अब माओवादीले कसैको बैसाखी टेक्दैन : प्रचण्ड

बिहिबार, २० मंसिर, २०८१
डिजिटल संस्करण

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीले अब कसैको बैसाखी नटेक्ने बताएका छन् । देशमा नयाँ क्रान्तिको आवश्यकता औँल्याउँदै उनले साथ दिन आह्वान गरे । ‘अब माओवादी कसैको बैसाखी टेक्दैन । माओवादी आफ्नै खुट्टामा उभिएर लड्छ । र, माओवादीलाई अपमानित गर्न खोज्ने सबै प्रवृत्तिविरुद्ध हामी लडाइँ लड्छौँ भनेर अगाडि बढेको छु,’ बुधबार आयोजित एक कार्यक्रममा उनले भने ।

प्रतिक्रियावादीका प्रतिगमनकारी हर्कतलाई परास्त गर्न नयाँ आन्दोलनको आवश्यकता भएको उनले बताए । ‘प्रतिक्रियावादीका प्रतिगमनकारी हर्कतलाई परास्त गर्न जनताको बिचमा गएर एउटा नयाँ आन्दोलन सुरु गर्ने आवश्यकता इतिहासमा पैदा भएको छ । हिजो पनि संविधान उल्ट्याउने र प्रतिगमनतिर देशलाई लैजाने कोसिसविरुद्ध संघर्ष गर्यौँ । त्यसलाई परास्त गर्यौँ । अहिले प्रतिगमनतिर जाने र जनयुद्ध र जनआन्दोलनबाट प्राप्त भएका उपलब्धिलाई कमजोर पार्ने वा खोस्ने जो षड्यन्त्र भएको छ । त्यसलाई परास्त गर्न हामी फेरि एकचोटि अगाडि जानु छ,’ उनले भने । प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा आफू अगाडि बढेको उनले बताए ।

प्रचण्ड गणतन्त्र नायक सम्मानबाट सम्मानित भएका छन् । गणतन्त्र सेनानी कोषले बुधबार राजधानीमा आयोजना गरेको कार्यक्रममा प्रचण्डलाई सम्मान गरेको हो । देशबाट सामन्ती राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना गर्न १० वर्षे जनयुद्धको पहल, थालनी र नेतृत्व गर्दै जनआन्दोलन र संविधानसभाको निर्वाचन हुँदै गणतन्त्र घोषणा, गणतान्त्रिक संविधान निर्माण र गणतान्त्रिक सरकारको नेतृत्व गर्दै मुलुकलाई यहाँसम्म ल्याइपुर्याउन कुशल नेतृत्व गरेकोमा गणतन्त्र नायकको सम्मान प्रदान गरिएको कोषले जनाएको छ ।

कोषले यस वर्षदेखि गणतन्त्र स्थापनाका लागि योगदान गर्ने सेनानीलाई गणतन्त्र सेनानी सम्मान प्रदान गर्न सुरु गरेको कोषका अध्यक्ष सरल सहयात्रीले बताए । कोषले जनमुक्ति सेनाका डेपुटी कमान्डरहरू नन्दकिशोर पुन पासाङ, वर्षमान पुन अनन्त, जनार्दन शर्मा प्रभाकर र चक्रपाणि खनाल बलदेवलाई गणतन्त्र सेनानी सम्मान प्रदान गरेको छ । कोषले बागमतीका १३ जिल्लाबाट एक–एकजना संस्कृतिकर्मीलाई पनि सम्मान गरेको छ । बागमतीबाट सुरु गरिएको गणतन्त्र सेनानी सम्मानलाई देशव्यापी बनाउँदै लैजाने सहयात्रीले बताए ।

See More On

सुझावित समाचार