धवनको अर्धशतकप्रेरित कर्णाली याक्सले काठमाडौंलाई दियो १५० रनको लक्ष्य

बुधबार, १९ मंसिर, २०८१
डिजिटल संस्करण

भारतीय चर्चित खेलाडी शिखर धवनको अर्धशतक मद्दतमा कर्णाली याक्सले नेपाल प्रिमियर लिगको छैटौँ खेलमा काठमाडौं गुर्खाजलाई १५० रनको लक्ष्य दिएको छ । 

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णाली याक्सले पूरा २० ओभरमा पाँच विकेट गुमाउँदै १४९ रन बनायो । कर्णालीका लागि भारतीय चर्चित खेलाडी शिखर धवनले ५२ बलमा चार चौका र पाँच छक्कासहित सर्वाधिक ७२ रन बनाए । उनले पूरा २० ओभर नै खेलेका थिए ।  

एनपिएलको आफ्नो दोस्रो खेलमा धवनले ४२ बलमा समान तीन चौका र छक्कासहित ५१ रन बनाएका हुन् । १७.५ ओभरमा उनले अर्धशतक बनाउँदा कर्णालीले पाँच विकेट गुमाउँदै १२४ रन बनाएको थियो । पहिलो खेलमा जनकपुरविरुद्ध धवनले १४ रन बनाएका थिए ।

कर्णाली याक्सले पावर प्लेमा सुस्त सुरुवात गर्दै दुई विकेट गुमाएर ३९ बनायो । धवनले मात्रै ६ बल खेलेर चार रन बनाएका थिए ।  धवनसँगै ओपनिङमा आएका देव तीन बल खेलेर डकआउट भए । तेस्रो नम्बर क्रिजमा आएका चाडविक वाल्टनले १५ बलमा पाँच चौकासहित २१ रन बनाएका हुन् । 

बाबर हायत पनि १९ बलमा एक चौकासहित १० रनमा पेभिलियन पर्किएपछि ८.१ ओभरमा कर्णालीले तीन विकेट गुमाउँदा मात्र ४९ रन बनाएको थियो ।  पाँच नम्बरमा क्रिजमा आएका गुल्सन झा पनि १९ बलमा एक चौकासहित १२ रन बनाएर स्टम्पिङ भए । 

१४.३ ओभरमा पाँचौँ विकेटको रूपमा चार रन जोेडेका अर्जुन घर्ती आउट हुँदा कर्णालीले जम्मा ८४ रन जोड्यो । ओमानका जिसन मक्सुदले ११ बलमा १४ रन बनाए । काठमाडौं गुर्खाजका लागि नामिबियाका कप्तानसमेत रहेका गेहार्ड इरास्मसले दुई विकेट लिए ।

कप्तान करण केसी, नाथन सोब्टर, दीपेश कँडेलले समान एक विकेट लिएका थिए । यसअघि कर्णाली जनकपुर बोल्ट्ससँग आठ विकेट र काठमाडौं चितवन राइनोजसँग पाँच विकेटले पराजित भएका थिए । दुवै टोली पहिलो जितको खोजीमा छन् ।

See More On

सुझावित समाचार