पाँच घण्टा काठमाडौं बिताएर फर्किए भुटानी राजा

शनिबार, २२ मंसिर, २०८१
डिजिटल संस्करण

भुटानका राजा जिग्मी खेसर नाम्ग्याल वाङचुक बुधबार तीर्थाटनका क्रममा काठमाडौंमा पाँच घण्टा बसेर स्वदेश फर्केका छन् । औपचारिक भ्रमणका क्रममा बिहीबार भारतको दिल्ली गएका राजा जिग्मी शुक्रबार बिहान काठमाडौं आएर अपराह्न थिम्पु फर्केको परराष्ट्र मन्त्रालयले जनाएको छ । राजा जिग्मी सन् १९८० मा काठमाडौंस्थित प्रसूतिगृहमा जन्मेका थिए । 


परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिआइपी (विशिष्ट) कक्षमा भुटानी राजाको स्वागत र बिदाइ गरेकी थिइन् । परराष्ट्रसचिव अमृतबहादुर राई, भारत हेर्ने परराष्ट्रका सहसचिव भृगु ढुंगानालगायत अधिकारीहरू स्वागतमा विमानस्थल गएका थिए । 

राजा खेसरले स्वयम्भूनाथ र बौद्धनाथमा पूजा गरे । उनलाई नेपाली सेनाको भिआइपी सुरक्षा निर्देशनालयको टोलीले सुरक्षा दिएको थियो । ‘सुरक्षालगायतका सबै प्रोटोकल राष्ट्रप्रमुखस्तरको दिइएको थियो । त्यहीअनुसारको व्यवस्था भयो,’ एक उच्च सुरक्षा अधिकारीले भने । राजाले नेपालको उच्च नेतृत्वसँग भेटवार्ता गरेनन् । 

जानकारहरूका अनुसार भुटानका राजपरिवारले स्वयम्भू महाचैत्यमा रहेको हारती अजिमालाई कुलदेवी मान्दै आएको छ । राजाले शुक्रबार त्यहाँ पूजा गरेका छन् । खोटाङस्थित हलेसीमा गुफाभित्र रहेको गुरु पद्मसम्भवलाई पनि भुटानको राजपरिवारले मान्दै आएको छ । राजा जिग्मीले बौद्धनाथमा पनि पूजा गरे ।

सुझावित समाचार