर्फबाट प्रवेश गर्ने सिँढीहरू। धादिङ नीलकण्ठ नगरपालिका–६ स्थित चुचुरोमा रहेको याे भैरवी मन्दिर पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ।
यहाँबाट गणेश हिमाल, मनास्लु, मानापाथीलगायत हिमालहरूको दृश्यावलोकन गर्न सकिन्छ। दसैँ, तिहार तथा अन्य पर्व र बिदाका दिनहरूमा घुम्न आउनेहरूको यो मन्दिरमा भिड लाग्ने गर्छ।
‘राम शाहले १६६६ सालमा स्थापना गरेका आठ शक्तिपीठमध्ये भैरवी मन्दिर पनि एक हो। उनले स्थापना गरेको भन्ने विषय लालमोहरमा लेखिएको छ। तर, स्पष्ट बुझिने गरी छैन,’ भैरवी मन्दिर गुठी व्यवस्थापन समितिका सचिव कृष्णबहादुर श्रेष्ठले भने, ‘भैरवी मन्दिरको इतिहास नेपालको एकीकरणसँग पनि जोडिएको छ। पृथ्वीनारायण शाहले नुवाकोट विजय गर्न नसकेपछि भैरवी मन्दिरमा वास बसी भाकल गरेका थिए भनिन्छ।’
श्रेष्ठका अनुसार भाकलपछि नुवाकोट जितेका थिए । पुजारी र बाजा बजाउनेलाई शाहले गुठीको नाममा ९० रोपनी ११ आना २ पैसा जग्गा व्यवस्थापन गरिदिएको भन्ने विश्वास छ। पूजा सञ्चालनका लागि पनि रकम दिने गरेका थिए। अहिले पनि जिल्ला प्रशासन कार्यालयबाट पूजा सञ्चालनका लागि हरेक वर्ष ६ हजार सात सय ३२ रुपैयाँ ५० पैसा आउने गर्छ।’
यो मन्दिरमा पूजासहित वडादसैँ र चैतेदसैँमा विशेष मेला लाग्छ। मन्दिरमा विशेष पूजा, भाकल तथा बली चढाउने परम्परा रहिआएको छ। दसैँको नवमीका दिन सु्ँगुरको बली दिने चलन पनि रहेको श्रेष्ठले बताए। उनका अनुसार मन्दिर आइपुग्न सदरमुकामबाट करिब आठ किमि कालोपत्रे र १० किलोमिटर कच्ची गरी करिब १८ किलोमिटर यात्रापछि भैरवी मन्दिर पुगिन्छ। सवारीसाधनबाट मात्र नभई हाइकिङ गर्नेहरू पनि भैरवी मन्दिर आइपुग्ने गरेका छन्।
पुजारी भगवान राना मगरका अनुसार यस मन्दिरसँग जोडिएको एक किंवदन्ती पनि छ। भगवान भैरवको श्रीमती भैरवीलाई सुत्केरी अवस्थामा मासु खान मन लाग्यो। बाघको रूप धारण गरेर भैरव मासु लिन जंगल गए। सुँगुरको सिकार गरेर फर्किए। सुँगुर भन्ने थाहा पाएपछि भैरवी डराएर त्यहीँ घोप्टो परेर बसिन्। भैरवलाई भित्र पस्न दिइनन्। प्रसव पीडाको अवस्थामा भैरवीलाई छाडेर भैरव पनि टाढा जान नसकेपछि नजिकै बसे। त्यसैले भैरवी र भैरव दुईवटा मन्दिर बनेको पौराणिक भनाइ र किंवदन्ती रहेको छ।
ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थलको रूपमा रहेको भैरवी मन्दिरलाई नीलकण्ठ नगरपालिकाले विशेष प्राथमिकतामा दिएर संरक्षण तथा प्रवर्द्धन गर्दै आएको नीलकण्ठ नगरपालिकाका उपमेयर दीपक विश्वकर्माले बताए। उनले भने, ‘भूकम्पले थलिएको मन्दिर पुनर्निर्माण घुम्न तथा दर्शन गर्न आउनेहरूलाई थप लोभ्याएको छ। चारैतिर देखिने हिमशृंखला उत्तिकै आकर्षक छन्।
नेपालसहित छिमेकी राष्ट्र भारतबाट पनि मन्दिर दर्शन तथा अवलोकनका लागि पर्यटक आउने गरेको नीलकण्ठ नगरपालिका– ६ का वडाध्यक्ष भूपेन्द्रकुमार श्रेष्ठले बताए।
जिल्लाका विभिन्न संघसंस्थाहरूले भैरवी मन्दिरमा गर्ने गरेकाे पदयात्राले मन्दिरको थप प्रचारमा टेवा पुगेको छ। केही दिनअघि मात्रै पनि नीलकण्ठ नगरपालिकाका ३, ४ र ६ वडा, नेपाल हर्ट फाउन्डेसन धादिङ र रोटरी क्लब अफ धादिङको आयोजना तथा विभिन्न स्थानीय संघसस्थाको सहकार्यमा ऐतिहासिक स्थलहरू पौवा घर र भैरवी मन्दिरसम्मको पदयात्रा गरिएको थियो।