अनौठो परम्परा रहेकाे त्रिपुरासुन्दरी भगवती माईको प्रतिमूर्तिलाई माइतीघर सारिएको छ। एक वर्षभित्र घर, माइती र मावली सारिने भगवती माईलाई बुधबार पूजाआजा र अबिरजात्रा गर्दै बाजागाजासहित भगवतीको घर भनिने सल्यानकोट डाँडाको मन्दिरबाट माइती घरको रूपले चिनिने माइथानबेँसीको मन्दिरमा सारिएको हो।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–४, सल्यानकोटबाट त्रिपुरासुन्दरी भगवतीको प्रतिमूर्तिलाई मंसिर महिनाको विशेष तिथि पारेर त्रिपुरासुन्दरी गाउँपालिका–६ हाँसेबजारस्थित माइथानबेँसी सार्ने परम्परा छ। पुजारी अर्जुन सापकोटा भन्छन्, ‘बाकसभित्र राखिएको भगवतीको प्रतिमूर्तिलाई हेर्न र छुन पाइँदैन। विशेष किसिमको बाकसमा पूजा कपडाले ओढाएर राखिएको हुन्छ। बाटोको दायाँबायाँ बसेर देवीको दर्शन गर्ने र बाहिरबाटै फूल-अक्षता भेटी चढाउने परम्परा छ।’
रानामगर, तिमिल्सिना र सापकोटा थरका पुजारीले त्रिपुरासुन्दरी भगवती माईको मूर्तिलाई पिठिउँमा बोकेका थिए। वर्षमा तीनपटक मूर्तिलाई यसरी नै बोकेर मन्दिर सार्ने गरिन्छ। कपाल मात्र देखिने गरी भगवतीको प्रतिमूर्तिलाई पञ्चेबाजासँगै नांगो खुँडा, खुकुरी बोकेका युवाहरू, त्यसपछि दियो, कलश, शंख, घण्टसहितका नरनारी, प्रहरी र भक्तजनले बनाएको हाते सांग्लोको घेराभित्र राखेर सारिएको थियो।
भगवतीलाई महिला दिदीबहिनीको भोगाइसँग तुलना गरिएको छ। विवाहित नेपाली नारीले धेरैजसो समय आफ्नो कर्मघरमा बिताउनुपर्ने, दसैँतिहारजस्ता चाडपर्वमा मामाघर जाने र हिउँदमा फुर्सद मिल्ने भएकाले केही समय माइतीघर बस्न पाउने चलनसँग भगवतीको विभिन्न मन्दिरको बसाइलाई तुलना गरिएको छ। दसैँको चतुर्थीको दिन पूर्वतर्फ दसैँघरबाट मूल मन्दिर सल्यानकोट सारिएको मूर्तिलाई बुधबार बिहानै न्वागी घर आगिन्चोक हाँसेबजार मन्दिरमा सारिएको हो।
रानामगर थरका पुजारीले मात्र छुन मिल्ने त्यो मूर्ति कस्तो आकारको छ वा त्यस बाकसभित्र के छ ? भनेर सर्वसाधारणले अहिलेसम्म देख्न पाएका छैनन्। ‘प्रत्येक वर्ष मेला हेर्न आउँछौँ, तर छुन हेर्न, पाइने भन्ने हुँदैन। परम्परादेखि नै चलिआएको चलन हो, हामीले यही परम्परा मानेर पूजाआजा गरिरहेका छौँ,’ सापकोटाले भने।
सल्यानकोटमा रहेको दुईवटा मन्दिरमध्ये घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म भगवतीलाई पूर्वपट्टिको मन्दिरमा राखेर पूजाआजा गरिन्छ। जुन मामाघरका रूपमा प्रसिद्ध छ। मंसिरदेखि चैतसम्म भगवतीलाई माइतीघरको रूपले चिनिने बेँसीको मन्दिरमा राखिन्छ। बाँकी आठ महिना सल्यानकोटकै पश्चिम थुम्कामा रहेको मूल मन्दिर राखेर पूजाआजा गर्ने चलन छ।
नेपाल एकीकरणका वेला पृथ्वीनारायण शाहले छिमेकी जिल्ला गोरखाबाट नुवाकोट आक्रमण गर्न जाँदा यही मन्दिर छेउमा वास बसेका थिए। राति सपनामा एक बालिकाले आशीर्वाद दिएको किंबदन्ती रहेको छ।
