अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि प्रहरीले अमानवीय व्यवहार गरेको भनेर परेको उजुरीमा राष्ट्रिय मानव अधिकार आयोगले प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई नै सोधपुछमा बोलाएको छ। प्रहरी महानिरीक्षक कुँवरकै निर्देशनमा लामिछानेलाई मध्यराति चितवनबाट पोखरा लगिएको देखिएपछि आयोगले कुँवरसँगै यस विषयमा जानकारी लिन लागेको हो।
घटनाबारे आयोगको केन्द्रीय कार्यालयमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) टेकबहादुर तामाङसहितको प्रहरी उच्चअधिकारीहरूसँग सोमबार आयोगले थप जानकारी लिएको छ। जानकारी लिने क्रममा आयोगका सदस्य मनोज दुवाडीले कानुनी शासनको प्रत्याभूतिसहित स्वच्छ पुर्पक्षको अधिकार र बन्दीका आधारभूत मानव अधिकारलाई सम्मान तथा संरक्षण गर्दै निष्पक्ष र स्वतन्त्र अनुसन्धान हुुनुपर्नेमा आयोगको चासो रहेको बताए।
आयोगले प्रहरी महानिरीक्षक कुँवरलाई पनि बोलाएको थियो। तर, उनी सुरक्षा सम्मेलनमा सुर्खेतमा रहेकाले सोमबार उपस्थित हुन सकेनन्। आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस सम्बन्धमा निष्कर्षमा पुग्न प्रहरी महानिरीक्षकसँगसमेत थप बुझुनुपर्ने भएकाले आयोगले अनुसन्धानलाई निरन्तर जारी राखेको छ।’
गत १९ मंसिरको मध्यराति लामिछानेलाई चितवनबाट पोखरा लगिएको थियो। अस्वस्थ रहेको अवस्थाका उनलाई उनका आफन्त र कानुन व्यवसायीलाई समेत झुक्याएर इच्छाविपरीत मध्यराति हिरासत सारिएको घटनाप्रति सर्वत्र प्रश्न उठेको छ। भोलिपल्ट (२० मंसिरमा) विमानमार्फत पोखरा लैजाने भनिएकोमा सुत्न लागेको अवस्थामा उनलाई जबर्जस्ती गाडीमा राखेर पोखरा लगिएको भन्दै प्रहरीको व्यवहारमाथि प्रश्न उठिरहेको छ। चितवन प्रहरीले भोलिपल्ट पोखरा पठाउन लागिएकोमा महानिरीक्षक कुँवरले ठाडो निर्देशन लिएर तत्काल लैजान निर्देशन दिएको देखिएपछि उनीसँगै आयोगले जानकारी लिन लागेको हो।
यस विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी र रवि पत्नी निकिता पौडेलले आयोगमा छुट्टाछुट्टै उजुरी दिएका छन्। निकिताले गत शुक्रबार आयोगमै पुगेर उजुरी दिएकी थिइन् भने रास्वपाले शुक्रबारै इमेलमार्फत उजुरी पठाएकोमा आइतबार कार्यालय सचिवलाई ललितपुरको हरिहरभवनस्थित आयोगको कार्यालयमै पठाएर उजुरी दर्ता गराएको छ। घटनाप्रति सर्वत्र प्रश्न उठेपछि आयोगले यस विषयमा विस्तृत अनुसन्धान अघि बढाएको हो।