सुदूरपश्चिम महोत्सव सुरु

शनिबार, २२ मंसिर, २०८१
डिजिटल संस्करण

कैलालीको धनगढीमा सुदूरपश्चिम महोत्सव सुरु भएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले महोत्सवको शनिबार उद्घाटन गरेका हुन्।

आयोजक कैलाली उद्योग वाणिज्य संघले उद्घाटन समारोहमा मन्त्री भण्डारीसमक्ष सुदूरपश्चिमको विकाससँग सम्बन्धित १० बुँदे मागसहित ज्ञापनपत्र बुझाएको छ।

भारतसँग जोडिएको गौरीफन्टा नाकालाई सुविधासम्पन्न नाकाको रूपमा स्तरोन्नति, कृषि विश्वविद्यालय स्थापना, प्रदर्शनीस्थल स्थापना, सुदूरपश्चिममा उद्योग स्थापनाका लागि कर छुट दिनुपर्नेलगायतका माग संघले गरेको छ। ०६३ मा महोत्सव सुरु गर्दा संघले तत्कालीन प्रधानमन्त्रीलाई उद्घाटनमा बोलाएर यहाँको विकासका २१ बुँदे माग पेस गरेकाे थियाे। 

तीमध्ये केही माग पूरा भएका र केही आंशिक पूरा भएको संघका अध्यक्ष पुष्पराज कुँवरले बताए। अध्यक्ष कुँवरले अहिले धराशयी हुँदै गएको व्यवसाय क्षेत्र उकास्ने योजना ल्याउन सरकारलाई आग्रह गरे। उनले यहाँ स्थापना हुने उद्योगलाई राज्यले कर छुट दिनुपर्ने माग गरे। 

‘उद्योग स्थापनाका लागि जग्गाको समस्या छ। राज्यले नाकाको स्तरोन्नति गरिदिनुपर्छ,’ अध्यक्ष कुँवरले भने, ‘अहिले उद्योग, व्यवसाय टिकाउन सकिएको छैन, यसले आर्थिक विकास र रोजगारीमा पनि असर परेको छ। सरकारले निजी क्षेत्र उकास्ने कार्यक्रम ल्याउन ढिलो गर्नु हुन्न।’

महोत्सवमा कृषि उत्पादन, जडिबुटी, हस्तकला, गार्मेन्ट, इलेक्ट्रोनिक, होटेललगायतका पाँच सय ३१ वटा स्टल राखिएका छन्। स्टलहरूबाट करिब १५ करोडबराबरको आर्थिक कारोबार हुने संघको अनुमान छ। व्यवसाय अभिवृद्धिसँगै सुदूरपश्चिमको आर्थिक विकासका लागि लगानीको सम्भावनाहरूको खोजी गर्दै यस क्षेत्रको पर्यटन विकास, कला, संस्कृति, खानपान, भेषभूषाको संरक्षण गर्ने उद्देश्यले संघले हरेक वर्ष महोत्सव सञ्चालन गर्दै आएको छ।

निजी क्षेत्रसँग सहकार्य गर्छौँ : मन्त्री भण्डारी
महोत्सव उद्घाटनमा मन्त्री भण्डारीले लगानी भित्र्याउनका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गरेर जाने बताएका छन्। सरकारले निजी क्षेत्रलाई प्राथमिकता दिएको उनले बताए। मन्त्री भण्डारीले लगानी भित्र्याउनका लागि सरकारले नीतिगत सुधार गर्न लागेको पनि बताए।

सुदूरपश्चिममा प्रशस्त सम्भावना भए पनि राजनीतिक अस्थिरताका कारण विकास हुन नसकेको उनको भनाइ थियो। पश्चिम सेती र अपर कर्णाली जलविद्युत् आयोजना अघि बढिसकेको उल्लेख गर्दै उनले यी आयोजनाको निर्माणले सुदूरपश्चिमको विकासमा टेवा पुग्ने बताए।
 

सुझावित समाचार