दसाैँ धारा नेपालगन्ज म्याराथनको उपाधि नेपाली सेनाका खडकबहादुर खड्काले जितेका छन्। खड्काले ४२ दशमलव १९५ किलोमिटरको दौड दुई घण्टा १७ मिनेट ४८ सेकेन्डमा पूरा गर्दै उपाधि हात पारेका हुन्।
म्याराथनमा नेपाली सेनाकै राजन रोकाया र सुशील कुमार क्रमशः दोस्रो र तेस्रो भए। उपाधि जितेका खड्का गत संस्करणका उपविजेता र आठौँ संस्करणका विजेता हुन्। रोकायाले दुई घण्टा १७ मिनेट ५३ सेकेन्डमा निर्धारित दूरी पार गरे भने शाहीले दुई घण्टा २१ मिनेट ४५ सेकेन्डमा पूरा गरे।
विजेताले क्रमशः दुई लाख, एक लाख र ५० हजार नगद पुरस्कार पनि प्राप्त गरेका छन्। खड्का र रोकायाले नेपालगन्ज म्याराथनको कोर्सको कीर्तिमान पनि तोडेका छन्।
म्याराथन कोर्स नेपालगन्ज उपमहानगरपालिकाको गेटबाट सुरु भई कोहलपुर नगरपालिकादेखि चार किलोमिटर उत्तर बानियाभार पुगेर सोही रुट भई सुरुवाती विन्दुमा पुगेर समापन हुने निर्धारित गरिएको छ।
यसैगरी, नेपालगन्ज महिला हाफ म्याराथनको उपाधि लगातार चौथोपटक सन्तोषी श्रेष्ठले जितेकी छन् भने पुष्पा भण्डारी दोस्रो र विमला कार्की तेस्रो भएका छन्। उनीहरूले क्रमशः नगद ७५ हजार, ५० हजार र २५ हजार पुरस्कार प्राप्त गरेका छन्। सन्तोषीले एक घण्टा १७ मिनेट ३० सेकेन्डमा कोर्स पूरा गरिन्। दोस्रो भएकी भण्डारीले निर्धारित दूरी एक घण्टा १९ मिनेट १२ सेकेन्डमा पूरा गरिन्। तेस्रो भएकी विमला कार्कीले एक घण्टा ४९ मिनेट १५ सेकेन्ड र चौथो भएकी स्वस्तिका शाहीले निर्धारित दूरी एक घण्टा ५२ मिनेट ३४ सेकेन्डमा पूरा गरेकी थिइन्।
पुरुषतर्फ म्याराथन र महिलातर्फ हाफ म्याराथनसहित पाँच किमि स्कुलस्तरीय छात्र एवं छात्रा, किड्स रन, पाँच किमि कर्पोरेट रन, पाँच किलोमिटर ट्राइसाइकल र पाँच किलोमिटर वाकाथनलगायतका विधा समावेश गरिएको थियो। स्कुल बाह्यतर्फ छात्रमा विकास विक प्रथम, अजय पाण्डे क्षेत्री दोस्रो र रमेश बुढा तेस्रो भए। स्कुल बाँके छात्रतर्फ अर्विन यादव पहिलो, अमृत शाही दोस्रो र विजय खड्का तेस्रो भए।
सरकार र तत्कालीन विद्रोही माओवादीबिच ५ मंसिर २०६३ मा भएको विस्तृत शान्ति सम्झौताको स्मरण गर्दै हरेक वर्ष मंसिरको पहिलो शनिबार हुँदै आएको धारा नेपालगन्ज म्याराथन यस वर्ष २२ मंसिरमा आयोजना गरिएको म्याराथनका संस्थापक अध्यक्ष टिएस ठकुरीले जानकारी दिए।