व्यापार सहजीकरणका लागि भारतका तीन मन्त्रीलाई उद्योगमन्त्रीको आग्रह

बुधबार, १९ मंसिर, २०८१
डिजिटल संस्करण
व्यापार सहजीकरणका लागि भारतका तीन मन्त्रीलाई उद्योगमन्त्रीको आग्रह

पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री हरदीपसिंह पुरी नेतृत्वको भारतीय पक्षसँग वार्ता गर्दै उद्योगमन्त्री भण्डारीसहितको नेपाली टोली ।

नयाँदिल्लीमा रहेका उद्योगमन्त्री दामोदर भण्डारीले भारतका विदेशमन्त्री एस जयशंकर, वाणिज्यमन्त्री पीयूष गोयल र पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री हरदीपसिंह पुरीसँग भेटेर वाणिज्य सन्धि पुनरावलोकनदेखि पेट्रोलियम परियोजनालाई शीघ्र अगाडि बढाउने विषयमा गरे छलफल 

भारतीय पक्षसँग मन्त्री भण्डारीले उठाएका विषय

  • बैतडीको झुलाघाट सीमामा मोटरेबल पुल
  • २३ पुसभित्र काठमाडौंमा आइजिसी बैठक
  • नेपालको गुणस्तर प्रमाणीकरणलाई मान्यता
  • वाणिज्यमन्त्री पीयूष गोयललाई निम्तो
  • पेट्रोलियम परियोजनाको शीघ्र निर्माण सुरु
  • द्विदेशीय लगानी विस्तार र सहयोग वृद्धि

भारत भ्रमणमा रहेका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले त्यहाँका तीन मन्त्रीसँग भेटेर दुईदेशीय पारस्परिक सहयोग र आर्थिक मुद्दाकेन्द्रित छलफल गरेका छन् ।

मन्त्री भण्डारीले सोमबार साँझ भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेट गरेर बैतडीको झुलाघाटस्थित महाकाली नदीमा निर्माणाधीन मोटरेबल पुलको काम चाँडो सक्ने विषयमा छलफल गरेको जानकारी दिए । सो क्रममा जयशंकरले पुल निर्माणको विषयमा थप अध्ययन गरी चाँडो सक्ने कार्यमा पहल गर्ने बताएका थिए ।

झुलाघाटमा मोटरेबल पुल निर्माण भए सुदूरपश्चिमका सात पहाडी जिल्लालाई व्यापार तथा पर्यटन प्रवर्द्धनमा सघाउ पुग्नेछ । यहाँ करिब पाँच सय मिटर लामो पुल बनाउनुपर्ने र साढे चार अर्ब रुपैयाँ लागत लाग्ने यसअघि नै अध्ययन भइसकेको छ ।

नयाँदिल्लीमा आयोजना गरिएको ‘२९औँ पार्टनरसिप समिट’मा सहभागी हुन गएका मन्त्री भण्डारीले सोमबार साँझ जयशंकरसँग अलग्गै भेट गरेका थिए । सो क्रममा दोधारा–चाँदनी सुक्खा बन्दरगाह निर्माण तथा भारतीय अनुदानमा निर्माण हुने पेट्रोलियम परियोजनाबारे छलफल भएको मन्त्री भण्डारीले जानकारी दिए ।

त्यस्तै, मंगलबार दिउँसो मन्त्री भण्डारीले भारतीय समकक्षीसमेत रहेका वाणिज्य तथा उद्योगमन्त्री पीयूष गोयलसँग भेट गरेका थिए । पूर्वअर्थमन्त्रीसमेत रहेका गोयलसँगको भेटमा लामो समयदेखि रोकिएको नेपाल–भारत अन्तरसरकारी समिति (आइजिसी)को बैठक आगामी २३ पुसभित्र गर्ने सहमति जुटेको छ । ‘विविध कारणले आइजिसी बैठक बस्न ढिलाइ भएको छ । त्यसैले हामीले आउँदो डिसेम्बर अन्तिम वा जनवरी पहिलो साताभित्र आइजिसी बैठक राख्न गरेको प्रस्तावलाई भारतीय पक्षले सकारात्मक रूपमा लिएको छ,’ मन्त्री भण्डारीले भने ।

त्यस्तै, दुईदेशीय वाणिज्य सन्धिलाई पुनरावलोकन गर्न पनि मन्त्री भण्डारीले प्रस्ताव गरेका थिए । गोयलले अन्तरसरकारी समितिबाटै वाणिज्य सन्धि संशोधनको विषय टुंगो लगाउने गरी तयारी गर्ने जवाफ दिएका थिए । नेपालले संशोधनसहित वाणिज्य सन्धि नवीकरण गर्नुपर्ने प्रस्ताव बारम्बार गर्दै आए पनि भारतले अस्वीकार गरेका कारण गत वर्ष संशोधनविनै वाणिज्य सन्धि नवीकरण भएको थियो ।

त्यस्तै, भारतको सस्तो कृषिउपज आयातमा नेपालले भन्सार लगाउन चाहेर पनि भारतले मानेको छैन । अहिले दुवै देशका कृषिउपज विनाभन्सार शुल्क निर्यात गर्न पाउने प्रावधान छ । त्यस्तै, दुवै देशको गुणस्तर मापदण्डलाई एक–अर्कालाई मान्यता दिने समझदारीविपरीत पछिल्लो समय भारतले नेपालको गुणस्तर प्रमाणीकरणलाई स्वीकार गर्न आलटाल गर्दै आएको छ । सो विषय पनि मन्त्री भण्डारीले भेटमा उठाएको जानकारी दिए ।

त्यसैगरी, विश्व व्यापार संगठनको मान्यताअनुसार नेपालको उत्पादनमा २० प्रतिशत मूल्य अभिवृद्धि भएका वस्तुलाई विनाभन्सार निर्यात सुविधा दिन भारतले आनाकानी गरिरहेको छ । आउँदो आइजिसी बैठकमा यी विषय उठाउने नेपालको तयारी छ । आइजिसी बैठक काठमाडौंमा बस्ने समझदारी छ ।

नेपाल पनि चाँडै लगानीसम्बन्धी सम्मेलन गर्ने र सहभागी हुन वाणिज्यमन्त्री गोयललाई आमन्त्रण गरेको मन्त्री भण्डारीले जानकारी दिए । 

मन्त्री भण्डारीले मंगलबार दिउँसो भारतको पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री हरदीपसिंह पुरीसँग भेट गरेका थिए । सो भेटमा भारतीय अनुदानमा बन्ने सिलगुडी–झापा पेट्रोलियम पाइपलाइन र भण्डारणगृह तथा अमलेखन्ज–लोथर पाइपलाइन निर्माणलाई छिटो सुरु गर्नेबारे छलफल भएको छ । त्यस्तै, त्रिभुवन विमानस्थलस्थित हवाई इन्धन डिपो स्थानान्तरणका लागि भारतीय पक्षको प्राविधिक सहयोग लिने विषयमा पनि सहमति जुटेको उनको भनाइ छ । नयाँदिल्लीमा आयोजित समिटका माध्यमबाट भने उद्योगमन्त्री भण्डारीले नेपालमा लगानीका लागि भारतसहितका लगानीकर्तालाई आह्वान गरेका थिए ।

सुझावित समाचार