पाल्पामा सुन्तला महोत्सव हुँदै

बिहिबार, २० मंसिर, २०८१
डिजिटल संस्करण

पाल्पामा सुन्तलाखेती प्रवर्द्धनका लागि रैनादेवी छहरा र रिब्दीकोट गाउँपालिकाको आयोजनामा यही मंसिर २२ र २३ गते सुन्तला महोत्सव हुने भएको छ ।

महोत्सव सञ्चालनका लागि रैनादेवी छहरा र रिब्दीकोट गाउँपालिकाले पाँच लाखका दरले १० लाख रुपैयाँ प्रदान गरेको महोत्सव आयोजक समितिका संयोजक दानबहादुर कुँवरले जानकारी दिए ।

महोत्सवमा सुन्तलाको बजार, प्रविधिबारे बुझ्ने र सीप सिक्ने अवसर प्राप्त हुने उनको भनाइ छ । सुन्तलाका दाना, जुस, जाम तथा अन्य वस्तु महोत्सवमा प्रदर्शन गरिनेछ ।

महोत्सव रैनादेवी छहरा गाउँपालिका– ५ कनौजेपानी खेलमैदानमा हुनेछ । गत वर्ष पनि रिब्दीकोट गाउँपालिकाको आयोजनामा सुन्तला महोत्सव भएको थियो । महोत्सवमा कृषि उपज, कागती, अमिलो, जुनार, मुन्तला पनि समावेश गरिने कुँवरले जानकारी दिए ।

रैनादेवी छहरा र रिब्दीकोट गाउँपालिकाका पाँच सयभन्दा बढी किसानले व्यावसायिक रूपमा सुन्तलाखेती गर्दै आएका छन् । उनीहरूले गत वर्ष ४६ करोडबराबरको सुन्तला बेचेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
 

सुझावित समाचार