आइटिएफ वर्ल्ड टेनिस टुर जे-३० अन्तर्गत सर्किट १ का प्रतिस्पर्धाहरू सम्पन्न भएका छन्। सर्किट १ अन्तर्गत शनिबार सम्पन्न फाइनलमा सिंगल्स ब्वाइजतर्फ चीनका हाइनुओ गुओ र गर्ल्सतर्फ भारतकी माहिका खन्नाले उपाधि हात पारे। सर्किट १ का प्रतिस्पर्धा सम्पन्नसँगै शनिबारबाट सर्किट–२ का क्वालिफाइङ राउन्डका खेल सुरु भएका छन्।
कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगिताको सर्किट १ को फाइनलमा चीनका हाइनुओले भारतका आश्रव्य मेहेरालाई ६–३, ६–४ को सेटले पराजित गरेका थिए भने गर्ल्सतर्फ भारतकी माहिकाले नेपालकी सुनिरा थापा टाइव्रेकर ६–२, ७–६ (७–४) को सेटले पराजित गरिन्।
ब्वाइज डबल्सतर्फ भारतका ओजस मेहलावत र अधिराज ठाकुरको जोडीले भारतका आदित्य मोर र प्रकाश सरनको जोडीलाई ६–२, ६–१ को सेटमा पराजित गर्दा गर्ल्सतर्फ भारतका दिशा बोहरा र अर्जान खोरकिवालाको जोडीले भारतका माहिका खन्ना र एन्जल पटेललाई ६–३, २–६ र १०–५ को सेटमा पराजित गरे।
प्रतियोगिताको सर्किट–२ अन्तर्गतका क्वालिफाइङ राउन्डका खेलमा विभिन्न देशका ब्वाइज २७ र गर्ल्स ८ जना सहभागी छन्। मेन ड्रमा नेपालसहित १० देशका २८–२८ जना गरी ५६ जना सहभागी छन्। दुई दिनसम्म चल्ने क्वालिफाइङ खेलबाट ४–४ जना मेन ड्रका लागि छनोट हुनेछन्। मेन ड्रका लागि भने नेपाली चारजना खेलाडीले वाइल्ड कार्डबाट सोझै प्रवेश पाइसकेका छन्। प्रतियोगिता २९ मंसिरसम्म चल्नेछ।